वीपीका नाति सिद्धार्थलाई उपसभापति बनाउने प्रयास

वीपीका नाति सिद्धार्थलाई उपसभापति बनाउने प्रयास

२८ कात्तिक, काठमाडौं । पोखरामा चलिरहेको नेपाल तरुण दलको महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको नेताहरुले बताएका छन् ।

कांग्रेसको युवा संगठनका रुपमा रहेको तरुण दलको महाधिवेशनमा बन्दसत्र आज पोखरा सभागृहमा हुँदैछ । तर, नेतादेखि महाधिवेशन प्रतिनिधिसम्म नेतृत्वको बहसमा सक्रिय देखिएका छन् ।

महाधिवेशन उद्घाटन गर्न पोखरा पुगेका कांग्रेस पार्टी सभापति शेरहादुर देउवा त्यहीँ छन् र भेटघाटमा व्यस्त छन् । देउवासँगै रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहका पनि धेरै केन्द्रीय नेताहरु अहिले पोखरामै छन् ।

सभापति देउवाले जीतजङ्ग बस्नेतलाई सभापति प्रस्ताव गरेका छन् र उनको नेतत्वमा सहमति खोज्न प्रस्ताव गरेका छन् । र, रामचन्द्र पौडेल समूह पनि सहमतिको पक्षमा देखिएको छ ।

जीतजङ्ग नेपाल विद्यार्थी संघका अध्यक्षका दाबेदार थिए । तर, नयनसिंह महरलाई सभापति बनाउने क्रममा देउवाले उनलाई तरुण दलको नेतृत्व दिलाउने आश्वासन दिएका थिए ।

जीतजङ्गलाई नेतृत्व दिएको अवस्थामा डडेलधुरा सभापति कर्णबहादुर मल्ललाई कुन जिम्मेवारी दिने भन्ने अन्योल छ । उनी देउवा समूहकै हुन् र तरुण दलका अध्यक्षका दाबेदार हुन् ।

वीपीका नाति सिद्धार्थ उपसभापति हुने

sidhartha-koiral1नेपाल विद्यार्थी संघ र महिला संघमा चुनाव लडेको रामचन्द्र पौडेल समूह योपटक भने सहमतिको पक्षमा देखिएको छ ।
नेपाल विद्यार्थी संघ र महिला संघमा शेरबहादुर देउवा र कृष्ण सिटौला समूहको संयुक्त प्यानल बन्दा पौडेल समूह अर्को प्यानल बनाएर चुनाव लडेको थियो । तर, उसले अपेक्षाकृत सफलता हात पारेन ।

यो पटक पौडेल समूहले नै सहमतिको प्रस्ताव अघि सारेको छ । र, यो पटक देउवा र पौडेल समूहको संयुक्त प्यानल बन्दा सिटौला समूहले चुनाव लड्ने पक्षमा देखिएको छ । पौडेल समूहले योपटक वीपीका नाति सिद्धार्थ कोइरालालाई तरुण दलको केन्द्रीय नेता बनाउन चाहेको छ ।

सिद्धार्थलाई उपसभापति प्रस्ताव गरिएको छ । र, कांग्रेस सभापति देउवा यसमा सहमत जस्तै देखिएका छन् । प्रकाशका छोरा सिद्धार्थ कांग्रेसको महाअधिवेशनमा सुनसरीबाट प्रतिनिधि चुनिएका थिए ।

गणेशमान सिंहका नाति प्रवासमान सिंहलाई पनि तरुण दलको केन्द्रीय समितिमा समेट्ने प्रयास भइरहेको छ ।

उसो त पौडेल समूहबाट भुपेन्द्रजंग शाही नेतृत्वका दाबेदार हुन् । तर, सिद्धार्थलाई उपसभापति बनाएको अवस्थामा शाहीको कसरी व्यवस्थापन गर्ने भन्ने प्रष्ट भइनसकेको एक नेताले बताएका छन् ।

 

प्रतिक्रिया