बैङ्क खाता नहुँदा भारतमा कार्यरत नेपाली छटपटीमा

बैङ्क खाता नहुँदा भारतमा कार्यरत नेपाली छटपटीमा

काठमाडौं, ३ मङ्सिर –प्रचलनमा रहेका पाँचसय र हजार दरका भारु नोटमा प्रतिबन्ध लगाउने भारत सरकारको घोषणाका कारण त्यहाँ रहेका हजारौं नेपाली कामदार प्रभावित भएका छन् । भारतका विभिन्न स्थानमा कार्यरत बहुसङ्ख्यक नेपालीको बैङ्क खाता नहुँदा भारतीय सरकारले बैंकमा जम्मा गर्न दिएको सुविधाबाट पनि उनीहरू वञ्चित भएका हुन् ।

नेपाली कांग्रेस निकट नेपाली जन सम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेका अनुसार भारतमा रहेका ५० प्रतिशतभन्दा नेपालीको बैङ्क खाता छैन । नेपालको संसदमा सम्बोधनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा ६० लाख नेपाली बस्ने बताएका कारण त्यही संख्यालाई आधिकारिक मानिएको छ । भारतमा रहेका अधिकांश नेपाली कामदार असंगठित क्षेत्रमा काम गरिरहेका छन् ।

‘भारतमा कार्यरत बहुसङ्ख्यक नेपाली कामदारको बैङ्क खाता छैन, जसका कारण भारत सरकारको पछिल्लो निर्णयले लाखौं नेपाली प्रभावित बनेका छन्,’ पाण्डेले लोकान्तरसँग भने ।  भारतमा रहेका नेपालीको पैसा सटही गर्ने विषयलाई लिएर दिल्लीस्थित नेपाली दूतावास र नेपालस्थित परराष्ट्र मन्त्रालयँंग कुराकानी भइरहेको पाण्डेले जानकारी दिए । उनका अनुसार भारतमा रहेका प्रवासी संगठनहरूले नेपालीको पैसा सटही सहज गरिदिन माग गर्दै भारतीय प्रधानमन्त्री, विदेश मन्त्रालय, अर्थ मन्त्रालय र रिजर्व बैंकमा ज्ञापनपत्र बुझाउने तयारी गरिरहेका छन् ।

बैङ्क खाता खोल्न यस्तो सास्ती

दिल्लीमा चार्टर्ड एकाउण्टेन्ट (सीए) अध्ययनरत बिद्यार्थी दिलीप भुसालका अनुसार भारतमा बैङ्क खाता खोल्नका लागि स्थान पहिचान (एड्रेस भेरिफिकेसन) अनिवार्य हुन्छ । त्यसका लागि भारतीय नागरिकता, मतदाता परिचपपत्र वा नेपालीका लगि बैङ्क खाता खोल्नका लागि दूतावासको सिफारिशपत्र समेत अनिवार्य हुन्छ ।

‘एड्रेस भेरिफिकेसन प्रमाणित गर्न बैङ्क खाता खोल्न चाहने व्यक्तिले निवेदन दिएपछि निवेदकले दिएको ठेगानामा बैंकले हुलाकमार्फत चिठी पठाउँछ’ भुसालले लोकान्तरसँग भने, ‘हुलाकमार्फत बैंकले पठाएको सनाखत लिएर गएपछि मात्र बैंकले खाता खोलिदिन्छ ।’ यो प्रक्रिया पूरा गर्न झण्डै एक महिना लाग्छ ।

सरकारी र ठुला कम्पनीमा कार्यरत नेपालीसँग बैङ्क खाता भए पनि भारतमा सुरक्षा गार्ड, घरेलु मजदुर लगायत असंगठित क्षेत्रमा कार्यरत धेरै नेपालीहरूको बैङ्क खाता छैन । कतिपय ठुला कम्पनीमा काम गरेर अवकाश पाएको व्यक्तिले पनि बैङ्क खाता नहुँदा उपदान (पिएफ) लिन नपाएको समस्या देखिएको पाण्डेले बताए ।

‘भारतका विभिन्न ठाउँमा कार्यरत नेपालीलाई दिल्लीमा आएर दूतावासबाट सिफारिस लैजान व्यावहारिक हुँदैन’ अध्यक्ष पाण्डेले स्पष्ट गरे । ‘दूतावासको पत्र पाएपछिपनि बंक खाता खोल्न झण्झटिलो छ ।’

कृष्णप्रसाददेखि प्रचण्डसम्मको आश्वासन

भारत भ्रमणमा जाने हरेक प्रधानमन्त्रीसमक्ष भारतमा बस्ने नेपालीहरूको एउटा साझा माग छुट्दैन र त्यो हो बैङ्क खाता खोल्ने प्रक्रियाको सहजता । हरेक प्रधानमन्त्रीले मौखिक आश्वासन दिएपनि कार्यान्वयन हुन नसकेको भारतमा कार्यरत नेपालीहरूको गुनासो छ ।  ‘विसं २०४७ सालमा भारत भ्रमणमा गएका प्रधामनन्त्री कृष्णप्रसाद भट्टराईदेखि दुई महिनाअगाडि दिल्ली पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसम्मलाई हामीले त्यही माग राख्नु परेको छ । आश्वासन सबैले दिए काम कसैले गरेनन्,’ पाण्डेले भने ।

बैङ्क खाता नहँुदा भारतमा कार्यरत नेपालीहरूको पैसाको सुरक्षा नभएको र असंगठित माध्यमबाट पैसा पठाउन बाध्य रहेको भारतमा रहेका नेपालीहरू बताउँछन् ।

प्रतिक्रिया