पाठ्यपुस्तकको एप : छ ? भन्दा छ मात्र

पाठ्यपुस्तकको एप : छ ? भन्दा छ मात्र

काठमाडौं – तनहुँ खैरेनी माविका अंग्रेजी शिक्षक राजेश्वर घिमिरेको तीन महिना अघिको खुसीको रफ्तार उही गतीमा घट्दो छ । पाठ्यक्रम विकास केन्द्र (सिडीसी) ले भदौको पहिलो साता ‘सिडीसी नेपाल नामक एप’ सार्वजनिक गर्दा हो उनको खुसीको रफ्तार बढेको र अहिले अपडेट नभएको उक्त एपको हालत देख्दा हो खुसीको गती कमजोर भएको ।

शैक्षिक सामग्री तथा पाठ्यपुस्तकको अभावलाई कम गर्ने उद्धेश्य सहित सबै सामग्रीलाई डिजिटल रुपमा एपमा राख्ने काम शुरु भएको थियो ।  एप आएपछि निक्कै खुसी लागेको तर आफूले खोजेको पाठ्यपुस्तक र पाठ्यक्रम एपमा नपाउँदा दुःख लागेको अनुभव छ उनी सँग ।

‘आफूले खोजेको खोज्यै छु, कहिल्यै नयाँ कुरा अपलोड गर्दैन, यो त छ, भन्दा छ मात्र भइहाल्यो नि’ उनले गुनासो गर्दै भने ‘सन्दर्भ सामग्री जहाँ पायो त्यहाँ पाइँदैन, एप आएपछि त्यसमा आउला भनेको सिडीसीले अपलोडै गरेको छैन ।’

शैक्षिक सामग्री र पाठ्यपुस्तकको अभाव खेपेर हैरान भएका देशभरका शिक्षकहरुको प्रतिनिधि हुन् घिमिरे सर ।

एप प्रयोग गरी आफूलाई चाहेको शैक्षिक सामग्री प्राप्त गर्न सकिने, तथा हरेक वर्ष हुने पाठ्यपुस्तक अभावको समस्या समाधान गर्ने भन्दै प्रचार गरिएको उक्त एप नाम मात्रैको भएको प्रयोगकर्ताहरुको निष्कर्ष छ ।

एप निर्माण गर्नु अघि कर्मचारी बिच पर्याप्त छलफल नहुँदा समस्या भएको केन्द्रका एक कर्मचारीले बताए ।

केन्द्रको बार्षिक उत्सवको दिन पारेर गत भदौ ५ गते उक्त एप सार्वजनिक गरिएको थियो । नयाँ सरकार बने पनि शिक्षा मन्त्रीको टुङ्गो नलाग्दै विना विभागीय मन्त्रीकै हैसियतमा मन्त्री भएको सातौं दिनमा धनिराम पौडेलको हातबाट उक्त एप सार्वजनिक गर्न तत्कालिन प्रमुख बाबुराम पौडेल सफल भएका थिए ।

नयाँ शिक्षा मन्त्रीलाई आउँदा आउँदै नयाँ काम गरेको देखाउन उनकै हातबाट उद्घाटन गराउने भन्दै हतार हतार एप बनाउन लगाएको स्मरण गर्दै ती कर्मचारी भन्छन्, आखिर कामै प्रभावकारी भएन, मैले सोचेको कुरा निर्णय भएन उसले सोचेको मात्रै भयो भन्ने कर्मचारी कर्मचारी विचको लडाँईले यस्तो भएको हो ।

एकाथरीले एपलाई विशुद्ध टेक्सबुक केन्द्रीत बनाउन खोजेका तर समग्र विषयलाई छुने गरी बनाउने निर्णय भएपछि कर्मचारीमा दुई खेमा भएको जसले गर्दा सुरुवातमा जति सामग्री राखिएका थिए, त्यसमा अरु कुनै अपडेट नभएको उनको दावी छ ।

उक्त एप निर्माणका लािग केन्द्रले तीन लाख रुपैंया खर्च गरेको थियो । निर्माण गरेपनि अपडेट गर्न आवश्यक श्रोत नहुँदा समस्या भएको केन्द्रको सम्पादन शाखाका कला अधिकृत श्रीहरि श्रेष्ठको तर्क छ ।

‘एपलाई अझ व्यवस्थित बनाउन ३० देखि ३५ लाख रुपैँया लाग्ने देखियो, त्यसका लागि मन्त्रालयमा जानकारी गराइसकेका छौं, कुनै प्रतिक्रिया भने आएको छैन’ उनले भने ।

तर श्रेष्ठको उक्त तर्क पन्छिने वहाना मात्रै भएको अर्का एक कर्मचारी बताउँछन् । श्रेष्ठ मन्त्री निकट दलको कर्मचारी संगठनका अध्यक्ष भएकोले पनि उनको कुरामा कसैले विरोध गर्ने हिम्मत नगरेको उनले दावी गरे ।

पहिला नयाँ मन्त्रीलाई देखाउन हतार हतार काम हुँदा पनि हाकिमको अघि बोल्न नसकेका कर्मचारी अहिले मन्त्री निकट भनिएका श्रेष्ठको अघिल्तिर पनि बोल्ने हिम्मत गर्दैनन् ।

‘श्रोत अभाव भन्ने कुरा त देखाउने कुरा मात्रै हो’ ती कर्मचारीले प्रश्न गर्दै भने ‘केन्द्रमा रहेको सम्पादन शाखाका कर्मचारीको काम आईटीमा काम गर्ने नै हो । त्यहाँका जनशक्ति यथावत छन्, तीनै कर्मचारीले अपडेट गरे हुन्न ?’

टार्जन राई उपनिर्देशक रहेको शाखामा एपमा राख्ने सबै सामग्रीको सफ्ट कपी सुरक्षित रहेको ती कर्मचारीले बताए ।

‘त्यहीं भएको सामग्री राख्न पनि थप श्रोत कुर्नु भनेको लाजमर्दो हैन र ?’ ती कर्मचारी दिक्क मान्दै भन्छन्, ‘आआफ्नो प्रभाव देखाउन कर्मचारी तल्लिन छन् काम कसले गर्ने ?’

हाल उक्त एपमा कक्षा १ देखि १० सम्ममा पाठ्यपुस्तकलाई राखिएको भए पनि कक्षा ६ देखि ९ सम्मका पाठ्यपुस्तक मात्र उपलब्ध हुने गरेका छन् । एपमा पाठ्यक्रम र पाठ्यपुस्तकको साथमा केन्द्रका सूचना, पाठ्यक्रम गतिविधि विभिन्न समाचार र सूचना समावेश गरिएको छ ।

उक्त एपमा ८ वटा क्याटागोरी रहेका छन् । उक्त क्याटागोरीहरुमा क्रमशः न्यूज (समाचार), करिकुलम (पाठ्यक्रम), टेक्टबुक्स् (पाठ्यपुस्तक), चाइल्ड मटेरियल्स (बाल सामग्री), सप्लिमेन्टरी मटेरियल्स (सन्दर्भ सामग्री), पब्लिकेशन्स (प्रकाशन), अडियो–भिडियो (श्रव्यदृष्य) र इन्फरमेशन (जानकारी) रहेका छन् ।

टेक्टबुक क्याटागोरीको जनरल स्ट्रिम अन्तर्गत कक्षा १ देखि कक्षा १० सम्मका कितावहरु देखाउँछ तर त्यहाँ कक्षा ६ देखि कक्षा ९ सम्मका केही पाठ्यपुस्तकहरु मात्र राखिएका छन् ।

त्यसरी राखिएका पाठ्यपुस्तकहरु मध्ये कक्षा ६ को अंग्रेजी, नैतिक शिक्षा, नेपाली  विज्ञान, कक्षा ७ को गणित, नेपाली, स्वास्थ्य शारिरिक, नैतिक शिक्षा, पेशा, विज्ञान र सामाजिक शिक्षा र कक्षा ८ को अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य शारिरिक, नैतिक शिक्षा, विज्ञान र सामाजिक शिक्षाका पाठ्यपुस्तकहरु छन् ।

सोही क्याटागोरीमा कक्षा ९ को अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य शारिरिक, विज्ञान विषय अपलोड गरिएका छन् । कक्षा १ देखि ५ र कक्षा १० को कुनै पनि विषयका पाठ्यपुस्तक अपलोड गरिएका छैनन् ।
त्यस्तै करिकुलम अन्तर्गत जनरल स्ट्रिम अन्तर्गत कक्षा १–१२ र प्राविधिक तथा व्यासायिक स्ट्रिमका (९– १२ ) पाठ्यक्रम राखिएको भए पनि परम्परागत र संस्कृत, मातृभाषा र विविधका पाठ्यक्रम क्लिक गरेको खण्डमा ‘अण्डरकन्ष्ट्रक्सन’ भनेर देखाउने गरेको छ ।

पब्लिकेशन क्याटागोरीमा बुलेटिनबाहेक अन्य सबै सेक्सनहरु अण्डरकन्ष्ट्रक्सनकै अवस्थामा रहेका छन् । शिक्षक तथा विद्यार्थीलाई सन्दर्भ सामग्री उपलब्ध गराउन एपको व्यवस्था भएको सब्लिमेण्टरी मटेरियल्समा केही पनि सामग्री राखिएका छैनन् ।

क्याटागोरी अन्र्तगतको चाइल्ड मटेरियल्स, अडियो–भिडियो पनि अण्डरकन्ष्ट्रक्सन नै देखाउँछ ।

कक्षा २ ती सम्मका पाठ्यपुस्तकहरु रंगीन भएर आउने भएकाले पुरानो पाठ्यक्रम नराखेको केन्द्रको भनाई छ । कक्षा १० को सन्दर्भमा पनि पाठ्यपुस्तक छापिने क्रम छ, त्यसको प्रिण्टेड कपी निस्के पछि मात्रै राख्ने तयारी भएको श्रेष्ठले बताए ।

एडु खवरवाट लिएकाेहाे ।

प्रतिक्रिया