उपसभापतिको दाबी छाडेर देउवासँग खुमबहादुरका नयाँ सर्त

उपसभापतिको दाबी छाडेर देउवासँग खुमबहादुरका नयाँ सर्त

४ मंसिर, काठमाडौं कांग्रेस नेता खुमबहादुर खड्का उपसभापतिको दौडबाट पछाडि हटेका छन् । स्रोतका अनुसार १९ कात्तिकमा खड्काले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेरै आफू पछाडि हटेको जानकारी गराएका हुन् ।

सभापति देउवासँग खड्काको नयाँ माग सभापति देउवाले आफूलाई कुनै हालतमा उपसभापति नबनाउने बुझेपछि नेता खड्का पछाडि हटेका हुन् । तर, उनले देउवासँग नयाँ सर्त पनि राखेका छन् ।

केन्द्रीय समितिमा मनोनीत गर्न बाँकी १० सदस्यमध्ये पाँचजना र चुनावमा टिकट बाँड्ने संसदीय बोर्डमा दुई सदस्य आफ्नो पक्षलाई दिनुपर्ने सर्त उनले राखेका छन् । तर, देउवाले महासमिति बैठक डाकेर केही केन्द्रीय सदस्यको प्रस्ताव ल्याएपछि मात्र सदस्य दिन सकिने बताएका आजको नयाँ पत्रिकामा समाचार छ ।

१३औँ महाधिवेशनमा देउवालाई जिताउन महत्वपूर्ण भूमिका खेलेको भन्दै खड्काले उपसभापतिमा दाबी गर्दै आएका थिए । केन्द्रीय समितिमा उनीपक्षीय पाँच नेताले जितेका छन् ।

आफू पछि हटेपछि नेता खड्काले उपसभापतिमा गोपालमान श्रेष्ठलाई समर्थनको वचन दिएका छन् । २६ कात्तिकमा श्रेष्ठलाई फोन गरेरै खड्काले ‘उपसभापतिको दाबी छोडेँ, तपाईं सिनियर पनि हो । अब तपाईं नै उपसभापति बन्नुस् । मेरो शुभकामना छ ।’ भनेको स्रोत बताउँछ ।

खड्काबाट पनि समर्थन पाएपछि श्रेष्ठले आफू वरिष्ठ पनि भएको, उपसभापति चलाइसकेको भन्दै उपसभापति मनोनीत गर्न सभापति देउवालाई आग्रह गरेका छन् ।

तर, देउवाको उपसभापतिको पहिलो रोजाइ नेता विमलेन्द्र निधि हुन् । निधि सरकारमा उपप्रधानमन्त्री एवं गृहमन्त्रीको जिम्मेवारी रहेको भन्दै उनलाई महामन्त्री मनोनीत गर्न श्रेष्ठले सुझाब दिएका छन् ।

उनको सुझाबमा देउवाले सकारात्मक जवाफ दिएको स्रोत बताउँछ । देउवाले महामन्त्रीका लागि रुचाए पनि विश्वासपात्र ज्ञानेन्द्रबहादुर कार्कीलाई पार्टी प्रवक्ता बनाउने विकल्प छ ।

 

प्रतिक्रिया