जाँच दिने २३, पास हुने २६ !

          |   प्रकाशित मितिः आइतवार, मंसिर ५, २०७३     ::: 261 पटक पढिएको   |  

भैरव रिसाल (वि.सं. १९८५ ) पत्रकाररिता क्षेत्रमा परिचित नाम हो । खास गरी ग्रामिण क्षेत्र र त्यहाँका नागरिकका आवाज पत्रकारिताको मुल धारमा समेटिनु पर्छ भन्ने मान्यतामा उनी अडिग छन् । पत्रकारितामा योगदान दिएवापत राष्ट्रिय पत्रकारिता पुरस्कार, हृदयचन्द्र सिंह पत्रकारिता पुरस्कार, प्रजातन्त्र स्वतन्त्रता सेनानी पत्रकारिता सम्मान, जगदम्बाश्री पुरस्कारलगायतका अनेकौं पुरस्कारबाट सम्मानित भएका छन् उनी । उनको आत्मकथा ‘साधुलाई सूली’ (डायरी, वि.सं. २०५३) र पत्नी सुशीलासँग मिलेर ‘सुशीला भैरव’ (संयुक्त आत्मकथा, वि.सं. २०६६) प्रकाशित छन् । यो साताको शनिवार विशेषमा रिसालको नजरबाट उतिखेर र अहिलेको समाज र शिक्षाको चिरफार  :

मेरो औपचारिक शिक्षा ललितपुर जिल्लाको लुभु भाषा पाठशालाबाट भयो । त्यो पाठशालामा संस्कृत पढेका व्यक्तिहरु शिक्षक हुन्थ्ये । मेरो गुरु तोयनाथ न्यौपाने हुनुहुन्थ्यो । उहाँले भाषा पनि, संस्कृत पनि पढाउनुहुन्थ्यो । आठकक्षासम्म मेरो पढाइ त्यहीँ भयो ।

त्यो बेला राणा शासनको समय एक जना गुरुको भरमा आठकक्षा चलाउनुपरेको थियो । समस्या भएपछि उपाय पनि हुँदो रहेछ । उहाँले त्यो बेला उपाय झिकेर आठकक्षाकोले पाँचकक्षाकोलाई, सात कक्षाकोले तीन कक्षाकोलाई, ६ कक्षाकोले २ कक्षाकोलाई र ५ कक्षाकोले १ कक्षाकोलाई पढाउने व्यवस्था गर्नुभयो । त्यसो गर्दा उहाँले एउटा कक्षामा मात्र पढाए भो, रेखदेख सबैको गर्न सकियो । म सातमा पढिरहँदा, चारकोलाई पनि पढाउने जिम्मा आयो । त्यो जिम्मा आए पछि पढाउन पनि सिक्नुपर्यो, जान्नुपर्यो । त्यो फाइदा पनि पुग्दो रहेछ । अंक र अक्षर चिनाउनका लागि त एसएलसी उत्तीर्ण भएकै गुरु चाहिन्छ भन्ने पनि भएन । सामान्य हिसाव पनि सिकाउन सक्छ । त्यो तरिका उपायले तीन÷चारै वर्षसम्मै कक्षा चल्यो । त्यसपछि मात्र अर्को गुरु आउनुभयो । हामी पहिलेकोलाई ठूलो गुरु र पछि आउनेलाई सानो गुरु भनेर भन्थ्यौं । दुईजना गुरु भएपछि स्कुललाई सजिलो भएको थियो ।

त्यो बेला हामी सुकुलमा बसेर पढ्थ्यौं । लुभुको तल्लो लाछीमा रहेको लाम्पाटीमा बसेर पढेका थियौं । त्यो पाटीमा गुरु बस्ने एउटा चकला हुन्थ्यो, हामी सुकुलमा हुन्थ्यौं । गुरु पनि जुत्ता फुकालेर पढाउनुहुन्थ्यो, हामीमध्ये धेरैसँग जुत्ता नै हुँदैनथ्यो । म आफू स्वयम् पनि कक्षा तीनमा पढ्दामात्र जुत्ता लगाएर स्कुल गएको थिएँ । लाएर गइयो, फुकालेर पढियो, घर फर्किने बेलामा जुत्ता नलाइकन आइयो,  त्यही दिन हरायो । बाको गाली खाइयो ।

सिसाकलम आइसकेको थियो । सिसाकलमले नै लेख्यौं । कापी पनि आइसकेको थियो । घरमा बस्दा भने पाटीमा लेख्थ्यौ । गुरुहरुले मुखैले पढाउनुहुन्थ्यो । त्यो बेला १० बजेदेखि ४ बजेसम्म कक्षा हुन्थ्यो । बीचमा एकघण्टाको छुट्टी हुन्थ्यो ।  त्यो बेला शनिबार बिदा हुँदैनथ्यो । तिथिले बिदा हुन्थ्यो, परेवा र अष्टमीको दिन बिदा हुन्थ्यो ।

आठ कक्षाको अन्तिम परीक्षा चाहिँ रानीपोखरीको संस्कृत प्रधान पाठशालामा हुन्थ्यो, त्यो पाठशालाको भुँइतल्लामा संस्कृत पाठशाला र माथिल्लो तल्लामा अंग्रेजी हाइस्कुल थियो । त्यहाँ हामीले परीक्षा दिनुपथ्र्यो, त्यो बेलाको त्यो जाँच अहिलेको जस्तो जिल्ला स्तरीय नभएर राज्यस्तरकै थियो । त्यसपछि मात्र नौ पढ्न पाइन्थ्यो । त्यसलाई प्रथमा परीक्षा भनिन्थ्यो भने १२ सम्मको परीक्षालाई सम्पूर्ण मध्यमा ।

अझ कक्षा आठमा ट्रायल पास भन्ने पनि हुन्थ्यो । त्यो भनेको एउटा विषय फेल हुने रहेछ । तर एउटा विषयमा फेल भए पनि माथिल्लो कक्षामा पढ्न भने पाउँथ्यो । म नेपालीको संस्कृतमा र संस्कृतको नेपालीमा उल्था गर्ने विषयमा म फेल भएको थिएँ । त्यसले गर्दा ट्रायल पासबाट मैले आठ कक्षा पास गरेको थिएँ ।

आठमाथिको परीक्षा भने बनारसको क्वीन्स् कलेज (अहिले सम्पूर्णानन्द संस्कृत कलेज÷ विश्वविद्यालय) सँगको सम्बन्धनमा चल्थ्यो । मैले कक्षा ९ देखि १२ सम्म रानीपोखरीको संस्कृत प्रधान पाठशालामा पढेँ । १२ कक्षाको जाँच वा सम्पूर्ण मध्यमाको जाँच दिन भने हामीलाई बनारस जानुपथ्र्यो । उहीँ गएर जाँच दिने चलन थियो ।

त्यही पाठशालाको राणाहरुले बाहुनका छोराहरुलाई ख्वाउने एउटा पाकशाला खोलेको थिए । ‘बाहुनका छोरालाई पढायो, ख्वायो भने पाप कट्टा हुन्छ भन्ने मान्यता थियो, त्यो बेला । त्यसले गर्दा राणाहरुले तीनधारा पाकशाला (पाठशाला होइन, पाकशाला) खोलेका थिए । त्यहाँ राणाहरुले गुठी राखेका थिए । जसले बाबु मा¥यो, काका मा¥यो, त्यो मारेको पाप पखाल्नका लागि गुठी राखेका थिए । त्यहीँको स्कुलमा भर्ना भएर पढाइ अघि बढाएँ । त्यहाँ भर्ना भएपछि दालभात, तरकारी, अचार पकाएर खान पाइन्थ्यो, हामीलाई एकदिनको पाँचतोला घ्यु पनि दिइन्थ्यो । एकतोला घ्यु तरकारी बनाउन भैहाल्यो, बाँकी चारतोला घ्यु भिन्नै दिइन्थ्यो ।

२००७ साल, मेरो १२ कक्षाको जाँच दिने वर्ष पनि थियो । त्यो बेला आन्दोलन भयो, त्यो आन्दोलनमा हामी पनि अलिअलि लाग्यौं । राज्य सात सालको क्रान्तिमै अलमलियो । कसरी दमन गर्ने, कसरी अवरुद्ध गर्नेमै अललियो । त्यो बेला विद्यार्थीलाई बनारस गएर जाँच दिएर आउने जाने, बस्ने र त्यहाँ बस्दा लागेको खर्च पनि राज्यले तिरिदिने गर्दथ्यो । तर हामी आन्दोलनमा लाग्यौं, राज्य आन्दोलनकारीसँग जुध्न लाग्यो । त्यो बेला हामीले पनि पैसा मागेनौं, राज्यले पनि पैसा लाउ भनेन । हामीले जाँच नदिँदै जाँच सकियो, बिग्रियो । जाँच दिन पाएन । त्यसपछि के गर्ने त भनेर हामीले फेरि पनि आन्दोलन ग¥यौं ।

राज्यलाई हामीले हामी सात सालको क्रान्तिमा लाग्यौं, राज्यले हामीलाई दिने खर्च पनि दिएन, हामी जाँच नदिइकन पास हुनुपर्छ भन्ने माग राखेर आन्दोलन ग¥यौं । त्यो बेला सम्पूर्ण मध्यमाको जाँचदिने संस्कृत प्रधान विद्यालयबाट जम्मा २६ जना थियौं । तर पनि हामीले भने आन्दोलन ग¥यौं । हामीले प्रजातन्त्र ल्याउनका लागि समय दियौं, यसैले हामी त्यसै पास हुनुपर्छ भनेर त्यो बेलाका शिक्षामन्त्री निपेन्द्रजंग राणाकोमा हामी डेलिगेशन गयौं ।

डेलिगेशनमा जाँदा जुत्ता फुकालेर भित्र पस्ने कि लाएरै भन्ने पनि थाहा थिएन हामीलाई । डेलिगेशन भन्ने पनि थाहा थिएन । हामीले गर्दैगर्दै सिक्यौं । हाम्रो मागबारेमा राज्यको पनि ध्यान गयो । राज्यले पनि त पैसा दिनुपर्नेमा दिएको थिएन, राज्यको नि चुक (गल्ती) छ । हाम्रोमात्र चुक नभएकोले बनारको सो कलेजसँग सरकारले सल्लाह गरेछ ।  सल्लाहबाट जाँच चाहिँ दिनुपर्छ, पास सबै जना गराउँला, फर्मालिटी पूरा गर्नुपर्छ भन्ने सल्लाह भयो । हामी पनि सबैजना पास हुने आशाले जाँच दिने भयौं ।

त्यो बेला अहिलेको जस्तो सञ्चार माध्यम थिएन, राणाहरुको पालामा आएको एउटा आकाशवाणी थियो । हामी पढेका २६ जनामध्ये कतिजना त पहाडका थिए । सरकारले जाँच लिने कुराको सूचना सबैतिर पु¥याउनै सकेन । सूचना पु¥याउने माध्यमै थिएन । त्यसपछि हामी २६ जनामध्ये २३ जना भने जाँच दिन पुग्यौं । तीन जना छुट्यौं । त्यो बेला जाँच दिने बेलामा २३ जनामात्र भए पनि त्यसको रिजल्ट आउने बेलामा भने २६ जना पास भएको  रिजल्ट आयो । जाँच दिने २३ जना पास हुने २६ जना ! सायद् संसारमा कम ठाउँमा मात्र यस्तो हुन्छ । त्यसरी संस्कृत पढेर मैले सम्पूर्ण मध्यमा पास गरेँ ।

त्यसपछि २००८ सालमा संस्कृत महाविद्यालय खुल्यो । त्यसपछि हाम्रो पढाइ नेपालमै हुन थाल्यो । तैपनि प्रश्नपत्र भने बनारसकै हुन्थ्यो । हामीले लेखेको उत्तरपुस्तिका उहीँ जान्थ्यो । हामी कलेजमा पढ्थ्यौं, हामी जाँच दिन उहाँ बनारसमा जान परेन । सुविधा भयो । त्यसपछि म संस्कृत विवि नखुलुञ्जेलसम्म उतैतिर सम्बन्धनबाट चलेको विद्यालयबाटै पढाइ अघि बढाएँ । मैले शास्त्री पास गरेँ ।

त्यसपछि पनि हामीले सम्पूर्ण मध्यमा, शास्त्री भनेको के, आचार्य भनेको के ? कोबराबर को भनेर हामीले समकक्षताको विषयमा आन्दोलन ग¥यौं । आन्दोलनले सम्पूर्ण मध्यमा भनेको १२, शास्त्री भनेको स्नातक, आचार्य भनेको स्नातकोत्तर हो भन्ने निक्र्यौल ग¥यो । मैले २०१२ सालमा शास्त्री पास गरेँ । आचार्य पढ्न थालेँ । त्यो बेला शास्त्री दुई वर्षे, आचार्य तीन वर्षे हुन्थ्यो । तीन वर्षमा एउटा रसगंगाधर भन्ने एउटा ग्रन्ध थियो । त्यो मैले भ्याउनै सकिँन । मैले आचार्यको दुई वर्ष पास गरेँ र त्यसैको कारण मैले तेस्रो वर्षको जाँचै दिइँन । मेरो औपचारिक पढाइ सकियो ।

लोकसेवा पास, सरकारले दिएन जागिर

पढाइपछि मैले लोकसेवाको जाँच दिएँ । त्यो बेला अंगे्रेजीको र संस्कृतको के बराबर भनेर आन्दोलन भएपछि राज्यले समान तह भनेर निर्धारण ग¥यो । लोकसेवाले ग्राजुएट अफिसर ( ग्राजुएट अफिसर भनेको अहिलेको सेक्सन अफिसर) मा विज्ञापन माग्यो, मैले पनि जाँच दिएँ, लिखित र अन्तर्वार्तामा पनि पास भएँ । म सेक्सन अफिसर हुने भएँ । संस्कृतको विद्यार्थी, संस्कृत र अंग्रेजी विद्यार्थीबीचमा जाँच हुँदा संस्कृतबाट पास हुनेमा पहिलो विद्यार्थीमा पर्छु म । तर राज्यले जागिर दिएन । लोकसेवा आयोग पास ग¥यो, राज्यले जागिर दिएन ।

दुइटा कारण हुनसक्छ : एउटा संस्कृतबाट आएको मान्छेले प्रशासन चलाउन सक्छ कि सक्तैन ? राज्यसँग त्यो विश्वास थिएन !

अर्को, म त्यो बेला कम्युनिष्ट पार्टीको सदस्य भइसकेको थिएँ । राज्यसँग रेकर्ड थियो शायद, कम्युनिष्टलाई किन पाल्ने भन्ने सोच राज्यसँग थियो शायद ।

जागिर नदिएपछि म पत्रकारितामा लागेँ । म पत्रकार हुन पत्रकार भएको होइन, जे काम पनि गर्थे भन्ने सोच बनेको थियो । संयोगले त्यही काम भेटियो, म पत्रकारै भएँ ।

अहिलेको शिक्षा सम्बन्धमा

मेरो आफ्नै नातिनी अहिले केयुबाट ग्र्याजुएट भइन्, व्यवस्थापनमा । अस्ति उनले उनी काम गर्ने ठाउँमा एउटा निवेदन लेख्नुपर्ने भयो, कसरी लेख्ने भनेर मसँग सोध्दै थिइन् ।

यसको अर्थ अहिलेको व्यावहारिक शिक्षा छैन भन्ने देखियो । अहिले विलक्षण प्रतिभा भएको बाहेककोले शिक्षा लिनै नसक्ने पनि देखिएको छ । आम रुपमा शिक्षा पढेर काम पनि नजान्ने, व्यवहार पनि गर्न नजान्ने खालको भयो । यसलाई शिक्षा भन्ने कि युवा शक्तिलाई अल्मल्याउने बाटो भन्ने ? अलमल छ ।

हाम्रो शिक्षा श्रमसँग गाँसिएन, श्रमलाई मान्यता दिने शिक्षा नै भएन । तर शिक्षामा परिवर्तनै नआएको भने होइन, पहिले के थियो भने कितावमै पनि किसान आयो, साहुजीले भन्नुभयो भन्ने थियो । साहुजीलाई तपाइँ भन्छ, किसानलाई तिमी भन्छ, तँ भन्छ । यो अवस्था त अहिले छैन । तर शिक्षाको स्तर भने उठेको छैन ।

अहिले शिक्षा ऐनमा संशोधन गरेको छ तर अहिले पनि शिक्षा ऐनले सरकारी स्कुलमा पढाउने वा सरकारी जागिर गरेकाका सन्तानहरुलाई सरकारीमै पढाउनुपर्छ भन्ने राख्न सकेन । यसले त शिक्षक किन्न सक्नेले खर्च गरेर बोर्डिङ स्कुलमा पठायो, जसले शिक्षा किन्न सक्तैन उसले त त्यही सदाव्रतवाला पाठशालामा पठाउन बाध्य भएको छ ।

सरकारी स्कुलमा सुविधा धेरै छ, तर उसले दिने योगदान भने नगन्य छ । अहिलेका शिक्षकहरु इमान्दार छैनन् । शिक्षा बिगार्नुमा सबैभन्दा बढी शिक्षक दोषी छन् । त्यसपछि विव्यस, सरकार, अभिभावक दोषी छन् । अभिभावकहरु आफ्ना सन्तानको पढाइबारे हेर्ने चलन प्रायः छैन ।

व्यवहारिकै भएन, सोध्ने प्रवृत्ति पनि विद्यार्थीमा भएन । त्यो प्रवृत्ति विकास गराउने, सोध्ने तहमा उभ्याउने भनेको त शिक्षकले नै हो । तर त्यो गरेका छैनन् शिक्षकले । कति शिक्षक त नजानेको सोध्यो भने विद्यार्थीदेखि नै रिसाउँछन् । सुविधा छ, त्यसको सदुपयोग होइन, दुरुपयोग भएको छ । शिक्षकहरु अहिले हामी बाठो भयौं भनेर विद्यार्थी, विद्यालय र अभिभावकलाई छक्याइरहनुभएको छ, वास्तवमा तिनीहरुलाई नभइ तपाइँ आफै छक्किराख्नु भएको छ । यो कुरा बुझ्नुपर्छ ।

हरिसुन्दर छुकांले गरेको कुराकानीमा आधारित ।

एडु खवरमा समचार छ ।



Leave a comment

Your email address will not be published.


*