हेलो सरकार ! प्रधानमन्त्री कार्यालयको ‘लगबुक’ खोई ?

हेलो सरकार ! प्रधानमन्त्री कार्यालयको ‘लगबुक’ खोई ?

५ मंसिर, काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएसँगै प्रधानमन्त्री कार्यालयमा एउटा हलचल आयो । हरेक कर्मचारीलाई ‘लगबुक’ बाँडियो । कर्मचारीले हरेक दिन आफुले गरेको काम लगबुकमा उल्लेख गर्नुपथ्र्यो, र आफ्नो प्रमुखबाट काम गरेको हो भनेर स्वीकृत गराउनुपथ्र्यो ।

तर, करिब दुई महिनामै त्यस्तो अभ्यासबाट प्रधानमन्त्री कार्यालय पछि हटेको छ । कर्मचारीले लगबुक भर्न छाडेका छन् । पहिलेजस्तो काम गर्नैपर्छ भन्ने दबाव पनि कमजोर बनेको छ ।

प्रधानमन्त्री कार्यालयका योजना महाशाखा अन्र्तगतका एक कर्मचारी भन्छन्, ‘पहिलेको करिब एक महिना त निकै कडा भयो, कर्मचारीहरु पनि सर्तक थिए, तर अहिले ढुक्क छ, कसैले केही भन्दैन ।’

प्रचण्ड प्रधानमन्त्री भएसँगै कर्मचारीले जुनसुकै काम गर्न बाहिर निस्कँदा आफ्ना हाकिमलाई जानकारी दिनुपथ्र्यो । कर्मचारी कतिबेला निस्किएर कतिबेला भित्र आयो, त्यसको रेकर्ड गर्ने व्यवस्था मिलाइएको थियो । तर, तीन महिनापछि यो अवस्थाको लगभग अन्त्य भएको छ ।

प्रधानमन्त्री कार्यालय प्रवेश गर्ने मूलगेट बाहेक कर्मचारीहरु कार्यालयको पछाडि रहेको चोरढोकाबाट ओहोर–दोहोर गर्छन् । ती अधिकारीले भने, ‘शेयर भर्न जाने, हाजिर गरेर आफ्नो काममा निस्कनेहरु अहिले त्यो ढोकाबाट बाहिर जान थालेका छन् । पहिले ती ढोकाहरु बन्द गरेर कर्मचारीको काममा कडाइ गरिएको थियो ।’

यस्तै शुरुका दिनमा कर्मचारी ढिला आउने समस्या नियन्त्रण गर्न १० बज्न केही मिनेटअघि नै कार्यालयमा छापा मारेर कुन कर्मचारी कतिबेला आए, त्यसका आधारमा प्रधानमन्त्री कार्यालयले करिब २ दर्जन कर्मचारीलाई स्पष्टीकरण समेत मागेको थियो ।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता दामोदर रेग्मीले भने पहिले भन्दा कर्मचारीलाई खुकुलो व्यवस्था नगरिएको बताए । उनले भने, ‘दुई महिनामा दुईपटक छड्के भैसकेको छ । छड्केमा पर्दा लगबुक नभरी बाहिर गएका, समयमा कार्यालय नआएका कर्मचारीलाई गयल गर्ने र इन्सेन्टिभमा समावेश नगर्ने गरेका छौँ । साथै पहिले रजिष्ट्रार हाजिर थियो, अहिले इलोक्ट्रोनिक हाजिरीको व्यवस्था गरिएको छ ।’

प्रतिक्रिया