नेतृत्वको टकरावमा जुट्दै फुट्दै, आज फेरि एकता

नेतृत्वको टकरावमा जुट्दै फुट्दै, आज फेरि एकता

काठमाडौं । राप्रपा र राप्रपा नेपालबीच आज एकता हुने भएको छ । अपरान्ह काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरेर दुवै पार्टीबीच एकता हुन लागेको हो । गणतन्त्र र संघीयताको विषयमा दुवै पार्टीबीच फरक मत भए पनि बृहद् राष्ट्रवादी एकताको लागि दुई पार्टीबीच एकता हुन लागेको राप्रपा नेपालका सह–प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । एकतापछि पार्टी अध्यक्ष र संसदीय दलको नेता कमल थापा हुनेछन् भने राष्ट्रिय अध्यक्ष पशुपति शमशेर राणा हुनेछन् । 

एकता महाधिवेशन सकेसम्म तीन महिनाभित्रै गर्ने निर्णयका साथ एकता हुन लागेको सह–प्रवक्ता श्रेष्ठले बताए ।

यस्तो छ फुट र जुटको इतिहास

२०४६ सालको परिवर्तनपछि पञ्चायतकालिन नेताहरु सूर्य बहादुर थापा र लोकेन्द्र बहादुर चन्द पनि नयाँ पार्टी गठन गर्न अघि सरे । उनीहरुले पार्टीको विधान तयार पारे । तर नेतृत्व गर्ने विषयमा मतभेद देखा पर्यो ।  पार्टी दर्ता नहुँदै नेतृत्वका लागि देखिएको टकराव साम्य हुन सकेन । एउटै विधानमा दुई वटा पार्टी दर्ता भए । २०४७ जेठ १५ गते राप्रपा (थापा) र राप्रपा(चन्द) । २०४८ सालको आम निर्वाचनमा दुवै पार्टी आ–आफ्नै तरिकाले चुनाव लडे । चन्दले ३ सिट थापाले १ सिट जीत्न सफल भए । चन्दको पार्टीबाट डा.प्रकाशचन्द्र लोहनी, पशुपति शमशेर राणा र रामकृष्ण आचार्यले चुनाव जीते भने थापाको पार्टीबाट अकबर बहादुर सिंहले चुनाव जिते । त्यसपछि दुवै पार्टीका नेताहरुलाई एकताको महसुस भयो । २०४९ मा पार्टी एकता भयो । राप्रपा गठन भयो ।

एकतामा गएपछि २०५१ को मध्यावधीमा २० सिट जिते । २० सिटको पार्टीले ठूला पार्टी कांग्रेस र एमालेमा देखिएको विवादको फाइदा उठाउँदै दुइपल्ट सरकारको नेतृत्व गर्ने अवसर जुटायो ।  एमालेको समर्थनमा चन्द, कांग्रेसको समर्थनमा थापा दुवै जना प्रधानमन्त्री भए ।  तर पार्टीभित्रको यो टकरावका कारण दुवै जनता विवादित बने । अन्ततः २०५४ सालमा पार्टी फेरि विभाजन भयो । लोकेन्द्र बहादुर चन्दले राप्रपा राष्ट्रवादी भन्ने पार्टी गठन गरे ।  तर चुनावमा भाग लिएन । २०५६ को निर्वाचनअघि फेरि दुवै पार्टी एक भए । राप्रपा राष्ट्रवादी छाडेर केही नेता राप्रपामा विलिन हुन मानेनन् । त्यसको नेतृत्व राजेश्वर देवकोटाले गरे । चन्द लगायतका समुह राप्रपामा आए ।

२०५९ असोज १८ मा राप्रपाको राजनीतिले अर्को मोड लियो । राजाले कदम चाले । ०५९ असोज २५ गते लोकेन्द्र बहादुर चन्द प्रधानमन्त्री भए । चन्द प्रधानमन्त्री भइरहेका बेला राप्रपाको पोखरामा महाधिवेशन भयो । महाधिवेशनमा सूर्यबहादुर थापाले पार्टीको नेतृत्व पशुपति शमशेर राणालाई हस्तान्तरण गरे । महाधिवेशन २०६० मंसिरमा भएको थियो ।

राजाले लोकेन्द्र बहादुर चन्दपछि फेरि थापालाई प्रधानमन्त्री बनाए । २०६१ माघ १९ मा राजाले सम्पूर्ण शक्ति आफ्नो हातमा लिए । त्यो भन्दा अघि आफ्नै पार्टीका नेता प्रधानमन्त्री भएका बेला थापाका विरुद्ध पशुपति शमशेर राणा सडकमा निस्किए । दुवै नेताहरुबीच तिक्तता बढ्यो । थापाको सरकार ढलेपछि उनको सरकारमा रहेका ६ जना मन्त्रीहरु डा. प्रकाशचन्द्र लोहनी, बुद्यिमान तामाङ, हरि बहादुर बस्नेत, सर्वेन्द्र नाथ शुक्ल र रेणु यादव राप्रपामा फर्किएनन् । सूर्य बहादुर थापाको नेतृत्वमा बृहद राष्ट्रवादी शक्ति अभियान बन्यो ।

त्यो राष्ट्रिय जनशक्ति पार्टीमा रुपान्तरण भयो । राष्ट्रिय जनशक्ति पार्टी गठन हुने बेला भने थापाकै सरकारमा रहेका कमल थापा त्यहाँ बसेनन् । राप्रपामा फर्किएर महामन्त्री भए ।  राजाको ०६१ माघ १९ को कदमलाई हेर्ने दृष्टिकोणमा राप्रपामा मतभेद भयो । थापाले राजाको कदमको स्वागत गर्दै गृहमन्त्रीको रुपमा सरकारमा सहभागी भए । राप्रपाले फरक मत राखिरह्यो । २०६२ पुस २६ गते कमल थापाले नयाँ बानेश्वरमा राप्रपाको विशेष महाधिवेशन बोलाए । त्यहाँबाट राप्रपा नेपालको जन्म भयो । लगत्तै २०६२÷६३ को आन्दोलन सुरु भयो ।  २०६२÷६३ को जनआन्दोलनपछि रायमाझि आयोगले दोषी ठहर गरेर  कमल थापालाई थुनामा राखेपछि रविन्द्र नाथ शर्मा अध्यक्ष भए । २०६४ साल फागुनमा कमल थापा राप्रपा नेपालको अध्यक्षमा फेरि चयन भए ।  पहिलो संविधानसभा चुनावमा छुट्टाछुट्टै चुनाव लडेका राप्रपा र राष्ट्रिय जनशक्ति पार्टीबीच पनि एकता भयो ।

प्रतिक्रिया