प्रचण्ड र ओलीबीच चर्काचर्की

प्रचण्ड र ओलीबीच चर्काचर्की

काठमाडौं, मंसिर ७ । संशोधन प्रस्तावमा सहमति जुटाउनको लागि भन्दै सोमबार साँझ प्रधानमन्त्री प्रचण्डको सरकारी निवास बालुवाटारमा बसेको तीन दलको बैठकमा विवाद मात्रै भएन नेताहरुबीच बाझाबाझकै अवस्था निम्तिएको बताइएको छ ।
निर्णायक भनिएको नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नेपाली कांग्रेसबीचको बैठकमा जब प्रधानमन्त्री प्रचण्डले संशोधनका बुँदा प्रस्तुत गरे । एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यो आफूहरुलाई अमान्य हुने भन्दै प्रतिवाद गरे । ओलीले सो प्रस्ताव दर्ता गरिए असफल नै बनाउन पार्टी लाग्ने घोषणा नै गरेपछि प्रधानमन्त्री र ओलीबीच नै चर्काचर्की सुरु भएको र सोलगत्तै संवादको वातावरण बिग्रिएको बताइएको छ । बैठकमा ओलीलाई प्रचण्डले आफूमात्रै राष्ट्रवादी हुँ जस्तो गरेर अहम् प्रदर्शन नगर्न चुनौति दिएको समेत स्रोतको भनाई छ ।
प्रचण्ड–ओलीबीचको चर्काचर्कीपछि अरु नेताहरु पनि अर्काचर्कीमा सामेल हुँदा थप समस्या निम्तिएको र बैठक सहमति बिनै निश्कर्षविहीन बन्न पुगेको थियो ।
सरकारले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मागबमोजिम संविधान संशोधन प्रस्ताव तयार पारेको छ ।

बैठकपछि काँग्रेस नेता तथा उपप्रधान एवम् गृहमन्त्री बिमलेन्द्र निधिले संविधान संशोधनका विषयमा यस अघि पटकपटक एमालेसँग सकारात्मक छलफल हुँदै आएको भए पनि सोमबारको बैठकमा एमालेका नेताले असहमति जनाएको जानकारी दिए ।

बैठकमा सरकारका तर्फबाट प्रधानमन्त्री प्रचण्डले वैवाहिक अङ्गीकृत नागरिकता, राष्ट्रियसभामा प्रतिनिधित्व, प्रदेशको सीमाङ्कन र भाषा आयोगका विषयमा संशोधनका लागि एजेण्डा राखेका थिए ।
तर एमालेले अस्वीकार गरेसँगै सत्ता पक्षका काँग्रेस र माओवादी केन्द्रले अब मोर्चासँग छलफल गरी संशोधन प्रस्ताव अघि बढाउने उपप्रधानमन्त्री निधिले बताए ।
छलफलपछि एमाले उपाध्यक्ष भीम रावलले संविधानका कुनै पनि धाराले कसैलाई भेदभाव नगरेको भन्दै संशोधनको औचित्य नभएको धारणा राखे ।
‘संविधानको कार्यान्वयन र निर्वाचन नगरी संशोधनको आवश्यकता किन ?” उनको प्रश्न थियो । व्यवस्थापिका–संसद्को प्रमुख प्रतिपक्ष दललाई वेवास्ता गरी संशोधन प्रस्ताव अघि बढाइए मुठभेड निम्तने उनको धारणा थियो ।

सरकारले अघि सारेको संशोधनको प्रस्तावमा स्वयम् मोर्चाको पनि असहति रहेकाले त्यसको औचित्य नभएको भन्दै उपाध्यक्ष रावलले भने, “सत्ता पक्षले राष्ट्रिय हितविपरित संविधान संशोधन प्रस्ताव अघि बढाए हामी संसद् भित्र र बाहिर विरोध गर्छौँ ।”

माओवादी केन्द्रका नेता वर्षमान पुनले पछिल्लो समयमा संशोधनका विषयमा सकारात्मक देखिएको एमालेले एक्कासि परिवर्तन गरेको धारणाले आफूहरु स्तब्ध भएको बताए ।
बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा, नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, वर्षमान पुन, काँग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री निधि, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक, एमालेका तर्फबाट अध्यक्ष केपीशर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, नेता सुवास नेम्वाङ, उपाध्यक्षद्वय वामदेम गौतम र रावल सहभागी थिए ।

प्रतिक्रिया