नेपालमा भारु २ हजार र पाँच सयको नयाँ नोट प्रयोग अवैध

नेपालमा भारु २ हजार र पाँच सयको नयाँ नोट प्रयोग अवैध

९ मंसिर, काठमाडौं । भारतले प्रचलनमा ल्याएको ५०० र २ हजारको नयाँ नोट तत्काल नेपालमा नचल्ने भएको छ । नेपाल राष्ट्र बैंकले यसलाई ‘अनाधिकृत र अवैध’ भनेको छ । भारत सरकारले ५०० र १ हजारको पुरानो नोटमा प्रतिबन्ध लगाएको छ र रिजर्ब बैंक अफ इण्डिया (आरबीआई) ले ५ सय र २ हजारको नयाँ नोट बजारमा ल्याइसकेको छ ।

र, यो नोट नेपाली बजारमा पनि देखिन थालेको छ । तर, नयाँ भारुको नेपालमा कारोबार गर्न सक्ने व्यवस्था छैन । राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले भारतीय नयाँ नोटको कारोबार नेपालका लागि अबैध भएको अनलाइनखबरलाई बताए ।

उनकाअनुसार भारतले आफ्नो ‘फरेन एक्चेञ्ज म्यानेजमेन्ट एक्ट’ अन्तरगत ‘फेमा नोटिफिकेशन’ जारी गरेपछि मात्रै भारु ५ सय र २ हजारले नेपालमा वैधानिकता पाउँछ ।

भारतले भुटान र नेपालमा निश्चित परिमाणसम्म भारु बोक्न तथा कारोबार गर्न सक्ने गरी ‘फेमा नोटिफिकेशन’ जारी गर्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि नोटिफिकेशन मार्फत नेपालमा ५ सय १ हजारका नोट २५ हजारसम्म कारोबार गर्न खुला गरिएको थियो । तर, भारतले पुरानो नोटमा प्रतिबन्ध लगाइसकेको छ ।

‘फेमा नोटिफिकेशन जारी नभएसम्म भारतीय ५ सय र १ हजार नोट नेपालमा प्रतिवन्धित नै थिए’ प्रवक्ता पौडेलले भने, ‘नयाँ ५०० र २ हजार भारु अहिले त्यही अवस्थामा छ ।’

उनका अनुसार ‘फेमा नोटिफिकेशन’ नआउँदासम्म भारु ५०० र २ हजारको नोटको कारोबार तथा प्रयोग गैह्रकानुनी हुनेछ । प्रवक्ता पौडेल भन्छन्, ‘नयाँ आइसी नोटको कारोबारले समस्या ल्याउन सक्छ । अवैध नोट कारोबार गर्दा नेपालीलाई जोखिम पनि छ ।’

अहिले भारु १ सय र त्यसभन्दा साना नोट मात्रै नेपालभित्र कारोबार गर्न सकिनेछ ।

 

प्रतिक्रिया