जवरजस्तीकरणीको मुद्दामा ५ वर्ष कैद

जवरजस्तीकरणीको मुद्दामा ५ वर्ष कैद

दैलेख, मंसिर ९ – दैलेख जिल्ला अदालतले जवरजस्तीकरणीका आरोपितलाई ५ वर्ष कैद र पीडितलाई १० हजार रुपैंयाँ जरिवाना तिनुपर्ने फैसला गरेको छ । जगनाथ गाविस–९ मनघरका २२ वर्षीय यामबहादुर शाहीले २० वर्षकी परिवर्तित नाम ‘६२ख दैलेख’लाई गत फागुन ६ गते मध्यराति कोठामा सुतेको बेला जवरजस्ती ढोका खोली जवरजस्तीकरणी गरेको आरोप थियो ।
पीडितको जाहेरीका आधार प्रहरीले ०७२ फागुन ९ गते गिरफ्तार गरी अनुसन्धान सकेर जिल्ला सरकारी वकील कार्यालय मार्फत चैत २ गते दैलेख जिल्ला अदालतमा जवरजस्ती करणीको अभियोग दर्ता गराएको थियो । घटना प्रकृति र कागज प्रमाणका आधारमा आरोपित शाहीलाई आज उक्त सजाय भएको श्रेस्तेदार अधिकृत रमेश श्रेष्ठले बताए ।
जाहेरवालीको तर्फबाट जिल्ला सरकारी वकील कार्यालयको मागदावी बमोजिम मुलुकी ऐन २०२० को जवरजस्तीकरणी सम्वन्धी महलको ३(५) नंं. अनुसार ५ वर्ष कैद र सोही महलका १० (क) नं. बमोजिम १० हजार जरिवाना असुल्नू भनी जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासबाट सो फैसला भएको हो ।
न्यायाधीश पण्डितकै इजलासबाट आजै भएको अर्को फैसलामा जवरजस्तीकरणीको जाहेरी विपरित अदालतमा बयान बदल्ने २१ वर्षकी एक महिलालाई १ हजार जरिवाना र आरोपितलाई २ हजार क्षतिपूर्ति तिर्नुपर्ने फैसला भएको छ । अदालतले दिएको जारकारी अनुसार जरिवाना सरकारी कोषमा जानेछ भने क्षतिपूर्ति चाहिं आरोपितले पाउनेछन् ।
कालिका गाविस–३ टिमुरेका ३९ वर्षीय दलबहादुर योगीलाई परिवर्तित नाम ‘६२ ख’ले ०७३ साउन २५ गते राति आमा भाउजु सतेको ठाउँमा राति आई जवरजस्तीकरणीको प्रयत्न गरेको भन्दै साउन ३० गते प्रहरीमा जाहेरी दिएकी थिइन ।
भदौ १७ गते दैलेख जिल्ला अदालतमा मुद्दा पेश हुँदा नै जाहेरी अनुसारको दाबी नपुग्ने देखी अदालतले आरोपित योगीलाई तारेखमा छोडेको थियो । जाहेरवालीले सुरु जाहेरीको विपरित ‘जवरजस्तीकरणी भएको होइन रीसिबीले जाहेरी दिएकी हुँ’ भनी अदालतमा बयान दिएको कारण उनलाई त्यस्तो सजाय भएको जिल्ला अदालतका श्रेस्तेदार अधिकृत रमेश श्रेष्ठले बताए ।

प्रतिक्रिया