जब विद्यार्थीले सोधे शिक्षण पेशा ठीक छ कि छैन ?

          |   प्रकाशित मितिः शनिबार, मंसिर ११, २०७३     ::: 308 पटक पढिएको   |  

निर्मल ढुंगाना पेशाले शिक्षक हुन् । पाल्पा चिर्तुङ्धारा –८ का ढुंगाना हिजो आज रुपन्देहीको केरवानी माविमा सामाजिक विषय पढाउँछन् । ढुंगानाका ‘दिन हराएको साँझ’ (गजल संग्रह २०६१), ‘ नवैलिने फूलहरु’ (गजल संग्रह २०६५), ‘मुक्तक मिठास’ (संयुक्त मुक्तक संग्रह २०७२) कृति प्रकाशित छन् भने ‘बतासा’ नामक कथा संग्रह प्रकाशनको तयारीमा छ । राज्यको शिक्षा नीतिलाई जुझारु शिक्षकले नै फेर्नुपर्ने सन्देश सहितका कविता लेख्ने ढुंगानालाई एक विद्यार्थीले ‘शिक्षण पेशा ठीक छ कि छैन ?’ भन्ने प्रश्न गरेपछि रचिएको ‘मौनता’ कविता यो साताको शिक्षा साहित्य श्रृङ्खलामा :

मौनता

एक दिन
तेजश्वी रत्नले भन्यो
‘सर म भविष्यमा के बन्ने सपना देखूँ ?
मलाई त
तपाईं जस्तै शिक्षक बन्ने रहर छ ।’

मुर्तिले भक्तका गन्थन सुनेझैं
उसका कुराले म जिउँदो मुर्ति भएँ
सोचेँ, ऊ अर्थात् विशिष्ट विद्यार्थी
ऊ त डाक्टर बन्न सक्छ,
पाइलट, इञ्जिनियर बन्न सक्छ ।
के बन्न सक्दैन र ऊ ?
यसर्थ एकमनले भन्यो
तिमीले साँघुरो पार्न हुँदैन भविष्यको लक्ष्य,
अर्को मनले सोच्यो,
शिक्षक त पेशाहरुमै सम्मानित पेशा हो
तिमी पनि यही पेशामा हुनु पर्छ ।

अर्को दिन पनि
तिम्रो भविष्यको ठेक्का मैले नै लिएझैं
नसोध्नु पर्ने तिमीले ।
यो राज्यका मतियारहरुबाट,
शिक्षाका व्यापारीहरुबाट,
कति कुराको जवाफ
मैले पनि आजसम्म पाएको छैन
र पनि म मौन छु ।

मैले नचाहेर सम्झिएँ आफ्नो तलब
महिनाभरको दुःखले
म गरिरहेछु घरबेटीको चाकरी,
श्रीमतिले उधारोमा आफ्नो ज्यान छोप्दा
मन बटार्दै राम्रो भन्छु
मेरो अवस्था बुझेर
छोरी हत्यारा हुन्छे आफ्नै चाहनाहरुको
छोरो सरकारी कोटा खोजेरे डिप्रेस भई
राज्यको पद्दतिलाई दोष लगाउँदा
म अनायास आन्दोलित हुन्छु,
बाले अस्पतालमा मेरो नाउँको खाता खोलिदिँदा
अस्पताल प्रशासनलाई धन्यवाद दिन्छु
यद्यपि
मृगौला फेर्ने पैसा नभएर
आमा गुमाउनुको पीडाले खरानी भएको छु ।

र, पनि
सयौं नमस्कार खाएरै अघाउँछन् मेरा चाहनाहरु
टुसाँउदैनन् विलासी जीवनका रहरहरु
यिनै अभावमा पिल्सिएर
तिमीलाई म के भनूँ
र कसरी भनूँ
तिमी म जस्तै शिक्षक बन्नू ।

सँगसँगै पढ्दा फेल भएको टिके
कोरियाबाट फर्केपछि
रङ्गीचङ्गी सपनाहरु छिन छिनमा बदलेर
प्रतिष्ठित बनेको देख्दा
तिमीलाई पढ भन्न पनि मन लाग्दैन अचेल ।
मेरो लेखाइलाई
परीक्षामा हुबहु उतार्ने हरिदत्ते
राजनीतिमा छिरेर
देशकै महाजन भएको देख्दा
त्यसैत्यसै उद्वेलित् छन् मेरा अपेक्षाहरु,
सँगैसँगै निजामतिमा छिरेका दांैतरीहरूले
ठाउँठाउँमा टावरजस्ता महल
खडा गरेको देखेर
मौन छन् मेरा सपनाहरू ।

मैले झैं पुख्र्यौली बेचेर
शिक्षक भइ तिमी रमाउन सक्छ्यौ भने,
राजनीतिबाट प्रशिक्षित औठा छापेहरुले
तिमीलाई गोटी ठानेर
कैले तल, कैले माथि पुर्याइरहँदा
खुसीले आफ्नो नियतिमा अभ्यस्त हुन सक्छ्यौ भने
तिमीलाई स्वागत छ ।

तर तिमी आगो भएर
शिक्षकलाई सौता ठान्ने
राज्यको नीति बदल्न सक्ने गरि
आउनू यो क्षेत्रमा
मनमा शान्ति लिएर
आफ्नै पेशाको ङलागि बन्दुक उठाउन सक्दिनौँ भने
वा तिमी अभावहरुबीच सन्तुष्ट हुन सक्दिनौँ भने
तिमीले मेरो मौनतालाई बुझ ।



Leave a comment

Your email address will not be published.


*