एमालेसँग सहमति नगरी संविधान संशोधन प्रस्ताव लानुहुँदैनः पौडेल

एमालेसँग सहमति नगरी संविधान संशोधन प्रस्ताव लानुहुँदैनः पौडेल

१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तीन ठूला दलको सहमति बेगर संविधान संशोधन प्रस्ताव संसदमा लान नहुने बताएका छन् ।

जापान भ्रमणमा निस्कनुअघि आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले प्रमुख तीन दलबीचको सहमति बेगर संशोधन प्रस्ताव पारित हुन नसक्ने बताए ।

सरकारले प्रमुख प्रतिपक्षी नेकपा एमालेको सहमति बिना नै संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरिरहेकै बेला सत्तासाझेदार दलकै बरिष्ठ नेताबाट यस्तो प्रतिक्रिया आएको हो । सम्बन्धित क्षेत्रका नेताहरुसँग छलफल नगरी पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला अलग गराउन नहुनेे पनि नेता पौडेलले बताए ।

आफुले प्रधानमन्त्री पुष्पकमल दाहाल र पार्टी नेताहरुसँग पनि सबैको सहमति नलिई संविधान संशोधन प्रक्रिया अघि नबढाउन सुझाव दिएको पौडेलले बताए ।

नेता पौडेलले मधेसी दलहरुलाई पनि संविधानको पालना गर्न आग्रह गरे । उनले संवैधानिक प्रक्रियाबाट नै समस्याको निकास खोज्नुपर्नेमा पनि जोड दिए ।

प्रदेश नम्बर ५ मा रहेका पहाडी जिल्ला हटाउने गरी सरकारले तयार पारेको संशोधन प्रस्तावमा सत्तारुढ नेकपा माओवादी केन्द्र र सत्ता साझेदार दल नेपाली कांग्रेसका जिम्मेबार नेताहरुले पनि असन्तुष्टि जनाउँदै आएका छन् ।

 

प्रतिक्रिया