उपेन्द्रको पार्टीले संहोधन प्रस्ताव अस्वीकार गर्यो

उपेन्द्रको पार्टीले संहोधन प्रस्ताव अस्वीकार गर्यो

१५ मंसिर, काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले संसदमा दर्ता भएको संविधान संशोधन विधेयकलाई समर्थन गर्न नसकिने बताएको छ । सरकारले मंगलबार अबेर संसदमा सीमांकन हेरफेरसहित संविधान संशोधन दर्ता गराएको छ ।

फोरम अध्यक्ष यादवले आफूहरुको माग बमोजिम संशोधन दर्ता नगरेर सरकारले गल्ती गरेको बताए । संशोधन विधेयकले मधेसी मोर्चा र संघीय गठवन्धनले उठाएका कुनै पनि मागको पूर्ण सम्बोधन गरेको छैन, उनले विज्ञप्ति जारी गर्दै भनेका छन् ।

आन्दोलनको मुख्य माग १० प्रदेश र सीमांकनलाई विवादित नै राखिएको यादवले बताएका छन् । मधेसी मोर्चा र संघीय गठबन्धनले उठाएका पाँच जिल्ला झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरका विषयमा सम्बोधन गरिएको छैन, यादवले भनेका छन् ।

राष्ट्रिय सभाबारे गरिएको संशोधन समेत अपूर्ण भएको फोरमले बताएको छ । यसले राष्ट्रिय सभामा मधेसीहरु कहिल्यै पनि बुहमतमा पुग्न नसक्ने उसको दाबी छ ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले वैवाहिक अंगीकृतलाई वैवाहिक बंशज बनाउनु पर्ने माग गरेको छ । संशोधन प्रस्तावमा वैवाहिक अंगीकृत कै व्यवस्था गरिएको छ । जसअनुसार विवाह गरी नेपाल आएकी महिलाहरु देशको उच्च पदमा जान सक्ने छैन, विज्ञप्तिमा भनिएको छ ।

सरकारले दर्ता गरेको संविधान संशोधन विधेयकले राष्ट्रिय मुद्दाहरूलाई सम्बोधन नै नगर्ने र संविधानको स्वीकारोक्ति र कार्यान्वयन पनि हुन नसक्ने फोरमको दाबी छ ।

उपेन्द्र यादवले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, यो विधेयक आन्दोलनरत पक्षहरूको असहमति हुँदाहुँदै जÞबरदस्ती ल्याईएकोले यथास्थितिमा यसलाई समर्थन गर्न सकिँदैन । हाम्रो आन्दोलन जारी रहनेछ ।’

 

प्रतिक्रिया