नियमावली ढिलाइको फाइदा उठाउँदै नियमविपरीत प्रअ नियुक्त

नियमावली ढिलाइको फाइदा उठाउँदै नियमविपरीत प्रअ नियुक्त

भक्तपुर – शिक्षा नियमावली निर्माणमा भइरहेको ढिलाइको फाइदा उठाउँदै जिल्लाको एक विद्यालयले प्रधानाध्यापकमा कनिष्ठ शिक्षकलाई नियुक्त गरेको छ ।

aadarsa_layakuऐन जारी भएका ५ महिनासम्म पनि नियमावली जारी गर्न नसकेको मौकाको फाईदा उठाउँदै आदर्श लायकु माविमा नियमविपरीत प्रधानाध्यापक नियुक्त गरिएको हो । मध्यपुर थिमीमा रहेको उक्त विद्यालयको  व्यवस्थापन समितिले सोही विद्यालयमा रहेका कनिष्ठ शिक्षकलाई प्रअमा नियुक्त गरेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

उक्त विद्यालयका सबैभन्दा वरिष्ठ शिक्षक धु्रवलाल हमाल भएपनि हमालभन्दा कनिष्ठ शिक्षक बुद्धिकुमार घोलाई प्रअ बनाइएको हो । उक्त कार्य नियमविपरीत रहेको जिल्ला शिक्षा अधिकारी अर्जुनबहादुर रायमाझीले बताए । ‘विद्यालय व्यवस्थापन समितिले  २०७१ सालमा बढुवा भएर वरिष्ठ भएका शिक्षक हमाललाई पन्छाएर २०६२ मामात्र बढुवा भएका शिक्षकलाई निमित्त प्रअ बनाएको जानकारी शिक्षा कार्यालयमा पठाएको छ’,  जिशिअ रायमाझीले भने ‘सो निर्णयमा हामीले आपत्ती जनाउँदै वास्तविकताका लागि अनुसन्धान सुरु गरेका छौं । ’

सो विद्यालयका निमित्त प्रअ विद्यादेवी चित्रकारको उमेर हदका कारण गत मसिर १९ गते अवकास भएपछि कसलाई प्रअ बनाउने भन्ने विषयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगारम श्रेष्ठको अध्यक्षतामा मंसिर १२ गते बसेको बैठकले शिक्षक घोलाई निमित्त प्रअ बनाउने निर्णय गरेको थियो ।

घो २०५२ मा अस्थायी नियुक्ति पाएर शिक्षक भएका स्थानीय हुन् ।  विव्यसको निर्णयले निमित्त प्रअ बनेका घो २०६३ सालमा स्थायी भएका थिए भने २०७२ साल ६ महिना ८ गते मावि द्धितीय पदमा बढुवा भएका थिए । हमाल २०५८ मा अस्थायी नियुक्ती पाइ, २०६३ साल ७ महिना २९ गते स्थायी भए पनि घोभन्दा डेढ वर्षअघि अर्थात् २०७१ साल जेठ ४ गते बढुवा भएका थिए ।

सोही बढुवाबाट हमाल उक्त विद्यालयमा भएका शिक्षकहरुमध्ये सबैभन्दा वरिष्ठ शिक्षक भएका थिए ।

शिक्षा कार्यालयका विद्यालय निरीक्षक विमल निरौलाले नियमले वरिष्ठ शिक्षकलाई निमित्त दिनुपर्ने उल्लेख गरेको भए पनि विव्यसले भने नियमविपरीत निर्णय गरेर कनिष्ठ शिक्षकलाई प्रअको जिम्मेवारी दिइएको जानकारी दिए ।

शिक्षा नियमावली २०५९ को परिच्छेद १७ को प्रधानाध्यापक र शिक्षकको नियुक्ति तथा काम, कर्तव्य र अधिकारको  १२ नं. वुंदामा ‘सामुदायिक विद्यालयमा प्रधानाध्यापक अनुपस्थित भएमा वा कुनै कारणले प्रधानाध्यापकको पद रिक्त भएमा प्रधानाध्यापक उपस्थित नभएसम्म वा प्रधानाध्यापकको पदपूर्ति नभएसम्मका लागि सो विद्यालयमा कार्यरत शिक्षकहरुमध्येबाट वरिष्ठतम् स्थायी शिक्षकले निमित्त भई काम गर्नेछ ।’ भन्ने उल्लेख छ  । यसका साथै हाल अर्थ मन्त्रालयसम्म पुगेको शिक्षा नियमावलीको परिच्छेद २२ को वुंदा ६ मा पनि वरिष्ठतम् शिक्षकलाई नै प्रअ बनाउने उल्लेख छ ।

नियमावलीमा यस्तो वन्दोवस्त भए पनि विव्यसले भने एकतर्फी रुपमा शिक्षक घोलाई निमित्त प्रअको जिम्मेवारी दिएर औपचारिक घोषणा पनि गरिसकेका छन् । विव्यसको उक्त निर्णय शिक्षा कार्यालयमा पुगे पनि सो निर्णयलाई भने कार्यालयले अझै विचाराधीनै राखेको छ ।

विव्यसले घो स्थानीय शिक्षक भएको, २०५२ सालदेखि उक्त विद्यालयमा अध्यापन गरिरहेको, कक्षा ११ र १२ को इन्चार्ज पनि भएर काम गरेको र दुईवटा विषयमा स्नातकोत्तर गरेको आधारमा निमित्त प्रअ दिएको जनाएको छ ।

विव्यसका पदाधिकारीले उक्त कुरा बताए पनि वरिष्ठ शिक्षक एवं निमित्त प्रअका दाबेदार हमालले भने विव्यसले एकतर्फी निर्णय गरेको आरोप लगाएका छन् ।

व्यवस्थापनले आफूलाई निमित्त दिएको कारण आफूले उक्त पद सम्हालेको बताउँदै घोले भने, ‘वरिष्ठतामा धु्रब सर मभन्दा एउटा कुरामा अघि हुनुहुन्छ, बाँकी अरु धेरै कुरामा म अघि छु, क्वालिफिकेशन, अस्थायी नियुक्ती,स्थायी नियुक्तीको आधारमा मै अघि छु, विद्यालयमा व्यवस्थापन कायम भएको अवस्थामा दिने नै मलाई हो ।’

उनले आफूहरु जिशिकाको निर्णयको पर्खाइ रहेको बताउँदै विव्यसले गरेको निर्णयलाई शिक्षा कार्यालयले उल्टाउन नसक्ने दाबी पनि गरे । हमालले विव्यसले नियमविपरीत काम गरेको र विव्यसका पदाधिकारीलाई घरघरमा सही गराएर शिक्षक घोलाई निमित्त प्रअ भनेर दिएको आरोप लगाए ।  ‘विव्यसले निर्णयलाई लत्याएर जंगली राजजस्तो गरी शक्ति प्रदर्शन गरिरहेका छन् ।’

प्रक्रिया नपु¥याइ गरिएको नियुक्तिलाई कानूनको दुरुपयोग भएको बताउँदै जिशिकाको निर्णय पर्खेर बसेको उनले जनाए  । ‘नियमानुसार पाउनुपर्ने मैले हो, नपाए म अदालत जान्छु ।’ उनले भने ।

यता जिशिकाले भने जत्तिसुकै माथिल्लो शैक्षिक योग्यताको भए पनि निमित्त प्रअ बन्नका लागि सो विद्यालयका शिक्षकमध्ये वरिष्ठ शिक्षक हुनु जरुरी रहेकोले सो विषयमा अध्ययन अघि बढाएको बताएको छ ।

एडुखवरवाट साभार गरिएकाेछ ।

प्रतिक्रिया