भूकम्पपिडीत नुवाकोटबासीलाई जिफन्टको सहयोग, बहु–उद्धेश्यिय सामुदायिक भवन हस्तान्तरण

भूकम्पपिडीत नुवाकोटबासीलाई जिफन्टको सहयोग, बहु–उद्धेश्यिय सामुदायिक भवन हस्तान्तरण

नुवाकोट । भूकम्पपिडित नुवाकोटबासीलाई नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट)ले पक्की बहु–उद्धेश्यिय सामुदायिक भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको छ । नुवाकोटको गेर्खुटारमा अवस्थित गेर्खुटार युवा क्लबले संचालनमा ल्याउने गरि एक कार्यक्रमकाबीच जिफन्ट प्रतिनिधि परिषद्का प्रमुख मुकुन्द न्यौपानेको उपस्थितिमा भवन हस्तान्तरण गरिएको हो ।

gefont-nuwakot1 gefont-nuwakot-photoभवन हस्तान्तरण गर्दै न्यौपानेले आफैं भत्केर पनि जनताको सेवामा समर्पित क्लबको कार्यको प्रशंसा गर्दै जिफन्टले थप सामाजिक सेवामा योगदान होस् भन्ने उदेश्यले नुवाकोटमा सहयोग गरिएको बताए । उनले नेपाल एकिकरण गर्ने प्रमुख ठाउँ नुवाकोटले राष्ट्रियताको पक्षमा सबैलाइ एकजुट गराउन दबाब दिनुपर्ने भनाई राखेका थिए ।

कार्यक्रममा जिफन्टका अध्यक्ष विष्णु रिमालले हालसम्म भूकम्पपिडित १० हजारभन्दा बढि परिवारलाई जिफन्टले २ करोड रुपैंया भन्दा बढिको सहयोग उपलब्ध गराएको र हाल भवन निर्माण कार्यलाई निरन्तरता दिएको बताए । यस्तै काभ्रेमा पनि एक अर्काे सामुदायिक भवन हस्तान्तरणको अन्तिम चरणमा रहेको उनले जानकारी दिए ।

जनश्रमदानसहित जिफन्टको ४० लाख रुपैंयाभन्दा बढिको आर्थिक तथा प्राबिधिक सहयोगमा २७ दिनमा निर्माण सम्पन्न भएको उक्त बहु–उद्धेश्यिय भवनको आयु ५० वर्ष रहेको छ । भवन निर्माणमा कोरियन मजदुरको संस्था कोरियाली ट्रेड युनियन महासंघ(केसिटियू) को पनि सहयोग रहेको छ ।

सुरुमा इन्टरनेटसम्म पहुँच नभएका बैदेशिक रोजगारीमा गएका परिवारलाई इन्टरनेटसँग साक्षात्कार गराई परिवार र आफन्तसँग जोड्ने उदेश्यले उक्त भवन संचालनमा ल्याईनेछ । बहु–उद्धेश्यिय भवनबाट निशुल्करुपमा ग्रामिण भेगका स्थानीयलाई इन्टरनेट सुबिधा उपलब्ध गराउने उदेश्यसहित भवनमा कम्प्युटर जडान गरि सेवा पनि सुभारम्भ गरिएको छ । उक्त भवनका माध्यमबाट त्यस क्षेत्रका करिब २१०० मानिसहरु इन्टरनेट सुबिधाबाट लाभान्वित हुने अपेक्षा गरिएको छ । त्यस्तै भवनका माध्यमबाट सहकारीको प्रबद्र्धन, भूकम्पपिडित जनतालाई लक्षित अन्य सामुदायिक हितका कार्यक्रमहरु संचालनमा ल्याईने क्लबमा पूर्व अध्यक्ष एवं वर्तमान अध्यक्ष एवं पदाधिकारीहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया