मोहनविक्रम, मोहन वैद्य र विप्लववीच कार्यगत एकता

मोहनविक्रम, मोहन वैद्य र विप्लववीच कार्यगत एकता

६ पुस, काठमाडौं । पुराना वामपन्थी नेताहरु मोहनविक्रम सिंह र मोहन वैद्यवीच कार्यगत एकता सुरु थएको छ । र, यो मोर्चाबन्दीमा युवा माओवादी नेता विप्लवसमेत सहभागी भएका छन् । तीनै नेताले संयुक्त वक्तव्य जारी गर्दै ‘भारत’ विरुद्ध आन्दोलनको घोषणासमेत गरेका छन् ।

मोहन विक्रम सिंहले नेतृत्व गरेको नेकपा मसाल, मोहन वैद्यले नेतृत्व गरेको नेकपा क्रान्तिकारी माओवादी र विप्लवले नेतृत्व गरेको नेकपा माओवादीवीच कार्यगत एकताको तहमा मोर्चाबन्दी सुरु भएको हो ।

तीन पार्टीका नेताहरुले जारी गरेको विज्ञप्तिमा माथिल्लो कर्णाली र अरुण तेस्रोमा भारतीय लगानीको विरोधमा कार्यक्रमहरु घोषणा गरिएको छ । साथै बिराटनगरमा अनधिकृतरुपमा खोलिएको भारतीय काउन्सिलर कार्यालय हटाउन माग गरिएको छ ।

तीन दलको वक्तव्यमा पुस २२ गते माथिल्लो कर्णाली परियोजनाविरुद्ध सुर्खेतमा विरोधसभा गर्ने उल्लेख छ । त्यसैगरी पुस २५ गते अरुण तेस्रो परियोजनाविरुद्ध संखुवासभामा प्रदर्शन गर्ने पुस २९ गते त्यहाँ खोलिएको भारतीय काउन्सिलर कार्यलयविरुद्ध जनप्रदर्शन गर्ने विज्ञप्तिमा उल्लेख छ ।

मोहनविक्रम सिंहले नेतृत्वको गरेको नेकपा मसाल चित्रबहादुर केसीको नेतृत्वमा व्यवस्थापिका संसदमा उपस्थित छ । वैद्य र विप्लवचाँहि संविधानसभा नै बहिस्कार गरेर बाहिर बसेका दलहरु हुन् । त्यसैगरी संघीयता, माओवादलगायतका विषयमा पनि माओवादीका यी दुई समूह र मसालवीच मत भिन्नता छ ।

राजनीतिक लाइनमा एकरुपता नभए पनि भारतलाई हेर्ने दृष्टिकोण मिलेका कारणका राष्ट्रियताको मुद्दामा सहकार्यको थालनी भएको मसालका एक नेताले अनलाइनखबरलाई बताए ।

प्रतिक्रिया