सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिक सुरु

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिक सुरु

८ पुस, विराटनगर । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता शुक्रबारबाट औपचारिक रुपमा सुरु भएको छ । प्रतियोगिता अन्तर्गतका खेलहरु भने केही दिन अघिबाट नै जारी थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले विराटनगरस्थित शहीद रंगशालामा शुक्रबार प्रतियोगिताको औपचारिक उदघाटन गरिन् । उदघाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले वैशाख १२ को भूकम्पले क्षति पुर्याए पनि त्यसको डेढ वर्षमै प्रतियोगिता आयोजना गर्न सकेकोमा आयोजक नेपाल राष्ट्रिय खेलकुद परिषदलाई धन्यवाद दिइन् । खेलकुदको विकासको लागि सरकारले उचित ध्यान दिनुपर्ने भन्दै उनले विद्यालयस्तरदेखि नै महत्व दिन सकेमा खेलकदको विकास हुने धारणा राखिन् ।

यसैगरी युवा तथा खेलकुद मन्त्री दलजित विके श्रीपाइलीले राष्ट्रिय कीर्तिमान कायम गर्ने र उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई विशेष पुरस्कारको व्यवस्था गरिएको जानकारी दिए । सातौं राष्ट्रिय खेलकुद आगामी साग गेमको आधारको रुपमा रहने भन्दै उनले भौतिक संरचनाको विकासमा सरकार लागिपरेको बताए । उनले आग्रह, पूर्वाग्रह र प्रतिशोधले देशको विकास नहुने धारणा समेत राखे ।

उनले उदघाटन समारोहमा राष्ट्रिय खेलकुद परिषदको झण्डोत्तलनसमेत गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले अन्यौलताका बाबजुद पनि राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न सफल भएको बताए ।

सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तीन वर्ष अघि नै हुनुपर्ने भए पनि विविध कारणले पाँच वर्षपछि आयोजना गरिएको हो । हरेक २ वर्षमा हुने गरी ०३८ साल भदौमा काठमाडौंमा शुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगिता ३५ वर्षपछि पहिलोपटक पूर्वाञ्चलमा आयोजना गरिएको हो ।

उदघाटन समारोहमा बिभिन्न जात जातीका परम्परा झल्किने झाँकी प्रदर्शन गरिएको छ । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता यही पुस १५ गते समापन हुनेछ । प्रतियोगिताको समापन एन्फा टेक्निकल सेन्टर धरानमा प्रधानमन्त्री प्रचण्डले गर्नेछन् ।

प्रतिक्रिया