दैलेख अनिवार्य अाधारभुत शिक्षा प्रदायक जिल्ला हुँदै

दैलेख अनिवार्य अाधारभुत शिक्षा प्रदायक जिल्ला हुँदै

दैलेख, पुस ८ । दैलेखलाई अनिवार्य  अाधारभुत शिक्षा प्रदायक तथा साक्षर जिल्ला घोषणा हुने भएको छ । जिल्ला शिक्षा कार्यालयले साक्षर जिल्ला तथा अनिवार्य अाधारभुत शिक्षा प्रदायक जिल्ला घोषणाका लागि आफ्ना गतिविधि अगाडी बढाएको छ ।
जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद अधिकारीले अनिवार्य अाधारभुत शिक्षा घोषणाका लागि मितिसमेत तोकिएको जानकारी दिए । उनले आगामी फागुन २८ गते जिल्लालाई साक्षर तथा अनिवार्य अाधारभुत शिक्षा प्रदायक घोषणा गर्ने तयारी भएको बताए । जिल्लाको साक्षरता प्रतिशत हाल ९५ रहेको छ । जिशिअ अधिकारीले अब विद्यालय बाहिर रहेका विद्यालय उमेर समुहका बालबालिकालाई विद्यालयमा ल्याउने तथा अन्यलाई अनौपचारिक शिक्षा दिएर भए पनि जिल्ला पूर्ण साक्षर बन्ने बताए । उनले हाल करिब ९६ प्रतिशत बालबालिका विद्यालयमा रहेको उल्लेख गर्दै अब २ प्रतिशतलाई विद्यालयमा ल्याउन सकिए अनिवार्य अाधारभुत शिक्षा प्रदायक जिल्ला घोषणा गर्न सकिने बताए । उनले पुस र माघमा अनिवार्य  अाधारभुत शिक्षा तथा साक्षर जिल्ला घोषणा अभियान चलाइने बताए ।
हालै जिल्ला शिक्षा कार्यालयमा सरुवा भइ आएका जिशिअ अधिकारीले शुक्रबार पत्रकारहरुसँगको छलफलमा आफू जिल्लामा रहँदा शिक्षाको विकासका लागि अन्य सरकारी तथा गैरसरकारी संघसंस्थासँग सहकार्य गरेर अगाडी बढ्ने बताए । उनले शिक्षा सम्बन्धि काम गर्ने सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र सोसेकसँग समन्वय भइरहेकोसमेत बताए । सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्रको साझेदारीमा हाल जिल्लामा सहयात्रा परियोजना सञ्चालित छ । यो परियोजनाले शिक्षासँग सम्बन्धित काम गर्दै आएको छ । जिशिअ अधिकारीले विद्यालय शान्ति क्षेत्रको प्रतिवद्धतालाई कार्यान्वयन पनि गर्नुपर्ने आवश्यकता औंल्याए । उनले केन्द्रमा सबै राजनीतिक दलका प्रमुखले तथा जिल्लामा जिल्लाका शीर्ष नेताहरुले विद्यालय शान्ति क्षेत्रमा पू्रतिवद्धता जनाएको भन्दै त्यसलाई कार्यान्वयसमेत गर्नुपर्ने बताए । उनले विद्यालयमा डरको वातावरण कसैले पनि बनाउन नहुने बताए । उनले विद्यालयको पठनपाठनमा नकारात्मक असर पार्ने खाका कार्यक्रम विद्यालयमा हुन नदिने बताए ।

प्रतिक्रिया