स्थानीय तहको निर्वाचन गर्न प्रमुख तीन दल सहमत

स्थानीय तहको निर्वाचन गर्न प्रमुख तीन दल सहमत

काठमाडौं–प्रमुख तीन दलबीच स्थानीय तहको निर्वाचन गर्ने विषयमा सकारात्मक छलफल भएको छ। बुधबार प्रधानमन्त्री कार्यालय सिंहदबारमा बसेको प्रमुख तीन दलको बैठकमा नेताहरुले स्थानीय तहको निर्वाचन गर्ने विषयमा सकारात्मक छलफल भएको जनाएका छन्।

बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमालेले स्थानीय निकाय पुनः संरचना आयोगले प्रतिवेदन तयार पारिसकेको अवस्थामा  स्थानीय तहको निर्वाचन गर्नुपर्ने प्रस्ताव गरेको थियो। बैठकपछि एमाले उपाध्यक्ष भीम रावलले भने, ‘हामीले यसअघि पनि स्थानीय तहको निर्वाचन गरौं भनेर तयारसमेत गरेका थियौं। अहिले आयोगले प्रतिवेदन तयार पारिसकेको अवस्थामा अब स्थानीय तहको निर्वाचन गर्नुपर्छ भन्ने एमालेको धारणा बैठकमा राख्यौं।’

स्थानीय तहकाे निर्वाचनमा जान प्रमुख तीन दल सहमत भएपछि सरकारले एक हप्ताभित्र निर्वाचनकाे मिति घाेषणा गर्ने तयारी गरेकाे छ।

दलहरुबीच स्थानीय निकाय वा तहको निर्वाचन गर्ने भन्ने विषयमा विवाद जारी रहँदा बुधबारको बैठकले भने स्थानीय तहको निर्वाचन गर्ने विषयमा दलहरु सहमति जनिक पुगेका छन्। यसअघि प्रमुख सत्तासाझेदार नेपाली कांग्रेसले भने स्थानीय निकायको निर्वाचन गर्नुपर्ने बताउँदै आएको थियो।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले स्थानीय तहको निर्वाचन गर्ने विषयमा एमालेल आफ्नो धारणा राखेपछि दलहरु स्थानीय तहको निर्वाचन गर्ने विषयमा सकारात्मक बनेको बताए। कांग्रेस सभापति शेरबहादुर देउवाले बैठकमा स्थानीय निकाय वा तह जेको गरेपनि निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएको जानकारी दिँदै नेता श्रेष्ठले   एकसाताभित्र स्थानीय तह निर्वाचनको मिति घोषणा हुने बताए।

स्थानीय तहको निर्वाचन गर्ने विषयमा दलहरु सहमति नजिक पुगे पनि संविधान संशोधन प्रस्तावका विषयमा भने दलहरु आ–आफ्नै अडानमा बसेका छन्। एमालेले सरकारले आफूसँग कुनै पनि छलफल नगरी ल्याएको प्रस्ताव राष्ट्रघाती भएको भन्दै कुनै पनि हालतमा समर्थन नगर्ने अडान लिएको उपाध्यक्ष भीम रावलले जानकारी दिए।

‘तीन दलबीचको  एकताबाट संविधान जारी  भएको हो, संविधान जारी गर्दा एकजुट भएका दललाई थाहा नै नदिन सरकारले संशोधन प्रस्ताव दर्ता गराएको छ, यसमा एमालेको समर्थन रहँदैन।’ कांग्रेस नेता एवं गृहमन्त्री बिमलेन्द्र निधिले संविधान संशोधन प्रस्ताव र निर्वाचन सम्बन्धी कानुनसँगै  पेश गर्न गरेको प्रस्ताव एमालेले नमानेको जनाए।

नागरिक दैनिकमा समचारछ ।

प्रतिक्रिया