स्नुकर खेल्दा पानी खुवाउने ‘भाइ’बाटै युवा संघका नेतामाथि खुकुरी प्रहार

स्नुकर खेल्दा पानी खुवाउने ‘भाइ’बाटै युवा संघका नेतामाथि खुकुरी प्रहार

रेष्टुरेन्टमा खाएर बाहिर निस्कनासाथ घाँटीमै प्रहार

१५ पुस, बाँके । बिहीबार राति बाँकेको कोहलपुरस्थित एक रेष्टुरेन्टमा युवा संघका केन्द्रीय सदस्य सन्तोष बूsantosh-budhathokiढाथोकीमाथि खुकुरी प्रहार भयो । प्रहरीका अनुसार खुकुरी प्रहार गर्ने बाजुरा फैनीका अञ्दाजी २२ वर्षीय लक्ष्मण मल्ल हुन् र उनी फरार छन् । घाँटीमा चोट लागेका बूढाथोकीको अवस्था सुरुमा केही गम्भीर देखिए पनि अहिले खतरामुक्त छ ।

आफ्ना नेतामाथि खुकुरी प्रहार भएपछि काठमाडौंमा युवा संघका कार्यकर्ताहरु आक्रामक बनेका छन् । बानेश्वरमा शुक्रबार केही सरकारी गाडीमा आगजनी र तोडफोडसमेत भयो ।

बाँकेको स्थानीय प्रशासनले भने खुकुरी प्रहारको यो घटना कुनै राजनीतिक उद्देश्यले नभई व्यक्तिगत कारणले भएको प्रारम्भिक विश्लेषण गरेको छ । तर, यसबारे थप अनुसन्धान भइरहेको प्रशासनको भनाइ छ ।

घटना कसरी भयो ?

युवा संघका केन्द्रीय सदस्य बूढाथोकी राजनीतिक कार्यकर्ताका साथै कोहलपुरका व्यवसायी पनि हुन् । बूढाथोकी कोहलपुरमा रहेको कोहीनूर स्नुकर हाउसमा बेलाबखत स्नुकर खेल्न गइरहन्थे ।

घटनामा संलग्न रहेको आशंकामा पाँच जना पक्राउ परेका छन्, घटना के कारणले भएको हो, हामीले अनुसन्धान गरिरहेका छौं- प्रजिअ रविलाल पन्थ

विमल सिंहले सञ्चालन गरेको स्नुकर हाउसमा बाजुराका लक्ष्मण मल्ल पनि भेटिन्थे । बूढाथोकीले मल्ललाई ‘ए भाइ पानी खुवाउ त’ भन्दाखेरि उनले पानी खुवाउँथे । बाजुराबाट बाँके झरेका मल्लले बूढाथोकीलाई ‘दाइ’ भन्थे

विहीबार साँझ साढे ६ बजेतिर ज्ञानु थापा भन्ने आफ्नो साथीलाई लिएर युवा संघका नेता सन्तोष कोहलपुरको वेलकम कटेजभित्र पसे । उनीहरुले त्यहाँ राति करिब साढे ८ बजेसम्म खानपिन गरे ।

बूढाथोकी र थापाले वेलकम कटेजमा खानपिन गरिरहेकै बेला लक्ष्मण मल्ल त्यहाँ आइपुगे । उनले ज्ञानुलाई ‘नमस्ते दाइ’ भनेर अभिवादन गरे ।

रातको साढे ८ बज्न लाग्दा सन्तोष र ज्ञानु घर जानका लागि उठे । ज्ञानु पैसा तिर्न काउण्टरतिर लागे भने सन्तोष चाँहि बाहिर रहेको मोटरसाइकल स्टार्ट गर्नतिर लागे । रातको समय त्यसै पनि अँध्यारो थियो, त्यसमाथि पनि विहीबार राति निकै बाक्लो हुस्सु लागेको थियो ।

प्रहरीले अनलाइनखबरलाई दिएको जानकारी अनुसार ठीक त्यहीबेला एकान्तमा पारेर लक्ष्मणले सन्तोषको घाँटीमा खुकुरी प्रहार गरे र हत्तपत्त त्यहाँबाट भागे ।
सन्तोषले काउन्टरमा पैसा तिर्न गएका आफ्ना साथी ज्ञानुलाई भने- ‘त्यो भाइ त मलाई खुकुरी हानेर भाग्यो यार ।’

लगत्तै रेष्टुरेन्ट सञ्चालकको मोटरसाइकलमा हालेर बूढाथोकीलाई अस्पतालमा पुर्याइयो । सुरुमा उनको स्थिति निकै गम्भीर देखिए पनि शुक्रबार दिउँसोसम्म आइपुग्दा अवस्थामा सुधार आएको र उनी खतरामुक्त रहेको बाँके प्रहरीले जानकारी दिएको छ ।

पाँच युवा पक्राउ, सिडियो र एसपी के भन्छन् ?

घटनापछि प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्नुकर हाउसका सञ्चालक विमल सिंह सहित नवीन शाही, विकास शाही, सुदीप सिंह र सुरवीर मल्ल छन् । उनीहरु सबैजना २०/२२ वर्षका रहेको प्रहरीले बताएको छ ।

घटनाबारे बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले अनलाइखबरसँग भने- ‘घटनामा संलग्न रहेको आशंकामा पाँच जना पक्राउ परेका छन्, घटना के कारणले भएको हो, हामीले अनुसन्धान गरिरहेका छौं ।’

बाँके जिल्ला प्रहरी कार्यालयका एसपी टेकबहादुर रायले अनलाइनखबरसँग भने- ‘यो घटनाको निश्पक्ष अनुसन्धान हुन्छ, सत्यतथ्य पारदर्शी ढंगबाट बाहिर ल्याइनेछ । खुकुरी प्रहार गर्ने फरार अभियुक्तलाई शिघ्र पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याइनेछ । प्रहरीले आफूसँग भएको स्रोत साधान परिचालन गरेर वैज्ञानिक विधिबाट घटनाको अनुसन्धान गर्छ ।’

घटनाको प्रारम्भिक विश्लेषण

प्रहरी स्रोतका अनुसार अहिलेसम्म घटनामा त्यस्तो कुनै राजनीतिक कारण वा संलग्नता फेला परेको छैन । खुकुरी प्रहारमा संलग्न युवाहरु कुनै पनि राजनीतिक पार्टीमा संलग्न रहेको अहिलेसम्म नखुलेको प्रहरी स्रोतले बतायो ।

स्रोतले भन्यो- ‘सरकारी कर्मचारीसमेत कुनै न कुनै ट्रेड युनियनको सदस्य बन्ने गरेको देशमा कोही पनि व्यक्ति कुनै पार्टीमा लागेको छैन होला भनेर दाबी गर्न त सकिँदैन, तर त्यसैका आधारमा यस्ता घटनालाई कुनै अर्को पार्टीले गरेको भनेर दोष लगाउन सकिँदैन ।’

जिल्ला प्रशासन स्रोतका अनुसार घाइते बुढाथोकीको छवि जिल्लामा राजनीतिक कार्यकर्ताका साथै व्यवसायीका रुपमा समेत रहँदै आएको पाइएको छ ।

यद्यपि विहीबार राति वेलकम कटेजमा भएको खुकुरी हानाहानमा व्यक्तिगत रीसईवी, वा अन्य के कारण छ भन्ने विषयमा थप अनुसन्धानपछिमात्रै स्पष्ट रुपमा बताउन सकिने प्रशासनको भनाइ छ ।

प्रतिक्रिया