पूर्व प्रधानसेनापति छत्रमानका छोराको हराएको रोलेक्स घडी सांसदको गोजीमा

पूर्व प्रधानसेनापति छत्रमानका छोराको हराएको रोलेक्स घडी सांसदको गोजीमा

काठमाडौँ : बुधबार लाजिम्पाटस्थित होटल र्याडिसनमा एकाएक तनाव छायो। त्यहाँको जिमको लकरबाटै एउटा घडी हरायो। सामान्य घडी हराएको भए त्यति ठूलो तनावको विषय हुने थिएन। घडी र घडी हराउने मानिस दुई वटै विषय तनावमाथि तनाव थपिने विषय थियो।

घडी रोलेक्स थियो। बजार मूल्य अन्दाजी १४ लाख रुपैयाँ पर्ने। अनि त्यसका मालिक थिए प्रबलमान सिंह गुरुङ। लन्डनको एउटा ख्यातिप्राप्त रियल स्टेट कम्पनीका डाइरेक्टर। पूर्व प्रधानसेनापति छत्रमानसिंह गुरुङका कान्छा छोरा।

आफ्नो सामान हराएपछि प्रवल चुप बस्ने कुरा भएन। होटल व्यवस्थापनलाई तनाव माथि तनाव थपिने क्रम जारी थियो। दरबारमार्ग प्रहरी वृत्तमा बहुमूल्य सामान हराएको उजुरी दर्ता भएपछि अनुसन्धान सुरु भयो। बिहीबार दिनभरको अनुसन्धानपछि प्रहरीले लगभग पत्ता लगाइसकेको थियो – पूर्व प्रधानसेनापति छत्रमानसिंह गुरुङको छोराको महँगो घडी कसले हात पारेको थियो? तर लिने व्यक्ति पनि उस्तै हाइ प्रोफाइल परेपछि प्रहरी अलि हच्कियो।अनुसन्धानबाट तेर्सिएको औँला थियो एक सांसदमाथि।

शुक्रबार बेलुकी प्रहरीले ‘हामीले घडी हराउँदा जिमको लकरमा उपस्थित केहीलाई शंकाको घेरामा राखेका छौँ, फिङ्गर प्रिन्ट लिएर अनुसन्धान अगाडि बढाउन सहयोग गरिदिनु पर्यो भन्दै फोन गर्यो। शनिबार बिहानै ओखलढुंगाबाट निर्वाचित नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा दरबारमार्ग प्रहरी वृत्तमा पुगे र घडी दिँदै भने, ‘कसले मेरो गोजीमा पो राखिदिएको रहेछ। मलाई त थाहै भएन।’ सांसदलाई फँसाउने गरी कसले त्यसरी त्यति महँगो घडी षड्यन्त्र गरी उनको गोजीमा राखिदियो, त्यो पत्ता लाग्न बाँकी छ। तर १४ लाखको घडी हराएपछिको तनाव भने साम्य भइसकेको छ।
यही तनावका बीच पूर्व प्रधानसेनापति छत्रमानसिंह गुरुङले झण्डै आफ्नो पूर्व निर्धारित भारत भ्रमण रद्द गर्नुपरेको थियो। प्रहरी नेतृत्वले तपाईँ बसिरहनु पर्दैन, भ्रमण रोकिँदा राम्रो सन्देश जाँदैन भनेपछि उनी अहिले भारतमा छन्।

यता, तनाव पनि साम्य भइसक्यो।

प्रतिक्रिया