सुन तस्करीमा ‘सेटिङ’ मिलाउने दुईजना भन्सार अधिकृत पक्राउ

सुन तस्करीमा ‘सेटिङ’ मिलाउने दुईजना भन्सार अधिकृत पक्राउ

काठमाडौं । तस्करीको सुन ‘सेटिङ’ गरी विमानस्थल भन्सार पास गराउने दुईजना भन्सारका कर्मचारी पक्राउ परेका छन् । यीसँगै सुन तस्करीमा संलग्न ६ जनालाई ब्यूरोले नियन्त्रणमा लिइसकेको छ । 
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईवीले पक्राउ गरेका तस्कर, भरिया र तस्करीको सुन नेपालमा बाँडफाँड गर्ने व्यक्तिको बयानका आधारमा र सुन भित्रिएको दिनको सीसी टिभीको फुटेज हेर्दा संलग्नता देखिएपछि भन्सारका अधिकृत श्रीनारायण यादव र राजकुमार ढकाललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उच्च स्रोतका अनुसार पक्राउ परेका दुई जना तस्करीको सुन पास गराउने मुख्य नाइके हुन् । स्रोत भन्छ, “पक्राउ परेका यी दुई जना सुरुदेखि सेटिङमा काम गर्ने व्यक्ति हुन्, अझै केही छन्, उनीहरु पनि पक्राउ पर्ने छन् ।”
पक्राउ परेका यादव र ढकाल सुन सेटिङ गर्ने मुख्य व्यक्ति भएको र दुबईबाट आएको सुन बाहिर निकाल्न सहयोग गर्ने व्यक्ति भएको प्रहरीले जनाएको छ ।
स्रोत भन्छ, “सुन बोक्ने भरिया पनि पक्राउ परे, त्यो सुन रिसिभ गरेको दोस्रो व्यक्तिलाई दिने पनि पक्राउ परे, त्यसरी आएको सुन कुन व्यक्तिलाई कति दिने भन्दै भाग लगाउने पनि पक्राउ परिसके । उनको बयानका आधारमा सेटिङ मिलाउने भन्सार अधिकारी पनि पक्राउ परेका छन् । सुन कसको भन्ने पनि खुलिसकेको छ ।  तर उनीहरुलाई पक्राउ गर्न बाँकी छ । त्यसैले गोप्य राखिएको छ । त्यो पनि चाँडै खुल्ने सम्भावना छ ।”

 

प्रतिक्रिया