३३ किलो सुन काण्ड : विशाल बजारको आर. के ज्वेलर्स अनुसन्धानमा तानियो !

३३ किलो सुन काण्ड : विशाल बजारको आर. के ज्वेलर्स अनुसन्धानमा तानियो !

काठमाडौं, २९ पुस — गत विहीवार त्रिभुवन विमानस्थलबाट भन्सार छलेर बाहिर ल्याइएको ३३ किलो तस्करीको सुनका विषयमा नयाँ तथ्यहरु खुल्दै गएका छन् । प्रहरीले भन्सार विभागका दुई जना कर्मचारीलाई पक्राउ गरेसँगै सुन तस्करीले नयाँ मोड लिएको हो ।

त्यति धेरै परिमाणमा ल्याइएको सुनको मालिक को हो भन्ने विषयमा प्रहरीले गरिरहेको अनुसन्धानमा नयाँ रहस्य खुलेको हो ।

सीआइबी स्रोतका अनुसार विशाल बजारको आर. के ज्वेलर्स सुन तस्करीको अनुसन्धानमा तानिएको छ । प्रहरीले आर के ज्वेलर्समा कार्यरत एक कर्मचारीलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएसँगै सुन तस्करीमा आरकेको संलग्नता बारे अनुसन्धान भइरहेको छ ।

न्यूरोडको आर. के ज्वेलर्सले त्यो सुन विदेशबाट मगाएको हुन सक्ने प्रहरी अनुमान छ । विभिन्न भरिया हुँदै आर केका संचालक राजेन्द्र शाक्यकहाँ सुन पुर्याउने कोशिश भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

यो भन्दा अघि पनि आर केको नाम सुन तस्करीमा जोडिएर आएको थियो । केही वर्ष अघि आरके मै कार्यरत एक कर्मचारी सुन तस्करी काण्डमै समातिएको सिआइबीले जनाएको छ ।

प्रहरीले त्रिभुवन विमानस्थलमा कार्यरत भन्सार विभागका दुई जना कर्मचारीलाई पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो । विहिवार त्रिभुवन विमानस्थलको भन्सार एक्सरे मेसिनमा कार्यरत राजकमाुर ढकाल र तथ्यांक अधिकृत श्रीनारायण यादवलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया