मधेसमा गुरिल्ला ट्रेनिङ ? शीतलनिवासको हावा बालुवाटारमा सेलायो

मधेसमा गुरिल्ला ट्रेनिङ ? शीतलनिवासको हावा बालुवाटारमा सेलायो

काठमडऔ, माघ १ । नेकपा एमालेका उपाध्यक्ष भीम रावल कानून बुझेका वकिलसमेत हुन् । उनी रक्षामन्त्री र गृहमन्त्रीसमेत भएसकेका व्यक्ति भएकाले उनले पाउने सूचना हावादारी होला भनेर सहजै अनुमान लगाउँदा रावलमाथि अन्याय हुन सक्छ ।

यसैसाता पूर्वमन्त्री रावलले राष्ट्रपति निवास शीतलनिवासमा सार्वजनिक गरेको एउटा सूचनाले प्रधानमन्त्रीमात्रै होइन, देशको सिंगो सुरक्षा निकायको ध्यान खिच्यो । तर, शीतलनिवासबाट सुरु भएको त्यो ‘सनसनी सूचना’ बालुवाटार पुगेपछि सरकारका तर्फबाट मिथ्या घोषित भयो ।

शीतलनिवासमा त्यो दिन

स्थानः राष्ट्रपति कार्यालय 
समयः पुस २१ गते ।
उपस्थितिः राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख पाँच दलका दुई/दुई शीर्ष नेताहरु 

राष्ट्रपति भण्डारीले बैठक शुभारम्भ गरेलगतै एमाले उपाध्यक्ष भीम रावलले ‘फायर’ खोले । पूर्वगृहमन्त्री एवं रक्षामन्त्रीसमेत भइसकेका रावलले बैठकमा भने- ‘सरकार के हेरेर बसेको छ ? देश नै संकटमा पर्न लागिसक्यो ।’

रावलको कुरो सुनेर बैठकमा सहभागी नेताहरु गम्भीर भए । राष्ट्रपति पनि गम्भीर बनिन् । प्रधानमन्त्री प्रचण्डले ‘के भयो त्यस्तो ?’ भन्दै रावलसँग जिज्ञासा राखे ।

भारतमा ‘गुरिल्ला ट्रेनिङ’ को बैठक !

प्रधानमन्त्रीको प्रश्नलगत्तै एमाले नेता रावलले ‘खतरा’ को बेलीविस्तार लगाए ।

रावलले बैठकमा बताए कि पुस १९ गते भारतको गान्धी मैदान नजिकै रहेको इण्डियन होटलमा एउटा बैठक बस्यो । जसमा सीताराम यचुरी, रञ्जीत राय, केबी राजन, देवेन्द्र यादव र रघुवंशप्रसाद सिंहसमेत उपस्थित थिए । त्यहाँ नेपालबाट गएका मधेसी मोर्चाका दोस्रो तहका १९ नेता पनि थिए । र, त्यहाँ सिके राउत पनि थिए ।

भीम रावलले शीतलनिवासमा यो पनि बताए कि संघीय समाजवादी फोरम नेपालका रामसहाय यादव पनि दिल्लीको सो होटलमा उपस्थित थिए । त्यहाँ मधेसका २५ सशस्त्र समूहका संयोजकहरु ज्वाला सिंह, गोइत सबै पनि सहभागी थिए ।

पूर्वगृह तथा रक्षामन्त्री रावलले भरपर्दो माध्यमबाट सूचना आएको भन्दै बताएअनुसार दिल्लीको उक्त बैठकले अबको डेढ महिनामा तराई मधेसका २० जिल्लामा हतियार भण्डारण गर्ने निर्णय गर्यो । त्यसपछि नेपालका ३०० र भारतका २०० गुरिल्लाको ट्रेनिङ गराउने र निरन्तर लडाई गर्ने योजना बन्यो ।

त्यस अन्तरगत नेपालका १००० हजार ठाउँमा भारतको झण्डा गाड्ने र मधेसलाई स्वतन्त्र मधेस बनाउने निर्णय भएको पनि रावलले शीतल निवासमा सुनाए । देश टुक्राउने योजना भारतमा बनेको भन्दै पूर्वगृहमन्त्रीजस्तो व्यक्तिले यो प्लट सुनाएपछि केही नेताहरु गम्भीर भए । केहीले ‘होइन होला’ भने ।

शीतलनिवासमा रावलको कुरा सुनिरहेका कांग्रेस सभापति शेरबहादुर देउवाले तत्कालै रावललाई भने, ‘होइन, यो हुन सक्दैन, यस्तो बाहियात कुरा नगर्नुस् ।’

तर, प्रधानमन्त्री प्रचण्ड केही गम्भीर देखिए । उनले के प्रमाण छ, ल्याउनुस् भनेर रावललाई आग्रह गरे । लगत्तै रावलले प्रमाण छ, भोलि नै दिन्छु भने ।

तीन पन्ने ‘प्रमाण’

त्यसको भोलिपल्टै एमाले उपाध्यक्ष रावलले प्रधानमन्त्री निवास बालुवाटारमा तीन पेजको दस्तावेज पुर्याए । त्यसमा राष्ट्रपति निवासमा भएको बैठकमा भनिएकै कुराहरु थिए । र, त्यसमा मधेसी मोर्चाका १९ जनाको नाम पनि समावेश थियो ।

सुरक्षा प्रमुखसँग प्रधानमन्त्रीको सोधपुछ

madhesi-morcha-sarkar-meeting

प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चाका नेताहरुलाई शुक्रबार सुनाए अनुसार रावलले लिखित दस्तावेज नै पेश गरेपछि उनले सुरक्षा प्रमुखहरुसँग पनि यसबारे बेग्लाबेग्लै छलफल गरेका थिए ।

सेनापति, जनपथ र सशस्त्रका प्रमुखले सुरुमा अध्ययन गर्छु भनेको र २३ गते ‘सत्य होइन रहेछ’ भनेर रिपोर्टिङ गरेको प्रधानमन्त्रीले मोर्चाका नेताहरुलाई जानकारी दिए ।
प्रधानमन्त्रीको भनाइ उधृत गर्दै मधेसी मोर्चाका एक नेताले भने, ‘सुरुमा त गम्भीररुपमा लिएको थिएँ । तर, सबैतिर बुझ्दा होइन रहेछ भन्ने पुष्टि भयो ।’

प्रचण्डलाई उधृत गर्दै स्रोतले दिएको जानकारीअनुसार सुरक्षा निकायको रिपोर्टिङबारे उनले राष्ट्रपतिलाई समेत बि्रफिङ गरिसकेका छन् ।

शसक्रबारको बालुवाटार बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले पनि आफूले भारतीय राजदूत रणजीत रायसँग पनि यसबारे सोधेको बताएका थिए । तर, यो होइन भनेर राजदूतले आफूलाई भनेको देउवाले बालुवाटार बैठकमा सुनाए ।

बैठकमा माओवादी नेता रामबहादुर थापा बादलले एमालेले भनेको सही भए त्यो गम्भीर भएको बताएका थिए । साथै यदि एमालेले गलत भनेको प्रमाणित भएको भए यसलाई झनै गम्भीर कुराका रुपमा लिनुपर्ने र के मनसायले एमालेले यो भन्यो भनेर खोज्नुपर्ने बादलको भनाइ थियो ।

मधेसी मोर्चाका नेताहरुले भने एमालेको आरोप संगीन भएको भन्दै कि एमालेले प्रमाण दिनुपर्ने, नभए माफी माग्नुपर्ने माग गरेको छ । तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महिन्द्र यादवले अनलाइनखबरसँग भने, ‘भीम रावलले शीतलनिवासमा भनेको कुरा प्रधानमन्त्रीले हामीलाई भन्नुभयो । र, यो होइन रहेछ भन्ने सुरक्षा निकायहरुबाट पुष्टि भएको पनि जानकारी दिनुभयो ।’

उनले अघि भने, यदि यो गलत हो भन्ने पुष्टि भएको हो भने एमालेले माफी माग्नुपर्छ ।’

बालुवाटार बैठकमा सहभागी नेताहरुले यसलाई संविधान संशोधन रोक्न ब्लाकमेलिङका लागि एमाले नेताहरूले रचेको ‘प्लट’ (कथा) को संज्ञा दिएका छन् । र, यसको प्रधानमन्त्रीसहित सबैले भण्डाफोर गर्नुपर्नेमा आफूहरुले जोड दिएको रामसपाका महासचिव केशव झाले अनलाइनखबरसँग बताए ।

प्रतिक्रिया