नेपाली भूमिमा चिनियाँ तस्करको चलखेल

नेपाली भूमिमा चिनियाँ तस्करको चलखेल

४ माघ, काठमाडौं । पछिल्लो समय नेपाली भूमिमा चिनियाँ अपराधीहरुको चलखेल बढेको छ । लागू औषधदेखि डलरको तस्करीका घटना चिनियाँ नागरिकको संलग्नता खुल्न थालेको छ ।

गत शनिबार राति नागढुंगाबाट ४ करोड विदेशी मुद्रासँगै समातिएका तीन जना चिनियाँ नागरिकहरु झोला व्यापारीका रुपमा काठमाडौंमा बस्ने गरेको खुलेको छ । डदरसँगै पक्राउ परेर हाल प्रहरीको अपराध महाशाखाको नियन्त्रणमा रहेका चिनियाँ पुरुष चाङ तोङ फाङले नेपाली भाषा बुझ्ने र बोल्नसमेत सक्ने प्रहरीले बताएको छ । प्रहरीका अनुसार सन् २०१६ भरि भिसा थप्दै नेपालमा बस्दै आएका चाङ तोङ फाङ स्पष्ट नेपाली बुझ्न सक्छन् र बोल्न पनि सक्छन् ।

सँगै समातिएका चिनियाँ महिला चाउ स्यलिङ र चाउ लियाङ फङ पनि एक वर्षदेखि नेपालमा बस्दै आएका थिए । झोला व्यवसायका नाममा ठमेलको होटल गजुरमा बस्दै आएका तीनैजनाको राहदानी  नेपालकै भिसाले भरिएको छ । प्रहरीसँगको बयानमा तीनै जना चिनियाँले बरामद ४ करोड विदेशी मुद्रा क्यासिनोबाट संकलन गरेको वयान दिएका छन् ।

तीन चिनियाँसँगै पक्राउ परेका स्कार्पियोका चालक पेम्बा तामाङका अनुसार काठमाडौंबाट रसुवातिर गएका चिनियाँहरु अधिकांश फेरि काठमाडौं नै फर्किने गरेका छन् । पेम्पाले भने- ‘रसुवा नाकाबाट चीनतिर जाने, फेरि फर्किने थुप्रै चिनियाँहरु हुन्छन् । तर, तिनको धन्दा हामीलाई थाहा हुँदैन ।’

यतिबेला ठमेलमा चिनियाँहरुले थुप्रै होटल खोलेका छन । तर, ती होटलमाथि निगरानी नहुँदा तस्करीमा चिनियाँहरु सक्रिय हुन थालेको प्रहरीको भनाइ छ ।

मध्यरातमा सडकको बाटो हुँदै विदेशी मुद्रा बोकेर रसुवातिर लागेका तीन जनालाई पक्राउ गरेपछि प्रहरीले पहिलोपटक यी चिनियाँ नागरिकविरुद्ध संगठित अपराधमा मुद्दा चलाउने भएको छ ।

यो घटनालाई सामान्य रुपमा लिन नमिल्ने अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनाल बताउँछन् । उनी भन्छन्- ‘हामीले विदेश जाँदा पाँच सय डलर खोज्दा पाउँदैनौं, यिनीहरुले यत्रो विदेशी मुद्रा कहाँबाट ल्याए ? यो गम्भीर विषय हो ।’

विदेशी मुद्रासहित पक्राउ परेका ३ चिनियाँ नागरिकसँगै मध्यरातमा तिनलाई लिन ठमेल पुगेका स्करपियो चालक पेम्बा तामाङ पनि यतिबेला प्रहरी हिरासतमा छन् ।

चिनियाँको धन्दा नै डलर तस्करी

सडक र हवाइ दुवै मार्गबाट डलर तस्करी गर्न चिनियाँहरु सबैभन्दा बढी सक्रिय हुने गरेको प्रहरीको दाबी छ ।

करिब २ वर्ष अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट  ५० वर्षीया चिनियाँ महिला युङलो अवैध रुपमा लैजान लागिएको अमेरिकी डलरसहित पक्राउ परेकी थिइन् । उनी  चाइना साउदर्न एयरको उडान नं CZ ३०६८ बाट ग्वान्जावो जान लागेकी थिइन् । १ लाख १३ हजार अमेरिङ डलर लिएर चीन जान लागेकी युङलो ब्यागेजमा फल्सबटम बनाएर डलर लैजाँदै गर्दा पक्राउ परेकी थिइन् ।

युङलो एक वर्षमै १६ पटकसम्म नेपाल आएकी थिइन् । प्रहरीका अनुसार उनले एकै दिनमा डलर बोकेर नेपाल चाइना ओहोर-दोहोर गरेको समेत भेटिएको थियो ।

यसैवीच तातोपानी नाका बन्द नहुँदासम्म चिनियाँहरुले डलर तस्करीका लागि सिन्धुपाल्चोकको रुट प्रयोग गर्ने गरेका थिए । तातोपानी नाका बन्द भएपछि उनीहरु विमानस्थल र रसुवागढी नाकातिर लागेका छन् ।

डलर तस्करीकै आरोपामा दुइ वर्षअघि काठमाडौंको कोटेश्वरबाट १४ जना चिनियाँहरु एक साथ पक्राउ परेका थिए । मध्यरातमा तीन लाख ९७ हजार अमेरिकी डलर, एक लाख १८ हजार युरोसहित ११ महिला र ३ पुरुष चिनियाँ नागरिकहरु पक्राउ परेका थिए ।

क्यासिनो र मनी ट्रान्सफरबाट डलरको कालोबजारी

आर्थिक वर्ष ०६८/०६९ मा मात्रै विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको अभियोगमा ४० जना चिनियाँ नागरिकहरु नेपालमा पक्राउ परेका थिए ।

त्यस्तै ०६९/०७० मा १० चिनियाँ नागरिकलाई गैरकानुनी गितिविधिमा संलग्न रहेको भन्दै प्रहरी कार्वाहीको दायरामा ल्याएको थियो ।

प्रहरीका अनुसार पछिल्लो दुई वर्षमा मात्रै ३० भन्दा बढी चिनियाँहरु नेपालमा पक्राउ परेका छन् । पक्राउ परेका अधिकांश  चिनियाँमाथि अवैध मुद्रा तस्करीकै आरोप लाग्ने गरेको छ ।

तर, ती पक्राउ परेकाहरुले डलर कहाँबाट संकलन गर्छन् भन्नेबारे खास अनुसन्धान हुन सकेको छैन । अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनाल भन्छन् ‘डलर तस्करीमा एउटा गिरोह नै संलग्न हुन्छन् तर, कसले कहाँबाट डलर संकलन गरे कसैले खुलाउँदैनन्, जसले गर्द त्यसले अनुसन्धान गर्न समस्या हुने गरेको छ ।’

नेपालबाट तस्करी भैरहेको अधिकांश डलर क्यासिनो, मनी एक्सचेन्ज तथा मनी ट्रान्सफरहरुबाट संकलन हुने गरेको प्रहरीको दाबी छ ।

मनी एक्सचेन्ज र मनीट्रान्सफर कम्पनीहरुले अवैधरुपमा डलर बिक्री गर्ने  गरेका छन् ।

मुद्रा अपचलनका बारेमा अनुसन्धान गर्ने राजश्व अनुसन्धान विभागको निगरानी कमजोर हुँदा पनि तस्करहरुले डलरको धन्दा सहज रुपमा गरिरहेको प्रहरीको भनाइ छ ।

source : onlinkhabar.com

प्रतिक्रिया