एमालेलाई पनि साथमा लिनुपर्ने पौडलको भनाई

एमालेलाई पनि साथमा लिनुपर्ने पौडलको भनाई

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेकपा एमालेलाई पनि साथमा लिएर मात्र वर्तमान राजनीतिक समस्याको निकास निकाल्नुपर्ने बताएका छन् ।  उनले तीन पार्टी मिलेर संविधान जारी गरेकाले त्यसको कार्यान्वयन र रक्षाका लागि पनि प्रमुख दलहरु एक ठाउँमा उभिनुपर्ने बताए ।
यसका लागि सरकारमा रहेका कांग्रेस र माओवादी केन्द्रले नै पहल गर्नुपर्ने उनको भनाइ थियो । “एमालेलाई पनि साथ लिनैपर्छ,” उनले भने, “तीन पार्टी भएर संविधान जारी गर्यौं । सबै पक्षलाई साथ नलिई हुँदैन ।”
एउटा पक्षलाई ल्याउँदा अर्को बाहिर निस्कने अवस्था आउने भएकाले त्यसलाई मिलाउने जिम्मा पनि प्रमुख दुई दलकै भएको उनले बताए ।
“कांग्रेस र माओवादीले एमालेलाई चित्त बुझाएर ल्याउने र मोर्चालाई चित्त बुझाएर राख्न सक्नुपर्छ,” उनले भने, “यसो गर्न सकिएन भने सन्तुलन गुम्छ । सन्तुलन गुम्यो भने समस्याको समाधान हुन सक्दैन ।” पौडेलले मधेसी मोर्चाले पटक पटक कुरा फेर्ने गरेको भन्दै आक्रोश समेत पोखे ।
“संविधान संशोधन प्रस्ताव अगाडि लैजान एमालेले ठूलो विरोध गरेको छ,” पौडेलले भने, “एमालेले निरन्तर विरोध गरेपछि त्यही बीचमा मधेसी मोर्चाका नेताहरुले सरकारसँग कमसेकम यो प्रस्ताव अघि मात्रै बढाइदिनुस्, प्रस्ताव पेश भएपछि चुनावका लागि हामी पनि लाग्छौं भनेर भन्नुभएको हो । तर अहिले फेरि यो संशोधन नभई चुनावमा जाँदैनौं भन्नु राम्रो भएन ।”
उनले यसले विश्वासको वातावरण बिगार्ने बताए ।
“तर अहिले प्रस्ताव पेस भइसकेपछि अब त चुनावतिर लाग्नुपर्ने हो नि,” पौडेलले भने, “मधेसका नेताहरुले अब अरु कुरा गरेर हुँदैन,” उनले भने ।
उनले मोर्चाले किन चुनाव टार्न खोज्दैछ भन्ने आशंका व्याप्त भएको उनको भनाइ छ ।
“चुनावको पक्षमा नदेखिनु राम्रो भएन,” उनले भने, “कारण के हो भन्ने प्रश्न मेरो मनमा पनि उठ्न थाल्यो । राजनीति गर्नेहरुले यस्तो प्रश्न उठ्न दिनुहुँदैन ।”
संविधान संशोधन प्रस्ताव पनि एमालेको सहमतिमा सँगै अघि बढाउने र चुनावको मिति पनि घोषणा गर्नुपर्ने उनको भनाइ छ ।
उनले संविधान कार्यान्वयनमा लचकता देखाउने काम कांग्रेस, एमाले र माओवादीको भए पनि उपलब्धि बचाउन मोर्चा पनि लचक हुनुपर्ने धारणा राखे ।
मधेसमा नागरिकताका सवालमा केही आशंका भएको बताउँदै उनले भने, “नेपाली सबैले नागरिकता पाउनैपर्छ । प्रतिनिधित्वको कुरा र समावेशीताको कुरा पनि सँगसँगै आउँछ । यसमा केही स्पष्ट पार्नुपर्ने छ भने गर्न सकिन्छ ।”
पौडेलले संविधान संशोधन प्रस्ताव अलि हतारमा आएको भए पनि कांग्रेसले राष्ट्रिय राजनीतिमा आफ्नो भूमिका कहिले पनि भुल्न नहुने धारणा राखे ।
“राष्ट्रको राजनीतिमा कांग्रेसले आफ्नो हैसियत विर्सनुहुँदैन,” उनले भने, “कांग्रेसको हैसियत के हो भन्ने कुरा नेतृत्वले पनि बुझ्नुपर्छ ।”

प्रतिक्रिया