काठमाण्डौ । विगत ११ वर्षदेखि विभिन्न वहानामा रोकिँदै आएको खिम्ती–ढल्केबर प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भई परीक्षण प्रशारण समेत सुरु गरिएको छ । विश्व बैंकको सहयोगमा निर्माण सुरु भएको सो आयोजना सन् २००९ मा सम्पन्न हुनुपर्ने थियो । जग्गा प्राप्ति, मुआब्जाा वितरण तथा विभिन्न स्थानीय समसयाका कारण लामो समयदेखि अड्किएको आयोजना सम्पन्न भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारी बताउँछन्।

प्रवक्ता अधिकारीले प्रसारण लाइन निर्माणमा ठूलो सफलता हासिल भएको र भारतबाट आयात गरिएको विद्युत् ढल्केबर– खिम्ती– लामोसाँघु हुँदै काठमाडौँ भित्र्याउन सहज हुने बताए।
ऊर्जा मन्त्री जनार्दन शर्माले प्रसारण लाइन निर्माण सम्पन्न गर्न, समस्या आए आफूलाई भन्न दिनुभएको निर्देशनअनुसार प्रसारण लाइन सम्पन्न भएको र प्राधिकरणले महत्वपूर्ण सफलता हासिल गरेको प्रवक्ता अधिकारीको भनाइ छ ।

प्राधिकरणका तत्कालीन उपकार्यकारी निर्देशक कन्हैयालाल मानन्धर आयोजना प्रमुख हुँदा सन् २००३ मा सुरु भएको आयोजना उनी सेवा निवृत्त हुँदा समेत सम्पन्न नहुँदा सर्वत्र संसय पैदा भएको थियो । आयोजना प्रमुख श्यामकुमार यादवले आयोजनाको यही माघ १ गतेबाट नियमित परिक्षण भइरहेको बताए ।

सिन्धुलीको रतनचुरा, सिन्धुलीमाडीलगायतका स्थानमा स्थानीयबासीले मुआब्जाको विषयलाई लिएर पटक पटक आयोजना अवरुद्ध गर्दै आएका थिए । स्थानीय प्रशासनको विशेष सहयोगमा आयोजना सम्पन्न भएको उल्लेख गर्दै आयोजना प्रमुख यादवले भारतबाट आयात भएको विद्युत् काठमाडौँ भित्र्याउने बाटो खुलेको बताए।

समयमै प्रसारण लाइन बन्न नसक्दा नेपाल विद्युत् प्राधिकरणले निर्माणको जिम्मा पाएको ‘कालपत्रु पावर’ ट्रान्समिशन र ‘मुडभरी एन्ड जेभी’लाई मासिक ११ लाख हर्जना तिर्दै आएको थियो । सन् २०११ देखि हालसम्म प्राधिकरणले बैंक ग्यारेन्टी, बिमा, सामान भण्डारण शुल्कबापत ६ करोड ६० लाख तिरिसकेको छ । आयोजना सम्पन्न भएपछि उक्त भार समेत बहन गर्नुनपर्ने भएको छ ।

विश्व बैंकको २ अर्ब १५ करोड ६० लाख ऋण सहयोगमा सन् २००६ मा सुरु भएको सो आयोजना सन् २००९ मा सम्पन्न हुनुपर्ने थियो । सिन्धुलीमा पर्ने छवटा टावरमा लामो समयदेखि विवाद रहँदै आएको थियो।

सो प्रसारण लाइन सम्पन्न भएपछि वर्षेनी एक अर्ब प्राधिकरणलाई फाइदा हुनेछ । विद्युतको प्राविधिक चुहावटका कारण १० मेगावाटभन्दा बढी विद्युत् खेर गइरहेको छ । करिब ७३ किलोमिटर दूरी रहेको सो आयोजना निर्माण भएपछि खिम्ती काठमाडौँ भरतपुर हुँदै तराई जोड्ने २५० किलोमिटर लामो दूरी पार गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।

प्रसारण लाइन घुमाउरो हुँदा प्राधिकरणलाई वार्षिक एक अर्ब बराबरको घाटा भएको छ भने प्रसारण लाइन बन्ने बित्तिकै १० मेगावाट बिजुली बचत हुँदा मुलुकभरको विद्युतभार कटौतीको समयमा आधा घन्टा कम हुने विश्वास लिइएको छ । यस्तै प्रसारण लाइन नहुँदा सिप्रिङ आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारणमा जोड्न पाइएको थिएन । सो आयोजना निर्माण सम्पन्न भएपछि माथिल्लो तामाकोसी र दोलखालगायतका जिल्लामा उत्पादन भएको विद्युतसमेत राष्ट्रिय प्रसारण लाइनमा जोड्न सहयोग मिल्नेछ ।

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले आयोजनास्थलबाट खिम्तीसम्मको प्रसारण लाइनको निर्माण सुरु गरिसकेको सन्दर्भमा सो प्रसारण लाइनमा करिब ५५८ मेगावाट विद्युत् प्रवाह हुनेछ । प्रसारण लाइन दोलखाको सहरे गाविसबाट सुरु भई रामेछाप, सिन्धुली र महोत्तरीका विभिन्न गाविस हुँदै धनुषाको ढल्केबरमा रहेको सव स्टेसनमा जोडिएको छ । आयोजनाले पाँच जिल्लाका १६ गाविस र एक नगरपालिका प्रभावित भएका छन् ।

विश्व बैंक, नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको आयोजनाले सम्पन्न भएपछि भारतबाट यही माघ १६ गतेबाट थप आयात हुने ४० मेगावाट विद्युत् सहज रुपमा काठमाडौँ ल्याउन सकिने प्राधिकरणका प्रवक्ता अधिकारीले बताए।