कमल थापा र विजय गच्छदार लाइनमा, एक एक सिटे पार्टीका दुई सांसदलाई आज मन्त्री बनाइने

कमल थापा र विजय गच्छदार लाइनमा, एक एक सिटे पार्टीका दुई सांसदलाई आज मन्त्री बनाइने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्दैछन् । प्रधानमन्त्रीले संसद्मा एक एक सदस्य भएका दुई दलका नेतालाई बिहीबार मन्त्री बनाउन लागेका हुन् ।

प्रधानमन्त्री दाहालले अखण्ड पार्टी नेपालका अध्यक्ष कुमार खड्का र समाजवादी पार्टीका अध्यक्ष प्रेम बहादुर सिंहलाई मन्त्री बनाउन लागेको आजको नयाँ पत्रिका दैनिकले समाचार प्रकाशित गरेको छ ।

पहिलो पृष्ठको मुख्य समाचारमा बिहीबार दिउसो दुई मन्त्रीको शपथ हुने उल्लेख गरिएको छ । समाचारमा राप्रपा अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजय गच्छदार पनि सरकारका जाने लाइनमा रहेको उल्लेख गरिएको छ ।

थापालाई कांग्रेसबाट र गच्छदारलाई उनकै पार्टीभित्रैबाट अप्ठेरो परेको पनि समाचारमा उल्लेख छ ।

प्रधानमन्त्रीले भने मधेसी दललाई पनि समेट्ने र राप्रपालाई थप मन्त्रालय दिने गरी मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।
यो समाचारलाई आजको राजधानी दैनिकले पनि पहिलो पृष्ठमै प्रकाशित गरेको छ ।

‘संशोधनमा दुई तिहाइको कसरत’ शीर्षकमा राजधानी दैनिकले समाचार प्रकाशित गरेको छ । त्यसको सब हेडमा साना दलबाट मन्त्री थपिँदै भन्ने उल्लेख गरिएको छ ।
पहिलो पृष्ठको तीन कोलममा यो समाचार प्रकाशित छ ।
आजको नागरिक दैनिकले भने दोस्रो पृष्ठमा प्रकाशित समाचारको शीर्षक राखेको छ – एक सिटे पार्टीलाई बारम्बार मन्त्री ।

निर्वाचन आयोगले आय व्यय नबुझाएको भन्दै खारेज गरेको दलका सांसदलाई नै प्रधानमन्त्रीले मन्त्री बनाउन लागेको समाचारमा उल्लेख छ । प्रेमबहादुर सिंहको पार्टीलाई निर्वाचन आयोगले खारेजी गरेको छ ।
कान्तिपुर दैनिकले पनि दुई मन्त्री थपिँदै भन्ने शीर्षकमा दोस्रो पृष्ठमा समाचार प्रकाशित गरेको छ ।

प्रतिक्रिया