संविधान कार्यान्वयन गर्दै जाँदा आवश्यक परे, संशोधन गर्नुपर्छ : मन्त्री सिंह

संविधान कार्यान्वयन गर्दै जाँदा आवश्यक परे, संशोधन गर्नुपर्छ : मन्त्री सिंह

काठमाडौं, ७ माघ । नवनियुक्त खानेपानी तथा सरसफाईमन्त्री प्रेमबहादुर सिंहले संविधान संशोधन भन्दापनि कार्यान्वयन अहिलेको आवश्यकत्ता भएको स्पष्ट पारेका छन्। शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नवनियुक्त मन्त्री प्रेम बहादुर सिंहले संविधान कार्यान्वयन गर्दै जाँदा आवश्यक परे संविधान संशोधन हुन सक्ने बताएका हुन्। उनले भने,‘संविधान कार्यान्वयन नै अहिलेको आवश्यकत्ता हो, कार्यान्वयन गर्दै जाँदा जटिलता आयो भने संशोधन गर्न सकिन्छ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित कार्यक्रममा मन्त्री सिंहले आफूले नै नेपालमा पहिलो पटक खानेपानी तथा सरसफाई मन्त्रीको जिम्मेवारी सम्हालेको बताउँदै भने,‘अन्र्तर्राष्ट्रिय स्तरमा नेपालले खानेपानी तथा सरसफाईको बारेमा धेरै प्रतिबद्धता गरेको थियो, तर कार्यान्वयन गर्नको लागि भने मन्त्रालय नै थिएन, त्यसैले मैले नै नेपालमा पहिलो पटक मन्त्रालयको रुपमा काम सुरु गरेको हुँ, अहिले त त्यही अनुसार बजेट तर्जुमा भैसकेको छ।’
उनले आफूले नै पहिलो पटक नेपालमा हेभ्भी पम्पिङ् परियोजनाहरु समेत सुरु गरेको उल्लेख गर्दै भने,‘भेरी, गोरखा, हलेसी लगायतका विभिन्न ठाउँमा मैले हेभी पम्पिङ् प्रोजेक्टहरु कार्यान्वयनमा आउँदैछन्।’त्यस्तै उनले मेलम्ची खानेपानी आयोजनापनि द्रुत गतिमा निर्माण गर्न आफूले नै पहल गरेको विश्वास व्यक्त गरे।
त्यस्तै तराईमधेशका २० जिल्लामा समेत तराई खानेपानीसुधार आयोजना सुरु गरिएको र त्यसअन्र्तगत १ सय ६ आयोजनाहरु कार्यान्वयनमा आउने चरणमा रहेको उनको भनाई थियो। त्यस्तै ढल निकासका कार्यक्रमहरु समेत आफूले नै अघि सारेको उनले जिकिर गरे। मन्त्री सिंहले आगामी दिनमा आफूले अघि सार्ने कार्यक्रमहरुलाई जनतासमक्ष पुर्याउनको लागि मिडियासँग सहकार्य गर्दै अघि बढ्ने समेत विश्वास व्यक्त गरे।
त्यस्तै नवनियुक्त महिला, बालबालिका तथा समाज कल्याण मन्त्री कुमार खड्काले पनि आफू संविधान संशोधन गर्छु भनेर कबुल गरेर मन्त्री नबनेको स्पष्ट पारेका छन्। उनले भने,‘प्रधानमन्त्रीले मलाई केही भन्नुभएको पनि छैन, मैलेपनि मलाई मन्त्री बनाईदिनुपर्यो भनेर कसैसँग भनेको छैन, संशोधन प्रस्ताव पारित गराउनको लागि हामीलाई मन्त्री बनाईएको हो भनेर यहाँ अनुमानका वायुपँखी उडाउने काम भयो, अब अनुमानको कुरा गर्नेसँग मेरो भन्नु केही पनि छैन्।’
मन्त्री खड्काले संविधान संशोधन गर्नुपर्छ भनेर आफूले पहिलेदेखि नै आवाज उठाउँदै आएको र संविधानका धेरै बुँदाहरुमा आफूले संशोधन हालेको उल्लेख गर्दै भने,‘यो संविधानमा सबैभन्दा धेरै संशोधन हाल्ने भनेको मै हुँ, संविधान संशोधन गर्नुपर्छ भनेर मैले अधिकांश बुँदाहरु संशोधन प्रस्ताव हालेको छु, मैले हिमाल, पहाड र मधेशलाई जोड्नुपर्छ भन्दा मेरो विरुद्धमा बोल्दा म कानको डाक्टरसँग जानुपर्यो।’
उनले संविधान कार्यान्वयन लगायत अन्य कुरामा पनि अहिलेको संसदीय संरचना अनुसार प्रमुख दलहरु मिलेर जानुको विकल्प नभएको बताए। उनले भने,‘प्रमुख दलहरु एकताबद्ध हुनुपर्छ, धु्रविकरण भएर अघि बढ्दा समस्याको समाधान हुन सक्दैन्।’
उनले आफूले नेतृत्व गरेको मन्त्रालय विकासका परियोजनासँग नजोडिएको भएपनि जनतासँग प्रत्यक्ष सरोकार राख्ने भएकोले पनि महत्वपूर्ण भएको उल्लेख गर्दै भने,‘८० प्रतिशत जनताको दायित्व बोकेको मन्त्रालय हो, समय कम छ, तर म काम गर्न तयार छु।’ उनले आफ्नो लागि समय कम भएपनि यो विचमा धेरै महत्वपूर्ण काम गर्न सक्छु भन्ने आत्मविश्वास रहेको समेत बताए।
मन्त्री खड्काले महिला हिंसा लगायतका घट्नाहरु नेपालमा धेरै भएकोले यसको लागि तत्काल उद्धार टिम निर्माण, जेष्ठ नागरिकहरुलाई समय व्यतित गर्नको लागि प्रत्येक टोलमा एक केन्द्र गठन गर्ने, सडक बालबालिकाहरुको लागि काम गर्ने लगायतका आफ्ना योजनाहरु रहेको र यसमा केही राम्रो काम प्रारम्भ गर्नसकेमात्रैपनि ठूलो उपलब्धि हुने विश्वास व्यक्त गरे।

प्रतिक्रिया