इन्काउण्टरमा मारिएका घैंटे र चरीको करोडौंको सम्पति कसले खायो ?

इन्काउण्टरमा मारिएका घैंटे र चरीको करोडौंको सम्पति कसले खायो ?

१६ माघ, काठमाडौं । सामाखुशी, कपुरधाराको भित्री गल्लीमा २० नम्बरको हरियो रंगको एक तल्ले घरमा केही समयदेखि ताल्चा झुण्डाइएको छ । अहिले सुनसान यो घरमा करिब डेढ वर्षअघि सम्म निकै चहलपहल हुन्थ्यो । तर, ७२ साल भदौ ३ गते पछि त्यो घरमा न कोही बसेका छन्, न कुनै चहल पहल । किन कि त्यो त्यही घरका मालिक प्रहरी कारवाहीमा मारिएका थिए ।

प्रहरी इन्धकान्टरमा मारिएका कुमार श्रेष्ठ अर्थात कुमार घैंटेको चार आना जग्गामा रहेको यो घरमा अहिले कोही पनि बस्दैन । गत भदौमा आफन्तहरुले वार्षिकी कर्म त्यही घरमा गरे । त्यस पछि पनि घर खाली छ ।

घैंटेको सम्पति यति मात्रै हो त ?

त्यसो भए घैंटेको इन्काउण्टरपछि अलपत्र परेको सम्पति यही एक तल्ले घर मात्र हो ?

घैंटेको सफाया नहुँदै उनको करोडौंको सम्पति भएको विवरण प्रहरीसँग थियो । तर, त्यसमा कसैले छानविन त के फाइल पल्टाएर समेत हेरिएको छैन ।

प्रहरीले तयार पारेको विवरण अनुसार कुमार घैंटे डन भनिएकाहरु मध्ये सबैभन्दा धनी थिए । उनको करिब २० करोड भन्दा बढीको सम्पति थियो भनिएको थियो । तर, अहिले त्यो सम्पति कसको नाममा छ त ? न राज्यले खाजेको छ, न उसका आफन्तको हातमा परेको छ ?

कति सम्पति थियो घैंटेको ?

कुमार घैंटेको नयाँ बसपार्क नजिकै २० आना जग्गा थियो, जसको मूल्य अहिले ७ करोडमाथि छ ।

स्रोतहरूका अनुसार घैंटेको उक्त जग्गा उनकै सबैभन्दा विश्वासिलो पात्र शान्ता महर्जनको नाममा छ । त्यही जग्गामा अहिले ट्रष्ट बनाउने काम भइरहेको छ ।

त्यस्तै सामाखुशी नजिकै एउटा गुठीको जग्गा पनि घैंटेकै थियो । त्यही जग्गामा घर बनाउने स्केच समेत तयार पारेका थिए । १६ आना जग्गामा ४० लाख तिर्न बाँकी भएको घैंटेले आफू निकट व्यक्तिहरुलाई बताएका थिए । उक्त जग्गा घैंटेकी छोरीको नाममा ल्याउने प्रक्रिया चलिरहेको छ ।

नावालिकाको लागि भन्दै उक्त जग्गा छोरीलाई दिलाउन अदालतमा प्रक्रिया चलिरहेको स्रोतले जनाएको छ ।

घैंटेले धादिङको नौविसेमा ढुंगा खानी संचालन गरेका थिए । ७ जना भन्दा बढीको संयुक्त लगानी रहेको त्यो ढुंगा खानीमा एक करोड भन्दा बढी घैंटेको लागानी थियो । नौविसेमै घैंटेको एक सय रोपनी जग्गा पनि छ । ‘बगैचा बनाएर राखिएको सय रोपनी जग्गा पनि कस्ले खायो हामीलाई थाहा छैन, खानेले मेरो नाममा छ भन्दैन, कसैले खोज्दैन,’ स्रोतले भन्यो ।

एउटै रेष्टुरेन्टमा प्रहरीकै हाकिमसँग लगानी गरेका थिए

लाजिम्पाटस्थित फ्राइडे रेष्टुरेन्टमा घैंटेको लगानी थियो । तर, त्यसमा उसलाई प्रहरीका अधिकृतहरुले समेत साथ दिएका थिए । दुई करोडको लगानी रहेको फ्राइडेमा रोकेश कार्कीको लागानी भएको देखाइएको थियो । तर, त्यसमा प्रहरीका उच्च अधिकृतहरुको समेत लगानी भएको स्रोतको दाबी छ ।

गजुरमुखी ठेक्का कम्पनिमा घैंटेको लगानी थियो । ‘क’ श्रेणीको ठेक्का कम्पनीमा नुवाकोटका कांग्रेस सभापति जगदिशनर सिंह केसी, फरार सूचीमा रहेका समिर बस्नेत, घैंटेका विश्वास पात्र शान्ता मर्हजन र प्रितम थापाको लगानी थियो ।

स्रोतका अनुसार दिपक गौतमको नाममा रहेको कम्पनी घैंटेको समूहले गौतमलाई सेयर दिएर साइड लगाएका थिए । तर, पछि फेरि १२ करोड लोन तिरेर दिपक गौतमले अहिले आफ्नै बनाएको स्रोतको दाबी छ ।

डोजर र टिप्पर पनि गायब

कुमार घैंटको नाममा एनआईसी, इन्भेष्टमेन्ट र स्ट्यान्डर्डचार्टड बैंकमा खाता छ । जसमध्ये इन्भेष्टमेन्ट बैंकमा केही नगद हुन सक्ने स्रोतले बतायो । त्यसबोहक घैंटेले सञ्चालन गरिरहेको एउटा डोजर, दुईवटा टिप्पर र एउटा गाडी गायब भएको छ । ‘सबै गाडीहरु घैंटेले कस्को नाममा राखेको थियो भन्ने केही सीमित प्रहरी अधिकृतहरुलाई समेत जानकारीमा छ । तर त्यसलाई किन बाहिर ल्याउन खोजिएन हामीले बुझ्न सकेका छैनौं,’ स्रोतले भन्यो ।

प्रहरीले घैंटेको इन्काउण्टर लगतै विश्वासपात्र शान्ता महर्जनलाई पक्राउ गरेको थियो । स्रोतका अनुसार डोजर, टिप्पर, नौविसेको सय रोपनी जग्गा, नयाँ बसपार्कको २० आना, ढुंगाखानी लगायत गरेर २५ करोड भन्दा बढीको सम्पति थियो ।

प्रहरी इन्काउटरपछि हङकङबाट आएकी कान्छी श्रीमतीले घैंटेको सम्पतिमा चासो दिएकी थिइन् । तर, उनी घरको सामान समेत फुटाएर खाली हात फर्किएकी थिइन् ।

चरीको क्रसरदेखि लाखौंको गाडी गायब

घैंटे प्रहरी कारबाहीमा मारिने दोस्रो पात्र थिए । त्यसअघि ७१ साल साउन २१ गते धादिङका दिनेश अधिकारी ‘चरी’को देह लिला समाप्त भएको थियो ।

तर, उनीसँग भएको भनिएका करोडौंका सम्पतिहरु पनि कहाँ छ थाहा छैन । चरीका दाजु ध्रुव अधिकारी भन्छन्, ‘हामीले पनि सुनेको भाइको कराडौंको सम्पति थियो रे ? थुप्रै ठाउँमा उसको लगानी पनि थियो भन्थे । तर, अहिले ति सम्पति र लगानीहरु कसले पचायो हामीलाई थाहा छैन ।’

उनका अनुसार चरीको धादिङकै खानीखोल क्षेत्रमा रहेको क्रसरमा एक करोड भन्दा बढीको लगानी थियो । ६५ सालमा खोलिएको त्यो क्रसर दिपक खतिवडाको नाममा थियो । प्रहरीले पाँच वर्षअघि निकालेको सम्पति विवरणमा समेत धादिङको क्रसरमा चरीको लगानी छ भनिएको थियो । तर, अहिलेसम्म क्रसरमा भएको लगानीका बारेमा कसैले चासो दिएको छैन ।

त्यो क्रसर बाहेक अरु कुन-कुन ठाउँमा उसको लगानी थियो भन्ने परिवार पनि थाहा छैन । दाइ ध्रुव अधिकारीका अनुसार मारिनु अघि चरीले बा १० च ५९९३ नंम्बरको भाक्सवागन गाडी चढ्दै आएका थिए ।

जुन राजन श्रेष्ठको नाम थियो । चरि मारिएसंगै त्यो गाडी पनि गायब भएको छ ।

फिल्म निर्माता रोज राणाले पनि चरीको ३० लाख खाइदिएको दाइको दाबी छ । रोजले केही वर्षअघि फिल्म बनाउन भन्दै ३० लाख लिएका थिए । चरी मारिएपछि रोजले ‘जय परशुराम’ नामको फिल्म त्यही पैसामा बनाएको ध्रुवको दाबी छ ।

प्रहरीले निकालेको विवरण अनुसार चरीसँग ७ देखि १० करोड बराबरको सम्पती देखिएको थियो ।

आफ्नो नाममा सम्पति नराख्दा खोज्न सकिएनः एसएसपी खनाल

घैंटेको इन्काउण्टर लगतै प्रहरीले उसको सम्पति पनि खोजी गर्ने बताएको थियो । तर, त्यो पार लाग्न सकेन । प्रहरी कारबाहीमा मारिएका गुण्डाहरुको सम्पति उनीहरुकै नाममा नहुँदा अनुसन्धान गर्न समस्या देखिएको महानगरी प्रहरी अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनाल बताउँछन् ।

मारिएका डनहरुको विवरण हामीसँग छैनः सम्पति शुद्धीकरण विभाग

अवैध तथा आपरापधक धन्दाबाट आर्जन गरेको सम्पति छानविन गर्ने सम्पति शुद्धीकरण विभागसँग पनि प्रहरी कारबाहीमा मारिएका चरी र घैंटेको सम्पति विवरण छैन ।

विभागका महानिर्देशक जीवन प्रकाश सिटौलाका अनुसार दिपक मनाङ्गे, चक्रे मिलन, गणेश लामा, परशुराम बस्नेतसहित पाँच जनाविरुद्ध मुद्दा चलिरहेको छ । तर, चरी र घैंटेविरुद्ध कुनै पनि उजुरी नपरेको र प्रहरीले विवरण नदिँदा विभागले छानविन गर्न नसकेको महानिर्देशक सिटौला बताउँछन् । source : onlinekhabar.com

प्रतिक्रिया