नेपाली विद्यार्थी नेपाली विषयमै कमजोर

नेपाली विद्यार्थी नेपाली विषयमै कमजोर

काठमाडौं । विद्यालय तहको शिक्षामा नेपाली विषयमा विद्यार्थी कमजोर रहेको देखिएको छ । गत वर्षको एसएलसीमा विद्यार्थीले प्राप्त गरेको ग्रेडले समेत यसको पुष्टि गर्छ । 

गत वर्ष एसएलसीमा ६३ जनाले मात्र नेपाली विषयमा ‘ए प्लस’ ग्रेड पाए । राष्ट्रिय भाषामा नै विद्यार्थी कमजोर देखिनुले शिक्षण पद्धतिमा प्रश्न उठेको बताउँछन् सरोकारवाला ।

लिटिल एन्जल्स स्कुलको नेपाली विभाग प्रमुख देवीदत्त पौडेल नेपाली विषयको प्रश्न सोध्ने ढाँचा नै पुरानो रहेको बताउँछन् । “नेपाली विषयको पठनपाठन शैली पनि पुरानै छ । विद्यार्थीको रुची र पठन शैलीबीच तालमेल नमिल्ने भएर पनि विद्यार्थी अपेक्षाकृत रूपमा कमजोर देखिएका हुन्,” उनले भने ।

पौडेलका अनुसार सरकारले ग्रेडिङ प्रणाली लागु गरे पनि नेपाली विषयमा प्रश्नपत्रको ढाँचामा कुनै परिवर्तन गरेको छैन । विषयगत प्रश्नमात्र बढी हुने हँुदा पनि नेपाली विषयमा विद्यार्थीले राम्रो अंक प्राप्त गर्न नसकेको उनको तर्क छ ।

पौडेल भन्छन्, “नेपाली भाषाको पठन पद्धति नै आधुनिक, सीपमूलक र सिर्जनात्मक भएन । नेपाली विषयमा व्याकरण, सिर्जनात्मक र रचना गरी तीन खण्ड छन् । तर, सिर्जनात्मक खण्ड वर्षदिनमा एक घण्टी पनि पढाइ नै हुँदैन । परीक्षामा भने उक्त खण्डबाट ३५ अंकको प्रश्न सोधिन्छ र त्यसै आधारमा मूल्यांकन गरिन्छ ।”

मूल्यांकन प्रणालीमै समस्या रहेको बताउँदै पौडेलले १० अंकको प्रश्नको जवाफमा शिक्षकले ७ अंक पनि नदिने जिकिर गरे । “शतप्रतिशत अंक दिनुपर्ने व्याकरणमा समेत ह्रस्व र दीर्घ केलाएर अंक काटिन्छ । यसले गर्दा पनि नेपाली विषयमा विद्यार्थीले ‘ए प्लस’ कम ल्याएका हुन्,” उनले भने । परीक्षा लिइने तीन घण्टामा विद्यार्थीको समग्र मूल्यांकन हुन नसक्ने तर्क उनको छ ।

पाठ्यक्रम विकास केन्द्र भाषा शिक्षा शाखाकी पाठ्यक्रम अधिकृत रजनी धिमाल पाठ्यक्रममा भने समस्या नरहेको बताउँछिन् । विद्यालयहरूबाट आउने सुझाव र गुनासोका आधारमा प्रत्येक वर्ष पाठ्यक्रम परिमार्जित गर्दै लगिएको उनले बताइन् । विद्यार्थी कमजोर देखिनुमा शिक्षणको समस्या हुन सक्ने उनको तर्क छ ।

आमबुझाइ के छ भने बोर्डिङ स्कुलका विद्यार्थीको अंग्रेजी राम्रो हुन्छ, तर नेपालीमा कमजोर हुन्छन् । त्यस्तै, सरकारी स्कुलका विद्यार्थी नेपालीमा तगडा हुन्छन् र अंग्रेजीमा कमजोर । यद्यपि अहिले कतिपय सरकारी विद्यालयमा पनि अंग्रेजी अनिवार्य गरिएको हुन्छ ।

पाठ्यक्रम अधिकृत धीमाल भन्छिन्, “अंग्रेजी स्क्ुलका विद्यार्थी नेपाली विषयमा अपेक्षाकृत रूपमा कमजोर नै हुन्छन् । सरकारी तथा सामुदायिक विद्यालयमा सामाजिक, जनसंख्यालगायत विषय पनि नेपालीमै पढाइ हुने तर बोर्डिङमा अन्य सबै विषय अंग्रेजीमा पढाइन्छ । बोर्डिङ स्कुलका विद्यार्थीलाई स्कुलमा नेपाली बोल्दा सजाय दिने परम्पराले पनि नेपाली विषयमा विद्यार्थी कमजोर देखिएका हुन् ।”

भाषाका जानकार गोविन्द तिमिल्सिना तल्लो तहमा आधारभूत ज्ञान नभएका विद्यार्थीलाई कक्षा चढाइदिने समस्याले गर्दा पनि नेपाली विषयमा जति कक्षा चढ्दै गयो, उति विद्यार्थी कमजोर देखिएको बताउँछन् । नेपाली विषय जसले पनि पढाउन सक्ने, अभिभावकले पनि नेपाली त हो, जानिहाल्छ नि भन्ने मानसिकताले पनि राम्रो प्रतिफल दिन नसकेको उनको भनाइ छ ।

नेपाली विषयलाई कम महत्व दिनु र प्राथमिकता नदिनुले विद्यार्थी यो विषयमा कमजोर हुँदै गएको तिमिल्सिना बताउँछन् । “अंग्रेजी, विज्ञान र गणित विषयलाई अतिरिक्त समय दिने तर नेपालीलाई हेला गर्ने प्रवृतिले समस्या ल्याएको हो,” उनी भन्छन्, “नेपाली पढेर पनि राम्रो हुन्छ भन्ने सोच अभिभावक र विद्यार्थी दुवैमा हराउँदै गएको छ ।”

शिक्षणमा पनि समस्या रहेकोमा तिमिल्सिना सहमत छन् । “गहिराइमा पुगेर पढाइँदैन । नेपाली पहिलो भाषा हुनेले सहज रूपमा बुझे । तर, दोस्रो भाषाका रूपमा नेपाली सिक्ने बालबालिकालाई सिकाउन हामीले जानेनौं,” उनी भन्छन्, “तामाङले अबलाई ‘आबो’ भन्छन् । नेवारीमा ट, त, ठ र थको उच्चारण अस्पष्ट हुन्छ । मधेशी, शेर्पा, राई, गुरुङ भाषाको आफ्नै विशेषता छ । त्यसले गर्दा पढाउँदा सुनाइ शिक्षणलाई महत्व दिनुपर्छ, जो हुन सकेको छैन ।”

पाठ्यक्रम अधिकृत धीमाल भने दोस्रो भाषिक पृष्ठभूमिका बालबालिकालाई सिकाइमा गाह्रो भयो भनेर गुनासो नआएको बताउँछिन् । “समस्या पहिचान गरेर अतिरिक्त क्रियाकलापको लागि पहल गर्न पाठ्यक्रम विकास केन्द्र सदैव तत्पर छ,” उनले भनिन् ।

 

प्रतिक्रिया