शिक्षकलाई जरिवाना नतिराउन जिशिअहरुबाटै लिखित प्रतिवद्धता

शिक्षकलाई जरिवाना नतिराउन जिशिअहरुबाटै लिखित प्रतिवद्धता

पोखरा – उमेर हदका कारण सेवा अवधि सकिएर पनि जागिरमै बस्ने शिक्षकको संख्या नरोकिएपछि यस्ता शिक्षकहरुको बिवरण समयमै अद्यावधिक गरि तोकिएको निकायमा पठाउन जिल्ला शिक्षा अधिकारीहरुले प्रतिवद्धता जनाएका छन् ।

क्षेत्रीय शिक्षा निर्देशनालय पोखराले आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा उपस्थित त्यस क्षेत्रका जिशिअहरुले आफ्नो जिल्लाबाट गत महिना सेवा निवृत्त भएका शिक्षक र चालु महिना हुने शिक्षकको विवरण अद्यावधिक गर्न लिखित प्रतिवद्धता जनाएका हुन्  ।

हरेक महिनाको १ गते मन्त्रालय, विभाग, विद्यालय शिक्षक किताबखाना र क्षेसीनिमा उक्त विवरण पठाउने प्रतिवद्धता सहित जिशिअहरुले पोखरा घोषणा पत्र नै जारी गरेका छन् ।

शिक्षकको योगदानको उच्च सम्मान र अभिलेखको स्तरीयताको अनिवार्य आवश्यकतालाई मनन् गर्दै सामुदायिक विद्यालयका स्थायी शिक्षकको अभिलेख प्रत्येक निकायमा अझ ब्यवस्थित राख्न अझ प्रतिवद्ध हुने उक्त घोषणा पत्रमा उल्लेख गरिएको छ ।

विद्यालय शिक्षक किताबखानाका महानिर्देशक शेरबहादुर ढुङ्गाना, पश्चिमाञ्चलका क्षेत्रीय शिक्षा निर्देशक विष्णु प्रसाद अधिकारी, त्यस क्षेत्रका जिशिअहरु र शिक्षा मन्त्रालय अन्र्तगतका अन्य निकायमा जिम्मेवार अधिकारी सहित २० जनाले उक्त घोषणा पत्रमा हस्ताक्षर गरेका छन् ।

चालु आर्थिक बर्षको ६ महिनामा मात्रै ९७ जना यस्ता शिक्षकबाट विद्यालय शिक्षक किताबखानाले २ करोड १ लाख ६१ हजार २ सय ९६ रुपैंया असुल गरेको छ ।

उमेर हद वितिसक्दा पनि जागिर खाईरहने शिक्षकबाट उक्त अवधिको रकम असुल नगरिकन  शिक्षकले पेन्सन पट्टा लगायतका कागजात बनाउन सक्दैनन् । उक्त कागजात निर्माणका लागि शिक्षकले धेरै खाएको रकम जरिवाना तिरेपछि मात्रै विद्यालय शिक्षक किताबखानाले पेन्सन पट्टा  निर्माणको प्रकृयामा सामेल गराउँछ ।

यो पनि पढ्नुहोस् : पेन्सन पट्टा बनाउन जाँदा शिक्षक तिर्छन् जरिवाना

शिक्षा नियामावली २०५९ को नीयम ११७ मा उमेर हदका कारण सेवा निवृत्त हुने शिक्षकले नौ महिना अघिनै सेवारत विद्यालयमा जानकारी दिनु पर्ने ब्यवस्था छ । किताबखानाले ६ महिना अघिनै सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा निबृत्त हुने शिक्षकको विवरण पठाउँछ ।

तर आफ्नो सेवा अवधि सकिईसक्दा पनि ढाँटेर तलब खाने शिक्षकका बारेमा विद्यालय निरिक्षकको अनुगमन समेत फितलो देखिएको छ । जिशिकाको हेलचेक्र्याईले निवृत्तहुने शिक्षकहरुको तथ्याङ्क अद्यावधिक नहुने फेला परे पछि किताबखानाले जिशिअहरुको लिखित प्रतिवद्धता संकलन शुरु गरेको हो । शिक्षा मन्त्रालय मातहतका निकायको प्रभावकारी अनुमगन हुन नसक्नु तथा सामाजिक मर्यादा बढ्ने र पदले दिने अवसरको फाईदा उठाउने लोभले कतिपय शिक्षकहरु उमेर कटिसक्दा पनि जागिरमै बसिरहेको फेला परेको छ ।

आफ्नो कार्यक्षेत्रका शिक्षकको विवरण अद्यावधिक राख्ने काम त विद्यालय निरिक्षक, जिल्ला शिक्षा अधिकारीकै हो, तर नगरेपछि हामी आफैं सकृय भएर प्रतिवद्धता लिन शुरु गरेका छौं, ढुङ्गानाले भने, शिक्षक जस्तो मर्यादाको पेशामा रहेका ब्यक्तिले जीवनभर देश सेवा गर्ने अनी अवकास हुँदा जरिवाना तिर्नु पर्ने कुरा ज्यादै लाजमर्दो हो, यसलाई घटाउन र शिक्षकको मान प्रतिष्ठा अझै उँचो बनाउन हामी सकृय भएका हौं, शिक्षक पनि यस बारेमा सजग हुनु आवश्यक छ ।

यस्ता शिक्षकबाट आर्थिक बर्ष २०७० ७१ मा २ करोड ४९ लाख ४९ हजार २ सय ५७ रुपैंया असुल गरिएको थियो । आर्थिक बर्ष २०७१ ७२ मा १ सय ५१ शिक्षकबाट २ करोड ६२ लाख ४१ हजार ८ सय ५८ र बर्ष २०७२ ७३ मा १ सय ३२ शिक्षकबाट २ करोड २० लाख १६ हजार ६ सय ४९ रुपैंया असुल गरेको कितावखानाले जनाएको छ ।

अवधि सकिईसक्दा पनि सेवामै रहेर राज्यलाई भार पुर्याईरहने शिक्षकको संख्या घट्न नसकेपछि अवधि सकिएका शिक्षकको विवरण अद्यावधिक गर्न जिल्ला अनुगमनका खटिएका मन्त्रालयका सहसचिवहरुलाई जिशिअको लिखित प्रतिवद्धता लिन मन्त्रालयले निर्देशन दिईसकेको छ ।

गत मंसिर २२ गते मन्त्रालयले १९ जना सहसचिवलाई प्रदेश अनुसार विभिन्न जिल्ला अनुगमनमा खटाएको छ । जिल्लाको समग्र शैक्षिक अवस्थाका बारेमा हुने अनुगमनमा यो बुँदा पनि समेटिएको हो ।
अहिले सम्म सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, संखुवासभा र धनकुटाबाट जिशिअको लिखित प्रतिवद्धता प्राप्त भईसकेको ढुङ्गानाले बताए ।

एडुखवरवाट लिएकाे हाे ।

प्रतिक्रिया