यसरी तुहियो भारतको सेना पठाउने प्रस्ताव

यसरी तुहियो भारतको सेना पठाउने प्रस्ताव

नेपालको राजनीतिमा छिमेकी भारतले कसरी प्रभाव पार्छ, कसरी भारतीय प्रभाव नेपालमा प्रवेश गराउँछ भन्ने विषयमा लगातार छलफल, विचार विमर्श हुनेगरेकै क्रममा नेकपा (एमाले)का नेता राधाकृष्ण मैनालीको पुस्तकले एकपल्ट फेरि तरंग ल्याएको छ । राजाका मन्त्री भनेर चिनिएका राधाकृष्ण मैनालीले आफूलाई कुनै पनि राजनीतिक नेतृत्वबाट केही आशा नभएकाले आफूले निष्पक्षरूपमा पुस्तकमा आफूले देखेको र भोगेको कुरा सतहमा ल्याएको उल्लेख गरेका छन् ।

सो पुस्तकमा जनाइएअनुसार २०४६ सालमा पाटनको च्यासलमा तत्कालीन नेकपा (माले)को केन्द्रीय समितिको बैठकमा महासचिव मदन भण्डारी समक्ष तत्कालीन केन्द्रीय सदस्य माधवकुमार नेपालले भारतले नेपालमा सेना पठाएर राजतन्त्रको समाप्त गर्न तयार रहेको प्रस्ताव सुनाएका थिए ।

भारतीय सेनाको प्रवेशका विषयमा पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का महासचिवसम्म भएका माधवकुमार नेपालको भूमिकाको विषयमा एक अध्याय रहेको उक्त पुस्तक ‘नलेखिएको इतिहास’ को विमोचनको समाचारलाई अन्नपूर्ण पोस्टले ठूलो समाचार बनाएको छ । भारतको हेपाहा प्रवृत्तिप्रति सजग र नेपालमा गणतन्त्रको स्थापना सही ढंगले नभएको तर्क गर्ने अन्नपूर्ण पोस्टले यो समाचारलाई महत्व दिनुका पछाडि कसरी नेपाललाई कमजोर पार्ने खेलमा भारतले नेपालका नेताहरूलाई प्रयोग गर्छ भन्ने खुलासा गर्नु पनि हुनसक्छ ।

च्यासलमा भएको मालेको उक्त केन्द्रीय समितिको बैठकमा महासचिवले एजेन्डा पेस गरेपछि माधव नेपालले सुरुमा नै प्रस्ताव राखेको कुरा लेखिएको छ । ‘आन्दोलनलाई उचाइमा पुर्याउन छिमेकी भारतले यथेष्ट सहयोग गर्ने भनेको छ,’ कमरेड विवेक अर्थात् माधवकुमार नेपालले प्रस्ताव राखे । नेपालको प्रस्तावमा महासचिव मदन भण्डारीले ‘कस्तो सहयोग?’ भन्ने प्रश्न राखे । त्यसमा माधव नेपालले भने, ‘हतियारको सहयोग ।’ तर हतियार चलाउन तालिम लिनुपर्ने, अनुभवी कार्यकर्ता नभएको बताएपछि नेपालले आन्दोलनलाई गणतन्त्रमा पुर्याउनुपर्ने र त्यसका लागि भारतीय सेनामा कार्यरत नेपालीहरूनै नेपाल प्रवेश गर्ने र आन्दोलन चर्काउने र हतियार चलाउने प्रस्ताव बताएका थिए । यस विषयमा भण्डारीले भने, ‘होइन विवेक कमरेड, यो कस्तो प्रस्ताव हो ? पार्टी केन्द्रीय कमिटीको बैठकमा विदेशी सेना भित्र्याउने प्रस्ताव ल्याउन मिल्छ ? भारतीय सेना त के चिनियाँ लालसेना आएपनि हामी स्वीकार्दैनौ । इतिहासको विकासक्रममा राजतन्त्र स्थापित भयो । आफ्नै क्रियाकलापका कारण समयक्रममा नेपाली जनताको हातबाट यसको प्राण जान्छ । तपाईंको यस्तो प्रस्ताव कम्युनिस्ट पार्टीप्रतिको ठूलो अपमान हो । राष्ट्रको स्वाभिमान लुट्ने चाल हो । त्यसैले यसलाई फिर्ता लिइहाल्नुस् ।’

आउँदा दिनमा यस पुस्तकको विषयमा केही राजनीतिक टीकाटिप्पणी र बहस हुन नितान्त आवश्यक छ । पुस्तकबाट लागेको आरोपमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल मौन रहन मिल्दैन, यस विषयलाई उनको तर्फबाट स्पष्ट पार्ने प्रयास हुनु आवश्यक देखिन्छ ।

प्रतिक्रिया