विद्यार्थीहरु चुनावी मैदानमा

विद्यार्थीहरु चुनावी मैदानमा

दैलेख, फागुन १ । लामो समयपछि त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव हुने निश्चित भएपछि विद्यार्थीहरु चुनावी मैदानमा उत्रिएका छन् । दैलेखमा रहेका ५ वटा क्याम्पसमा चुनाव हुने भएपछि विद्यार्थी संघ, संगठनहरु चुनावको तयारीमा जुटेका छन् ।
त्रिविको चुनावी कार्यक्रमअनुसार आइतबार विद्यार्थी संगठनले निर्वाचन समितिमा संगठन दर्ता गराएका छन् भने निर्वाचन समितिले पहिलो मतदाता नामावली प्रकाशन गरेको छ । नारायण क्याम्पसमा नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, नेक्राविसंघ, अखिल छैटौं, राप्रविसंघले संगठन दर्ता गराएको क्याम्पस स्रोतले जानकारी दिएको छ । नेविसंघ र अनेरास्वियुले जिल्लाका सबै ५ वटा क्याम्पसमा संगठन दर्ता गराएका छन् । यसपालीदेखि स्ववियु निर्वाचन समानुपातिक हुने भएकाले संगठन दर्ता गरिएको हो । सभापति, सचिब र सदस्यबाहेक अन्य पद समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ ।
जिल्लाका दोर्णाचल क्याम्पस दुल्लु र नारायण क्याम्पस दैलेखमा बढि चुनावी माहोल तातिएको छ भने अन्य क्याम्पसमा सामान्य देखिएको छ । अझ सदरमुकामको क्याम्पस भएकालमे नारायण क्याम्पसमा चर्काे चुनावी माहोल देखिएको छ । सदरमुकामको क्याम्पस भएकाले नारायण क्याम्पसको चुनावी परिणाम आफ्नो पक्षमा पार्न दुई ठूला विद्यार्थी संगठन नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) र एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) लागिपरेका छन् । यी दुई संगठनबीच तिब्र प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।
नेविसंघले नेक्राविसंघ, राप्रविसंघ र अखिल छटौंसँग सँयुक्त प्यानल बनाएर नारायण क्याम्पसमा चुनाव लड्ने निर्णय गरेको नारायण क्याम्पसका पूर्व स्ववियु सभापति विनोद श्रेष्ठले जानकारी दिए । उनले नारायण क्याम्पसमा आफ्नो संगठनले चुनाव जित्नेदावीसमेत गरे । नेविसंघबाट मौसम थापा र सावित्री पाण्डे सभापतिको रुमा चर्चामा छन् ।
अनेरास्ववियु पनि आफ्नो पुुरानो नतिजा दोहोर्याउने दावी गर्छ । यसअघिको चुनावमा नारायण क्याम्पसमा अनेरास्ववियुका राजु खड्का सभापतिमा विजयी भएका थिए । अनेरास्ववियु सचिवालय सदस्य कल्पना थापाले यो पटक पनि आफ्नो संगठनले जित्ने दावी गरिन् । अनेरास्ववियुबाट रेखा थापा उम्मेदवार हुने पक्का भए पनि सार्वजनिक नगरिएको स्रोतले बताएको छ । स्ववियु चुनाव यही फागुन १४ गते हुँदैछ ।

प्रतिक्रिया