‘जुनसुकै वेला पड्किन सक्छन् १० लाख सिलिन्डर’

‘जुनसुकै वेला पड्किन सक्छन् १० लाख सिलिन्डर’

काठमाडौं ।  पुराना, थोत्रा, खिया लागेका, कुच्चिएका र हाइड्रोलिक परीक्षण नगरिएका १० लाख खाना पकाउने ग्यास सिलिन्डर नाकाबन्दीको अवसर पारेर ग्यास भरेर घर–घरमा पठाइएकाले कुनै पनि वेला पड्किने संभावना भएको नापतौल तथा गुणस्तर विभागले जनाएको छ ।

थोत्रा र कवाडीमा पठाउनुपर्ने वेला भएका सिलिन्डरमा ग्यास भरेर व्यापारीले थोरै मुनाफाका लागि सर्वसाधारण जनताको जिन्दगीसँग ठुलै जुवा खेलेको उपभोक्ता संघले जनाएका छन् ।

“नष्ट गर्नैपर्ने १० लाख सिलिन्डर अझै पनि बजारमा छन् ।” –विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले  भने– “ती सिलिन्डर जुनसुकै वेला पड्कन सक्छन् ।” भान्सामा जोडिएको सिलिन्डर कुच्चिएको, क्यान नभएको, खिया लागेको भए तत्काल बाहिर निकाल्न विभागले अनुुरोध गरेको छ । बजारमा चरम ग्यास–अभाव भएको मौका छोपी नष्ट गरिनुपर्ने सिलिन्डरमा व्यापारीले ग्यास भरेर पठाउँदा जोखिम बढेको पुडासैनीले जानकारी दिए ।

‘हाइड्रोलिक टेस्ट’ नगरिएका ती सिलिन्डर मापदण्डभित्र पनि नरहेको ग्यास–विक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बताए । मापदण्डअनुसार नयाँ सिलिन्डर किनेको पहिलो १० वर्षमा हाइड्रोलिक टेस्ट गरिनुपर्छ । त्यसपछि प्रत्येक पाँच/पाँच वर्षमा टेस्ट गरिनुपर्ने हुन्छ । तर धेरैजसो उद्योगीसँग सिलिन्डरको हाइड्रोलिक परीक्षण गर्ने मेसिन नै नभएको आपूर्ति मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार सिलिन्डरको आयु र मापदण्ड पनि हुँदैन । पुरानो, कुच्चिएको, लिक भएको लागे तुरुन्तै परीक्षण गरिनुपर्छ । परीक्षणमा कैफियत फेला परे नष्ट गरिनुपर्छ ।

अहिले बजारमा रङ खुइलिएका र कुच्चिएका पुराना सिलिन्डर प्रशस्त भेटिने गरेको उनले पुष्टि गरेका छन् । कुच्चिएका, चुहिने सिलिन्डर प्रयोगमा ल्याए जोखिमको सम्भावना उच्च हुने अध्यक्ष अर्यालले जानकारी दिए ।

“ट्रकबाट भुइँमा झार्दा, सिलिन्डरमाथि सिलिन्डर राख्दा कुच्चिएर पुरानो हुन्छ, कम्पनीबाट डिप–टेस्ट पनि हुँदैन ।” –उनले भने– “परीक्षण नगरिएका सिलिन्डर बजारमा छ्याप्छ्याप्ती छन् । सानातिना कुराको ख्याल नगर्दा उपभोक्ता जोखिममा छन् ।”

गुणस्तरहीन रेगुलेटर, पाइप र समयमै हाइड्रोलिक र हाइड्रोस्टाटिक टेस्ट नहुँदा ग्यास फर्कने र लिक भई आगो लाग्ने गरेको छ । नेपालमा धेरै पुराना सिलिन्डर प्रयोगमा छन् । ग्यास–उद्योगीहरूले पुराना सिलिन्डर नष्ट नगरी बजारमा पठाउने गरेका छन् ।

पुराना सिलिन्डरमा ग्यास–वितरण हुँदा नेपालमा ग्यास लिक हुने र सिलिन्डर पड्किने गरेको हो । ग्यासमा सेफ्टी–क्याप अनिवार्य लगाइनुपर्नेमा अधिकांश कम्पनीहरूले बिना सेफ्टी–क्याप ग्यास विक्री गर्दछन् ।

मुख्यतः ग्यास–भल्बका कारण जोखिम हुन्छ । ग्यास–भल्बको पुनप्र्रयोगले जोखिम बढ्दै जान्छ । सामान्यतः ग्यासको भल्ब एकपटक प्रयोग गरेपछि पुनः प्रयोग गरिनु हुँदैन । तर बजारमा सफा गरेर पुनः प्रयोग गरिएको पाइन्छ । भल्ब मर्मत गर्दा जोखिम बढी हुन्छ । ग्यास लिक भएर आगो लाग्ने, पड्किने सम्भावना हुने अर्यालले जानकारी दिए ।

“समस्या परेको वेला विषय उठाइए पनि घटना सेलाउँदै जाँदा विषय पनि सेलाउँछन् । उद्यमीे आफ्नो नाफाका लागि जनताका जिन्दगीसँग खेल्नु हुँदैन ।” –राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भने– “उपभोक्ताहरू उद्योगीसँगै सरकारी निकायका चेपुवामा छन् ।” अनुगमन तथा नियमन गर्ने निकाय प्रस्ट हुनुपर्ने उनले बताए ।

एलपी ग्यास उद्योग संघका अनुसार ५३ वटा उद्योगमध्ये अधिकांश उद्योग उपत्यका–लक्षित छन् । धादिङमा मात्रै १५ वटा ग्यास उद्योग छन् । ती सुगम, सिद्धार्थ, एचपी, एसटीसी, श्री, बाबा, श्रीराम, ओम, गीता, श्रीमाया, तारा, नमस्ते, भानु, त्रिवेणी र श्रीकृष्ण ग्यास हुन् ।

काभ्रेमा हिमाल, सौर्य, उग्रचण्डी र सागर ग्यास उद्योग छन् । उपत्यकालाई लक्षित गरी गैंडाकोट (नवलपरासी) मा लुम्बिनी, कोशी, जानकी, एचपी र राजधानी ग्यास उद्योग छन् । यस्तै चितवनमा बाबा, साई बाबा, नारायणी, उग्रचण्डी, लोकप्रिय ग्यास उद्योग छन् । हेटौंडामा सहारा र मारुती, वीरगन्जमा मनोज, पोखरामा गृहलक्ष्मी ग्यास उद्योग छन् ।
ललितपुरको इताछेमा एक पसलमा एचपी ग्यास पड्कँदा जेठ ७ गते सुुरेन्द्र ताम्राकार र धु्रव ताम्राकारले ज्यान गुमाउनुपरेको थियो ।

सोही क्रममा घाइते भएका राजेश ताम्राकारको उपचारको क्रममा जेठ २९ गते ज्यान गएको थियो ।
काठमाडौंको कालीमाटीमा पानीपुरी पकाइरहेका वेला सुगमको ग्यास–भल्ब लिक भएर आगजनी हुँदा घाइते भएका भारत– मोतीहारीका व्यवसायी बिकु पण्डितको उपचारका क्रममा बिहिबार ज्यान गएको थियो ।

सोही क्रममा मोतीहारीकै रोजित कुमाल, लक्ष्मी साह, उमेश पण्डित, राजेश सिंह, उनका छोरा अनमोल सिंह र मकवानपुरका राजेन्द्र बलामी घाइते भएका थिए ।

 

प्रतिक्रिया