प्रत्येक नेपालीको थाप्लोमा २२ हजार रुपैयाँ ऋण

प्रत्येक नेपालीको थाप्लोमा २२ हजार रुपैयाँ ऋण

काठमाडौं । प्रत्येक नेपालीको थाप्लोमा ऋणको भार बढेर २२ हजार १०४ रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको ६ महिनासम्ममा नेपालको ऋण बढेर ६ खर्ब २४ अर्ब ३१ करोड ७१ लाख रुपैयाँ पुगेको छ । कुल ऋण रकमलाई २ करोड ८६ लाख ९६ हजार ५०५ जनालाई भाग गर्दा प्रत्येक नेपालीको थाप्लोमा ऋणको भार २२ हजार नाघेको हो । केन्द्रीय तथ्यांक विभागले बुधबार नेपालको कुल जनसंख्या २ करोड ८६ लाख ९६ हजार ५०५ पुगेको जनाएको छ ।
गत पुससम्ममा नेपालको आन्तरिक ऋण २ खर्ब ३२ अर्ब ३२ करोड ९२ लाख  रुपैयाँ पुगेको छ । यस्तै, वैदेशिक ऋण ४ खर्ब १ अर्ब ९८ करोड ७९ लाख रुपैयाँ रहेको अर्थ मन्त्रालयले जनाएको छ । गत आर्थिक वर्षमा नेपालको गत कुल ऋण ६ खर्ब २१ अर्ब ५६ करोड रुपैयाँ पुगेको थियो । ६ महिनाको अवधिमा नेपालको कुल ऋण झण्डै १५ अर्ब रुपैयाँ बढेको छ ।
आन्तरिक ऋणअन्तर्गत विकास ऋण १ खर्ब ८ अर्ब ९० करोड, राष्ट्रिय बचतपत्र ९० करोड ६५ लाख, नागरिक बचतपत्र ७ अर्ब ८० करोड ६२ लाख, बोलकबोल ट्रेजरी बिल्स १ खर्ब ९ अर्ब ३५ करोड ९१ लाख, वैदेशिक बचतपत्र ४८ करोड ६२ लाख र अन्तर्राष्ट्रिय मुद्रा कोषको ४ अर्ब ८७ करोड १२ लाख रुपैयाँ पुगेको अर्थले जनाएको छ ।
यस्तै, वैदेशिक ऋणअन्तर्गत बहुपक्षीय दातृ निकायजस्तै एसियाली विकास बैंक (एडीबी) र विश्व बैंकको गरी ३ खर्ब ६४ अर्ब र द्विपक्षीय वैदेशिक ऋण ३७ अर्ब ९४ करोड रुपैयाँ छ । नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा ऋणको अंश बढेर झण्डै ३० प्रतिशत पुगेको छ । नेपालको जीडीपी आकार २२ खर्ब ४८ अर्ब ६९ करोड रुपैयाँ छ ।
नेपालले आर्थिक गतिविधि र ठूला तथा साना पूर्वाधार विकास गर्र्न आन्तरिक र बाह्य ऋण लिने गरेको छ । चालु आवमा सरकारले १ खर्ब ९५ अर्ब ७१ करोड रुपैयाँ ऋण परिचालन गर्ने लक्ष्य लिएको छ । नेपाली रुपैयाँको तुलनामा अमेरिकी डलर मजबुत भएपछि वैदेशिक दायित्व बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । ६ महिनामा मात्रै नेपाली रुपैयाँ अमेरिकी डलरसँग १ रुपैयाँ ५० पैसा कमजोर भएको राष्ट्र बैंकले जनाएको छ ।
द्विपक्षीय र बहुपक्षीय दातृ निकायबाट सरकारले ऋण र अनुदान प्राप्त गर्दै आएको छ । नेपालले एडीबी, विश्व बैंक, भारत, चीन, जापानलगायत द्विपक्षिय र बहुपक्षिय दाताबाट ऋण र अनुदान प्राप्त गर्दै आएको छ ।
चालु आवको ६ महिनामा नेपालले द्विपक्षिय र बहुपक्षिय दातृनिकायबाट गरी कुल १ खर्ब ५२ अर्ब ३१ करोड रुपैयाँ सहायता प्रतिवद्धता प्राप्त गरेको छ । जसमध्ये १ खर्ब १३ अर्ब ९५ करोड रुपैयाँ ऋण र ३८ अर्ब ३५ करोड रुपैयाँ अनुदान रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

 

 

प्रतिक्रिया