ज्वालामालिका गाउँपालिका नबन्ने निश्चित

ज्वालामालिका गाउँपालिका नबन्ने निश्चित

दैलेख, फागुन २१ । दैलेखमा यसअघि सिफारिस भएअनुसार ११ वटा मात्र स्थानीय इकाई बन्ने भएपछि ज्वालामालिका गाउँपालिका नबन्ने निश्चित भएको छ । ईलाका नम्बर ७ का गौरी, मालिका, कालभैरव र गमौडी गाविसलाई मिलाएर ज्वालामालिका गाउँपालिका बनाउन स्थानीयले माग गरेपनि सो गाउँपालिका नबन्ने भएको हो ।
स्थानीय विकास मन्त्री हितराज पाण्डे नेतृत्वको स्थानीय निकाय पुनःसंरचना प्रतिवेदन अध्यायन समितिले पहाडमा २ वटामात्र स्थानीय इकाई थप्ने निर्णय गरेपछि दैलेखमा थप ईकाई नबन्ने निश्चित भएको हो । समितिले बझांग र मनांगमा एक एक वटा स्थानीय ईकाई थप्ने निर्णय गरेको छ भने तराईमा १७ वटा ईकाई थप्ने निर्णय गरेको छ । दैलेखका विषयमा समितिले कुनै निर्णय नगरेकाले पुरानै प्रतिवेदनअनुसार दैलेखमा ७ गाउँपालिका र ४ नगरपालिका मात्र बन्ने निश्चित भएको छ । नारायण, दुल्लु, चामुण्डा र आठविस नगरपालिका तथा ठाँटिकाँध, भैरवी, गुराँस, डुंगेश्वर, माईभगवती, नौमुले र महाबु गाउँपालिका बनाउने जिल्लाको सिफारिसअनुसार आयोगले प्रतिवेदन तयार पारेको थियो । ईलाका नम्बर ७ का स्थानीयको मागअनुसार नेपाली काँग्रेस दैलेखको टोलीले पार्टी सभापति शेरबहादुर देउवालाईसमेत माग पेस गरेको थियो । तर, काँग्रेस दैलेखको सो प्रयास सफल हुन सकेन । ज्वालामालिकाको माग गर्दै स्थानीयले जिविसका कुनै पनि गतिविधि गर्न दिएका छैनन् ।

प्रतिक्रिया