निर्वाचनको घोषणापछि महिलाहरु उत्साहित

निर्वाचनको घोषणापछि महिलाहरु उत्साहित

दैलेख, फागुन २१ – सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन घोषणा गरेसंगै महिलाहरु उत्साहित भएका छन् । कम्तीमा ४० प्रतिशत महिलाहरुको प्रतिनिधित्व हुने संवैधानिक व्यवस्था अनुसार सुनिश्चितता गरिएकोले महिलाहरु निर्वाचनप्रति यति धेरै उत्साहित भएका हुन् ।
इन्सेकको इएलपी कार्यक्रम अन्तरगत बेलपाटामा गठित मानवअधिकार निगरानी समूहले आज चुप्रामा आयोजना गरेको आसन्न स्थानीय निर्वाचनमा महिलाको प्रभावकारी प्रतिनिधित्व विषयक अन्तर्सम्वाद कार्यक्रममा अगुवा महिला तुलसी पराजुलीले जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न सक्ने महिलाको प्रतिनिधित्व आवश्यकता औल्याइन् । Belpata ELP Mahila (2) Belpata ELP Mahila (1)
उहाँले स्थानीय राजनीतिक दलका नेताहरुलाई सचेत पार्दै भनिन् ‘नेताहरुले आफ्ना नातेदार वा लोभमोहमा उम्मेदवार नछान्नुहोला ।’ पराजुलीले सुझाव दिइन् ‘हाम्रा होइन, क्षमतावान राम्रा’ व्यक्ति पठाऔं अनि महिलाले कति गर्न सक्छन् जनहितका काम गरेर देखाउने सक्छन् ।
मानवअधिकार निगरानी समूह सदस्य कमला केसीले सक्षम र इमान्दार महिला प्रतिनिधि छनौट गर्न सकिए, प्रसस्त लोककल्याणकारी काम हुने समाजले आशा गरेको बताइन् । कार्यक्रममा सहभागी प्रमिला सुनारले महिलाभित्र दलित महिलाको समेत प्रतिनिधित्व अनिवार्य गरिएकोले दलित समुदायलाई हौसला थपेको अनुभूती सुनाइन् ।
कार्यक्रमा नेपाली काँग्रेसका गाउँ सभापति एकबहादुर राना, एमाले गाउँ कमिटी उपाध्यक्ष टोपबहादुर खत्री, माओवादी केन्द्रका जिल्ला सदस्य श्याम राना, नेमकिपाका बेलपाटा गाउँ अध्यक्ष हस्तबहादुर थापा, गाविस सचिव निर्मला केसीले आसन्न स्थानीय निर्वाचनमा महिलाको प्रभावकारी प्रतिनिधित्वको लागि आआफ्ना क्षेत्रबाट सक्षम र योग्य महिलालाई स्थान दिने प्रतिवद्धता जनाए ।
मानअधिकार निगरानी समूहका संयोजक पार्वती खत्रीको अध्यक्षतामा भएको अन्तरसम्वादको सहजीकरण इन्सेकको इएलपी कार्यक्रमका जिल्ला सहजकर्ता अमर सुनारले गरेका थिए ।

प्रतिक्रिया