स्थानीय चुनावसँग माओवादीको मुद्दा जोडिएको छः प्रचण्ड

स्थानीय चुनावसँग माओवादीको मुद्दा जोडिएको छः प्रचण्ड

२३ फागुन, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले स्थानीय चुनावसँग माओवादीका एजेण्डा जोडिएकाले हरहालतमा चुनाव गराइछाड्ने बताएका छन् । संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता जस्ता एजेण्डा माओवादीको रगत पसिनाबाट स्थापित भएकाले यी उपलब्धीको रक्षा गर्ने दायीत्व पनि माओवादी कै भएको बताए ।

माओवादी केन्द्र निकट दलित मुक्ती मोर्चाको बैठकमा बोल्दै प्रचण्डले भने, ‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक प्रणालीमा माओवादीको रगत पसिना छ । जसको रगत पसिना छ, यी उपलब्धि जोगाउने दायित्व पनि हाम्रै हो । हिजो जो यी मुद्दाका विपक्षमा थिए, त्यसकैविरुद्ध लडे, उनीहरुलाई संघीयता र गणतन्त्रको माया छैन । त्यसलाई उनीहरुले जोगाउलान् भन्नु हाम्रै मूर्खता हुन्छ ।’

संविधानले स्थानीय तहमा धेरै अधिकार दिएकाले जनताको अधिकार गाउँ-गाउँसम्म लैजान पनि निर्वाचन गर्नैपर्ने प्रचण्डले बताए ।सरकार स्थानीय तहको निर्वाचन गराएरै छोड्ने पक्षमा रहेको प्रचण्डले बताए । ‘स्थानीय तहको चुनाव घोषणा गरिएको छ, हरहालतमा चुनाव सम्पन्न गर्नुपर्छ,’ प्रचण्डले भने, ‘स्थानीय निर्वाचनसँग माओवादीका मुद्दा जोडिएको छ, हाम्रो रगत र पसिना जोडिएको छ ।’

नयाँ संविधानले दलितहरुको अधिकार र आत्म सम्मानको रक्षा गरेको भन्दै प्रचण्डले एकतावद्ध भएर संविधान कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

 

 

प्रतिक्रिया