फागुन ९ गते १८ वर्ष पुगेकाले मात्रै मतदान गर्न पाउने

फागुन ९ गते १८ वर्ष पुगेकाले मात्रै मतदान गर्न पाउने

दैलेख, फागुन २४ । स्थानीय तहको निर्वाचन मिति घोषणा भएसँगै देशभर चुनावी माहोल बढेको छ । यससँगै गाउँ–गाउँमा उमेदवारी र मतदानबारे बहस हुन थालेको छ । राजनीतिक दलहरू त्यसको तयारीमा जुटेका छन् । मतदान गर्ने चाहना भए पनि अन्योलताका बीच घोषणा भएको मितिसँगै नामावली संकलनमा सहभागी हुन नसकेर लाखौं मतदाता आफ्नो मत व्यक्त गर्नबाट छुट्ने भएका छन् ।
मतदाता नामावलीसम्बन्धी ऐनअनुसार निर्वाचन मिति घोषणा भएसँगै नामावली संकलन रोकिएपछि उनीहरुले आफ्नो नाम दर्ता गराउन नसकेका हुन् । तर, मतदाना नामावलीमा नाम दर्ता गराएर पनि केही व्यक्ति मतदान गर्नबाट वञ्चित हुनेछन् । ती हुन्, ०७३ फागुन ९ गतेसम्म १८ वर्ष नपुगेका युवा । निर्वाचन आयोगले २०६७ सालदेखि फोटोसहितको मतदाता नामावली संकलन गर्दै आएको छ, जसमा जिल्ला प्रशासन कार्यालयमा १६ वर्ष पुगेर नागरिकता बनाउन आउने युवालाई आयोगका प्रतिनिधिले फोटोसहितको मतदाता संकलनमा सहभागी गराउँथे । तर, १८ वर्ष पुगेपछि मात्रै मतदान गर्न पाउने व्यवस्थाले गर्दा मतदाता नामावली संकलनमा सहभागी भए पनि उनीहरुले निर्वाचनमा भाग लिन पाउनेछैनन्् । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार सरकारले निर्वाचनको मिति घोषणा गरेको मितिसम्म १८ वर्ष पूरा गरी फोटोसहितको मतदाता नामावलीमा सहभागीले मात्रै निर्वाचनमा भाग लिन पाउनेछन् ।

सरकारले फागुन ९ गते स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको थियो । मतदातालाई नयाँ परिचयपत्र निर्वाचन आयोगले देश नयाँ संरचनामा गइसकेपछि मतदाताको ठेगाना परिवर्तन गरेर नयाँ परिचयपत्र वितरण गर्ने जनाएको छ । यसअघि दोस्रो संविधानसभा अगाडि आयोगले वितरण गरेको परिचयपत्र लिएर मतदानमा सहभागी हुन नपाइने आयोग प्रवक्ता शर्माले जानकारी दिए । नयाँ संरचनाअनुसार मतदाताको ठेगाना परिर्वतन गरेपछि परिचयपत्र छपाइ सुरु हुन्छ, उनले भने, सबै मतदाताको ठेगना नयाँ संरचनाअनुसार अपडेट गर्नुपर्ने भएकाले अन्तिम नामावली आउन स्थानीय तहको प्रतिवेदन बुझेपछि १५ दिन लाग्छ ।

प्रतिक्रिया