२७ फागुन, काठमाडौं । संघीय मामला तथा स्थानीय विकास मन्त्रालयले देशभरका जिल्ला विकास अधिकारी (एलडिओ)लाई विदा नबस्न निर्देशन दिएको छ । यस्तै मन्त्रालयले कुनै स्थानीय विकास अधिकारी विदामा बसेको भएपनि तत्काल कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ ।
स्थानीय तह कार्यान्वयन भएसँगै लेटरप्याड, निशान छाप, साइनबोर्ड, नागरिक वडापत्र निर्माणदेखि विभिन्न तयारी गर्नुपर्दछ । निर्वाचनलाई सहयोग गर्नुपर्ने र जिल्ला विकास समितिले गरेका कामहरुको लगत संकलन गरी जिल्ला सभामा रुपान्तरण गर्नुपर्ने कामहरु समेत छन् । यस्तो परिस्थितिमा स्थानीय विकास अधिकारीलाई मन्त्रालयले विदा बस्न रोक लगाएको हो ।राजपत्रमा प्रकाशित भएपछि स्थानीय तह कार्यान्वयन गर्नुपर्ने भएकाले मन्त्रालयले त्यस्तो निर्देशन दिएको हो ।
वडामा कर्मचारी खटाउने जिम्मा जिविसलाई
मन्त्रालयले स्थानीय तहअन्तर्गत वडा कार्यालयहरुमा कर्मचारी व्यवस्थापनको जिम्मेवारी जिल्ला विकास समितिलाई दिएको छ ।
मन्त्रालयले स्थानीय तहको कार्यकारी प्रमुख बाहेकका बाँकी कर्मचारी खटाउने जिम्मा स्थानीय विकास अधिकारीहरुलाई दिएको छ । मन्त्रालयले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा स्थानीय विकास अधिकारी सदस्य सचिव र कोष तथा लेखा नियन्त्रक सदस्य रहने समिति गठन गरेको छ ।
त्यसै समितिले वडा कार्यालय र स्थानीय तहमा आवश्यक पर्ने थप कर्मचारी खटाउने छ ।
प्रतिक्रिया