कञ्चनपुर घटनापछि भारतले गर्‍यो नेपालगन्ज नाकामा कडाई

कञ्चनपुर घटनापछि भारतले गर्‍यो नेपालगन्ज नाकामा कडाई

timthumb-1

कञ्चनपुर घटनापछि भारतले नेपालगन्ज नाकाबाट आवत जावत हुने भारतीय सवारी तथा मालवाहक साधन नेपाल प्रवेशमा कडाई गरेको छ। नेपालगन्ज नाका भएर हरेक दिन ९० को हाराहारीमा मालबाहक र ४० बढी साना सवारी साधन नेपाल भित्रने गरेका थिए। तर अहिले निकै थोरै मात्रामा मात्रै सवारी तथा मालबहाक साधन नेपाल भित्रिएका छन्। नेपालगन्ज नाकाबाट शुक्रबार एउटा पनि साना सवारी साधन नेपाल नभित्रिएको इलाका प्रहरी कार्यालय जमुनहाले जनाएको छ।

साना सवारी साधनलाई भारतीय सशस्त्र सीमा सुरक्षा बल एसएसवीले रुपईडिहामा नै रोकेर नेपाल प्रवेश गर्न नदिएको इलाका प्रहरी कार्यालय जमुनहाका इन्चार्ज प्रहरी निरीक्षक प्रमोद क्षेत्रीले बताए। भारतीय पक्षले नेपाल प्रहरीसँगको समन्वयमा विवाहका लागि आउने व्यक्ति र कच्चा पदार्थ (सड्ने, गल्ने र अत्यावश्यक) सामानमात्र नेपाल आउन दिएको क्षेत्रीले बताए। उनले अन्य दिनका तुलनामा भारतीय प्रहरी र एसएसवीले भारतीय नम्बर प्लेटका गाडी नेपाल भित्र्याउँदा सावधान अपनाएको बताए। ‘भारतीय पक्षले हामीलाई सोधेरमात्र नेपालतर्फ गाडी पठाउने गरेको छ,’ उनले भने । दिउँसोसम्म केरा र खसी बोकेका गाडीमात्र आएका छन्।

 शुक्रबार कुनै पनि मालबाहक गाडी नेपालगन्ज नभित्रिएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन आचार्यले बताए। उनले शुक्रबार जम्मा २ लाख राजश्व संकलन भएको समेत बताए। ‘कञ्चनपुरमा भएको तनाव र नेपाल बन्दका कारण शुक्रबार कुनै पनि मालबाहक साधन भित्रिएनन्, अघिल्लो दिन आएका गाडीको मात्र शुक्रबार भन्सार भएको हो,’ प्रमुख भन्सार अधिकृत आचार्यले भने। भारतले मालबाहक गाडी नेपाल भित्रिन नदिएपछि नेपालगन्ज भन्सार कार्यालय अगाडी र भन्सारको टर्मिनल खाली भएका छन्।

भारतबाट आएका मालबाहक गाडीले आवत जावत समेत कठिन हुने भन्सार सडक खण्ड शुक्रबार दिनभर खुल्ला रहेको इलाका प्रहरी कार्यालयका इन्चार्ज क्षेत्रीले जानकारी दिए। ‘हरेक दिन भरीभराउ रहेन भन्सार–जमुनहा सडक खण्ड शुक्रबार दिनभर खाली रह्यो,’ उनले भने।

प्रतिक्रिया