जलविद्युत् केन्द्र बन्दै नौमूले

जलविद्युत् केन्द्र बन्दै नौमूले

दैलेख, फागुन ३० । दश वर्षे शसस्त्र विद्रोहको चपेटामा परेको दैलेखको नौमुले क्षेत्र शान्ति बहालीपछि विकासको गतिसंगै जलविद्युत आयोजनाको केन्द्र बनेको छ । पछिल्लो समय नौमुलेमा वेग्ला वेग्लै ३ वटा हाइड्रो आयोजना बन्दैछन् । सदरमुकामदेखि १६ किमि उत्तरपूर्वमा पर्ने नौमुलेमा भइरहको जलविद्युत आयोजनाको कामले चहलपहल निक्कै बढेको छ ।
द्धारीमा निर्माणाधिन ३.७५ मेगावाटको द्वारीखोला हाइड्रोको काम अन्तिम चरणमा पुगेको छ । नौमूलेमा ४.२ मेगावाट क्षमताको लोहोरे हाइड्रोको काम गतवर्ष शुरु भएपनि प्राविधिक कारणले हाल रोकिएको छ भने नौमूले ६ मा ४.५ मेगावाटको पदमखोला हाइड्रको शुक्रवार शिलन्यास गरिएको छ ।
डोल्टीपावर कम्पनी अन्तरगत पदमखोला हाइड्रोको शिलन्यास गर्दै दैलेखका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले निजी क्षेत्रको लगानीमा बन्न लागेको यस पदमखोला हाइड्रोको काममा सवैले सहयोग गरेर समयमै सम्पन्न गराउनुपर्ने बताए । उनले दैलेखमा उत्पादन भएको विजुली राष्ट्रिय प्रशारण लाइनमा जोडिनु दैलेखको महत्वपूर्ण सहयोग हुने बताएका छन् । शुक्रवार शिलन्यास भएको पदमखोला हाइड्रोको काम २४ देखि ३० महिना भित्र सम्पन्न गरी विद्युत उत्पादन हुने डोल्टीपावर कम्पनीका अध्यक्ष राजेन्द्र गौतमले बताए । उनले उक्त ४.५ मेगावाटको पदमखोला हाइड्रो प्रति मेगावाट १८ करोड ५० लाख रुपैयाँको लगानीमा नर्माण हुने अनुमान गरेको बताए । उनले यस आयोजनाले चर्चने जग्गाका लागि करिब १ करोड रुपैयाँ मुआब्जा दिने बताए ।
कालीका १ मा ड्याम निर्माण गरी ५७ स्क्वायर किलोमिटरबाट पानी ल्याई नौमुले गाविस ६ मा पावरहाउस बनाइने अध्यक्ष गौतमले बताए । आयोजनाले नौमूले र कालिका गाविसका स्थानीयहरुसंग छलफल गरी सरोकारवाला समिति बनाएको छ । उक्त समितिले प्रभावित क्षेत्रका स्थानीयहरुसंग छलफल गरी जग्गा खरिद प्रक्रिया अगाडि बढाउन सहयोग गरेको छ । खेत वारी अनुसार दर निर्धारण गरी सहज तरीकाले जग्गा खरिद प्रक्रिया अगाडि वढेको कम्पनीका अध्यक्ष गौतमले बताए । ‘स्थानीयको सहयोगमा यस आयोजनाको काम अगाडि वढिसकेको छ’ उनले भने, ‘प्रभावित क्षेत्रमा पूर्वाधारका काम गर्नुका साथै विभिन्न संरचनाका लागि आवश्यक सर्भेहरू पनि हामिले गर्दै आएका छौ ।’ आयोजना शुरुसंगै यस क्षेत्रका सयौं स्थानीयले रोजगारी समेत पाउने उनले बताए ।
द्वारीखोलाबाट २५ देखि ३० मिटर दुरीमा पदमखोला हाइड्रो बन्दै छ भने यो हाइड्रो भन्दा १ किलोमिटर दुरीमा लोहोरेखोला आयोजना बन्दै छ । यस आयोजनाले मुआब्जा वितरण गर्ने, डयाम साइट निर्माणलगाएत अन्य काम सञ्चालन गरिरहेको छ । यो आयोजनाले बालुवाटार–३ स्थित लोहोरेखोलामा पदमखोलाको पानी मिसाएर १४ मिटर लामो र ४.५ मिटर अग्लो ड्याम बनाई ३५ सय मिटर तलको तोली–५ भुर्सुको खरखैरनीमा पानी खसाल्नेछ ।
यी ३ वटै आयोजना स्वदेशी लगानीमा बन्न लागेका हुन् । आयोजनाले सडक, शिक्षा, स्वास्थ्य, सञ्चार र आर्थिक सुधारमा टेवा पु¥याउने विश्वास छ । नौमुले क्षेत्रमा खोलापिच्छे जलविद्युत् आयोजना बन्ने भएपछि स्थानीयवासी हर्षित छन् । दैलेखका उत्तरपूर्वी भेगका ७ गाविस मिसाएर नौमूले गाउँपालिका बनाइएको छ । स्थानीय भिमबहादुर गुप्ताले जलविद्युतका कामले गर्दा व्यापार व्यवसाय बढेको दाबी गरे । ‘डोजर चलेका छन्, ट्रयाक्टर, ट्रकले सामान लोड अनलोड गरिरहेका छन् । स्थानीयले पनि केही न केही सीपअनुसारको रोजगारी पाएका छन्,’ गुप्ताले भने, ‘हाइड्रोपावरले गर्दा यहाँ चहलपहल ह्वात्तै बढाएको छ, मोटरबाटो विस्तार गरिदिएका छन्, विकास भनेकै यही छ ।’ नौमुलेजस्तो विकट क्षेत्रमा मोटरबाटो पुग्ला भन्ने आफूले कल्पनासम्म नगरेको बताए ।
पर्यटन तथा होटल व्यवसायी रूपक थापाले ठूला आयोजनाले गर्दा विकासको चौतर्फी मार्ग प्रशस्त हुने धारणा राखे । उनले भने, ‘जिल्लाका अधिकांश खोला, नदीहरूबाट विद्युत् आयोजना बनाउन सकिन्छ । दैलेख ‘हाइड्रो हब’ बन्दै छ । त्यसैले अब लगानीकर्ता भित्रिने वातावरण निर्माण गर्नुपर्छ ।’

प्रतिक्रिया