स्थानीय तहलेऔपचारिक रुपमा काम थाले

स्थानीय तहलेऔपचारिक रुपमा काम थाले

१ चैत, काठमाडौं । सरकारले निर्धारण गरेका ७४४ स्थानीय तहले मंगलबारबाट औपचारिकरुपमा काम सुरु गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार ललितपुर महानगरपालिका कार्यालयको उदघाटन गरेका छन् । यससँगै देशभरका स्थानीय तहका कार्यालयहरु पनि सञ्चालनमा आएका छन् र कार्यप्रारम्भ भएको छ । नेपालको शासन व्यवस्थाको इतिहासमा यसलाई ऐतिहासिक दिन मानिएको छ ।सरकारले शुक्रबार नै स्थानीय निकायलाई स्थानीय तहमा रुपान्तरण गरेको थियो । तर शनिबार, आइतबार र सोमबार सार्बजनिक विदा परेकाले मंगलबारबाट स्थानीय तहले कार्यालय स्थापना गरेर औपचारिक रुपमा काम सुरु गरेका हुन् ।

स्थानीय तह पुनर्संरचना आयोगले दिएको प्रतिवेदनअनुसार सरकारले देशभर ७ सय ४४ वटा स्थानीय तह निर्धारण गरेको छ । प्रतिवेदनअनुसार ललितपुरसहित चारवटा महानगरपालिका छन् ।

ललितपुर महानगरपालिकासँगै पोखरा-लेखनाथ महानगरपालिका र चितवनको भरतपुर महानगरपालिका पनि आजैबाट कार्यान्वयनमा आएका छन् । यसअघि काठमाडौंमात्रै महानगरपालिका थियो ।

नेपालमा अब ४ महानगरपालिका, १३ उपमहानगरपालिका, २ सय ४६ नगरपालिका र ४ सय ८१ गाउँपालिका बनेका छन् ।

महानगरपालिकामा सहसचिव, उपमहानगरपालिका र नगरपालिकामा उपसचिव र गाउँपालिकामा शाखा अधिकृतले कार्यालय प्रमुखको रुपमा काम गर्नेछन् ।

 

प्रतिक्रिया