शिक्षकको हाजिरी जिशिकामा !

शिक्षकको हाजिरी जिशिकामा !

मोरङ – शिक्षक सेवा आयोगबाट लिइएको परीक्षा उत्तीर्ण गरी कक्षा कोठामा जाने   पर्खाईमा रहेका १६ शिक्षकलाई विद्यालयमा नभई जिल्ला शिक्षा कार्यालयमै हाजिरी गराइएको छ । जिल्लाका माध्यमिक विद्यालयहरुमा शिक्षक दरबन्दी अभाव भए पनि परीक्षा उत्तीर्ण गरी योग्य भएर आएका शिक्षकलाई भने विद्यालयमा नपठाइकन कार्यालयमै हाजिरी गराइएको हो ।

त्यसरी हाजिरी गर्ने शिक्षकहरुमा अंग्रेजी विषयका दीक्षा तुम्छा, चन्द्रप्रसाद भण्डारी, बबिता पराजुली, गणित विषयका टंक काफ्ले, जानकी चौधरी, चन्द्रकला थापा, सुनिल पासवान, ओमनाथ अधिकारी, विज्ञान विषयका प्रेमप्रकाश भट्टराई, विनिता यादब, रितु झा, रामचन्द्र पोखरेल, सुनिता अधिकारी, नेपाली विषयका फूलमाया प्रसाई, रेणु कुमारी र सामाजिक विषयका रमेश अधिकारी रहेका छन् ।

जिल्ला शिक्षा अधिकारी देबेन्द्रराज खनालले जिल्लामा शिक्षक दरबन्दी मिलानमा समस्या हुँदा ती शिक्षकहरुलाई विद्यालयमा पठाउन नसकेको स्वीकार गरे । उनले ती शिक्षकहरुलाई नियुक्ती दिइएको तर विद्यालय तोक्न भने समस्या हुँदा जिशिकामै हाजिरी गराइरहेको बताए । ‘केही निश्चित समयभित्र नियुक्ति दिनुपर्ने प्रावधान भएकोले नियुक्ति त दियौं तर हामीले उनीहरुलाई विद्यालय तोक्न सकेका छैनौं ।’ जिशिअ खनालले भने ।

उनले जिल्लामा रहेका अस्थायी, राहत र करारमा रहेका शिक्षक विस्थापन हुन नपरोस् भन्ने हेतुले विद्यालय नतोकेको जानकारी दिँदै सो विषयमा छलफल चलिरहेको बताए । १६ जनामध्ये ५ जनालाई भने आफू कार्यरत विद्यालयमै पठाइसकेको उनको दाबी छ ।

उनले अंग्रेजी विषयका दीक्षा र चन्द्रप्रसाद, गणितका टंक र ओमनाथ, विज्ञानका प्रेमप्रकाशलाई विद्यालयमा पठाइसकेको जनाउँदै एसईई परीक्षालगत्तै बाँकी ११ जनालाई पनि विद्यालयमा पठाइने बताए ।
गत फागुन ८ गते शिक्षा मन्त्रालयका सहसचिव डा. हरिप्रसाद लम्साल नेतृत्वको टोलीले पनि मोरङ जिशिकामा अनुगमन गर्दा शिक्षक पदस्थापनामा समस्या रहेका औंल्याएको थियो ।

शिक्षक सेवा आयोगको प्रचलित कानून बमोजिम सिफारिश भै आएका माध्यमिक तहका १६ जना शिक्षकलाई जिल्ला शिक्षा कार्यालय मोरङले कानून बमोजिम तोकिएको समयसम्ममा नियुक्ति दिनुपर्नेमा नियुक्ति पदस्थापन नगरेको पाइएको उक्त अनुगमन पछि तयार प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया