सबै गाउँपालिकामा अब पन्ध्र शैय्याको अस्पताल !

सबै गाउँपालिकामा अब पन्ध्र शैय्याको अस्पताल !

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले ७४४ वटै स्थानीय तहमा पहिलो चरणमा कम्तीमा पनि १५ श्ययाको अस्पताल स्थापना गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता दामोदर रेग्मीका अनुसार आइतबार जारी भएको स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा जारी गरिएको आदेश, २०७३ अनुसार प्रधानमन्त्रीले तत्काल अस्पताल स्थापनाका लागि निर्देशन दिएका हुन् ।

स्थानीय तह व्यवस्था र सेवा प्रवाह कार्यारम्भ भइसकेकाले संविधान तथा नेपाल सरकारबाट स्वीकृत कार्यविस्तृतीकरण बमोजिम जनतालाई सरल र सहज रुपमा सेवा प्रवाह गर्नका लागि अस्पताल स्थापना गर्न प्रधानमन्त्रीले निर्देशन दिएका हु्न् ।

कतिपय स्थानीय तहमा अस्पताल भएपनि सबैमा अस्पताल नभएको भन्दै प्रधानमन्त्रीले सोको व्यवस्था गर्न र तत्काल कार्यारम्भ गर्न समेत मन्त्रालयलाई ध्यानाकर्षण गराएका हुन् ।

यस्तै, स्थानीय तह व्यवस्था र सेवा प्रवाह सुरु भएका सन्दर्भमा शिक्षा क्षेत्रको काम स्थानीय तहबाट व्यवस्थापन गर्नुपर्ने भएकाले नगरपालिका र गाउँपालिका गरी ७४४ वटै स्थानीय तहमा उक्त कार्य गराउने व्यवस्था गर्न समेत निर्देशन दिइएको छ ।

अस्पताल तथा शिक्षा क्षेत्रको कामलाई पहिलो प्राथमिकतामा राखी काम गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले निर्देशन दिएको प्रवक्ता रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया