राष्ट्रिय पार्टी बन्न समानुपातिकमा ३ प्रतिशत मत र प्रत्यक्षमा एक सिट ल्याउनैपर्ने

राष्ट्रिय पार्टी बन्न समानुपातिकमा ३ प्रतिशत मत र प्रत्यक्षमा एक सिट ल्याउनैपर्ने

 ९ चैत, काठमाडौं । राज्य व्यवस्था समिति अन्तर्गतको उपसमितिले साना दलको बिरोधका बीच ३ प्रतिशत थ्रेसहोल्ड राख्ने व्यवस्थासहित राजनीतिक दल सम्बन्धी बिधेयक समितिमा पठाएको छ ।अब समानुपातिक सांसद पाउन कुनै पनि दलले प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फ ३ प्रतिशत मत पाउनुपर्छ । तर, त्यतिले मात्र राष्ट्रिय पार्टी हुने छैन ।

थ्रेस होल्ड पार गर्नुका साथै प्रत्यक्षतर्फ कम्तिमा एक सिट प्रत्यक्ष सांसद पनि जित्नुपर्ने व्यवस्था गरिएको उपसमितिका सदस्य एमाले सांसद रामेश्वर फुयालले जानकारी दिए ।

यदि कुनै दलले समानुपातिकतर्फ ३ प्रतिशतको थ्रेस होल्ड पास गर्ने गरी मत ल्यायो । तर, प्रत्यक्षमा एक सिट पनि जित्न सकेन भने उक्त दलको प्रतिनिधिसभामा प्रतिनिधित्व हुँदैन ।

कांग्रेस सांसद आनन्द प्रसाद ढुंगानाको संयोजकत्वमा रहेको उपसमितिको २७ औं बैठकले गरेको यो निर्णयमा उपसमितिका दुई सदस्यले असहमति जनाएका छन् । थ्रेसहोल्डको निर्णयमा नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवाल र नेकपा मालेका अइन्द्रसुन्दर नेम्वाङले असहमति जनाएका हुन् ।

मालेका सांसद नेम्वाङले  भने, ‘बहुमतका नाममा जबरजस्ती यो प्रस्ताव अघि बढाइएको छ । पूर्ण समितिमा हामी यसको विरोध गर्छौं ।’

यो प्रस्ताव कांग्रेस र एमाले मिलेर ल्याएको र मुख्यत यसको एमालेले अगुवाई गरेको उनको आरोप छ । ‘हामी त एमाले नेतृत्वको ९ दलमा पनि छौं,’ उनले भने, ‘अब यो गठवन्धनको औचित्यमा प्रश्न उठेको छ ।’

निर्वाचन आयोगले राजनीतिक दलसम्वन्धी ऐनको मस्यौदामा ३ प्रतिशत थ्रेस होल्ड प्रस्ताव गरेको थियो । तर, साना दलहरुको विरोधका कारण निर्वाचन सम्वन्धी अन्य विधेयक पास भएपनि यो राज्य व्यवस्थामा नै अड्किएको थियो ।

तर, अब प्रत्यक्षतर्फ एक सांसद जित्नु पर्ने नयाँ व्यवस्था थपेर अगाडि बढाइएको छ ।

राज्य व्यवस्थाको पूर्ण समितिले पास गरेर व्यवस्थापिका संसदमा पठाउनुपर्छ । र, संसदले पास गरेर राष्ट्रपतिले प्रमाणिकरण गरेपछि कार्यान्वयनमा आउनेछ ।

प्रतिक्रिया