निर्वाचन आयोगले दुई नम्बर प्रदेशमा मतदान केन्द्र तोक्न सकेन

          |   प्रकाशित मितिः बुधबार, चैत्र १६, २०७३     ::: 248 पटक पढिएको   |  

१६ चैत, काठमाडौं । निर्वाचन आयोगले दुई नम्बर प्रदेशका जिल्लाहरुमा अहिलेसम्म मतदान केन्द्र तोक्न नसकेको जनाएको छ । तराई मधेस आन्दोलनबाट प्रभावित दुई नम्बर प्रदेशका ८ जिल्लामा मतदान केन्द्र तोक्न नसकिएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।

आयोगले चैत २० गतेसम्म मतदान केन्द्र टुंग्याएर मतदाता नामावली समेत टुंग्याउने लक्ष्य लिएको छ । आगामी चैत २० गतेसम्म पनि मतदान केन्द्र टुंग्याउन नसके आयोगले थप निर्णय लिने प्रवक्ता शर्माले बताए । उनले भने, ‘अहिले ती जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई राजनीतिक सहमतिको बातावरण बनाउन भनिरहेका छौँ, आगामी १९ गतेसम्म पनि केही प्रगति भएन भने आयोगले छुट्टै निर्णय गर्नुपर्ने हुन्छ ।’आगामी निर्वाचनका लागि मतदान केन्द्र नतोक्दासम्म मतदाता परिचय पत्रलाई अन्तिम टुंगो लगाउन नमिल्ने र मतदाता नामावलीको टुंगो नलाग्दासम्म मतदाता परिचय पत्र छपाउन नमिल्ने आयोग पदाधिकारीहरु बताउँछन् ।

यस्तै दुई नम्बर प्रदेशमा निर्वाचन आयोगले समेत काम गर्न नसकेको आयोगका एक आयुक्तले बताएका छन् । केही जिल्लामा आयोगको कार्यालय खोलेपनि काम गर्न नसकेको र केही जिल्लामा कार्यालय सञ्चालन नै गर्न नसकेको ति आयुक्तले बताए ।

संविधान संशोधन नगरेसम्म स्थानीय तहको चुनाव हुन नदिने मधेसी मोर्चाले चेतावनी दिँदै आएको छ ।

 



Leave a comment

Your email address will not be published.


*