चुनावलाई चाहिने सियो, डोरीदेखि बाँससम्म खरिद गरिँदै

चुनावलाई चाहिने सियो, डोरीदेखि बाँससम्म खरिद गरिँदै

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि आवश्यक सामग्री खरिदमा ३ अर्ब ६८ लाख रुपैयाँ छुट्याएको छ । निर्वाचनको मिति घोषणा भएलगत्तै निर्वाचन आयोगलाई विभिन्न शिर्षकमा सरकारले १० अर्ब २९ करोड ६३ लाख रुपैयाँ छुट्याएको थियो । त्यसमध्ये निर्वाचन सामग्री खरिद शीर्षकमा सो रकम लिएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

आयोगले करिब ६७ प्रकारका निर्वाचन सामग्री खरिद तथा छपाई शीर्षकमा त्यो रकम खर्च गरिरहेको छ । “हामीले सरकारसँग सामग्री खरिद शीर्षकमा उक्त रकम लिएका हौं । पुरै खर्च नहुन पनि सक्छ,” उलने भने ।

आयोगले निर्वाचनका लागि आवश्यक ति सामान देशभित्र र बाहिरबाट खरिद सुरु गरिरहेको छ । त्यसैगरी मतपत्र छपाई समेत उक्त शीर्षक अन्तर्गत पर्ने प्रवक्ता शर्माले बाह्रखरीलाई जानकारी दिए ।

निर्वाचनमा मतपत्र, मतपेटिका, निर्वाचनसम्बन्धी ऐन छपाई, निर्देशिका, मतदाता परिचयपत्र, औँलामा चिह्न लगाउने मसी, स्वस्तिक चिह्न छाप, स्टाम्प प्याड छन् ।

त्यसैगरी मसी, कागज, डटपेन, धागो, सियो, पिन, किला, स्टापलर, गम, लाहा, मैनबत्ती, ब्लेड, कार्बन पेपर, कैंची, कपडाको थैलो, मतदान कक्षको छेकवारमा प्रयोग हुने डोरी, बाँस लगायतका ६७ प्रकारका सामाग्री रहेको शर्माले बताए ।

यी मध्ये केही सामग्री छिमेकी देशले समेत सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । त्यसले गर्दा खर्चमा केही कमी हुन सक्ने आयोगको अनुमान छ ।

आयोगले स्थानीय निर्वाचनका लागि १ करोड ६० लाख मतपत्र, करिब १ करोड ४० लाख मतदाताको बारकोर्ड सहितको मतदाता परिचयपत्र, सबै निर्वाचन केन्द्रलाई पुग्नेगरी मतदाता नामावली, उत्तिकै संख्यामा आचारसंहिता प्रिन्टको काम अगाडि बढाइसकेको छ ।

प्रतिक्रिया