नारायण नगरपालिकामा केन्द्रित दलहरु

नारायण नगरपालिकामा केन्द्रित दलहरु

दैलेख, चैत १८ । स्थानीय तहको चुनाव मिति नजिकिएसँगै जिल्ला सदरमुकाम रहेको तथा पुरानो नारायण नगरपालिकामा चुनावी माहोल तातिएको छ । दलका गतिविधि बढेका छन् भने सम्भावित उम्मेदवारको पनि चर्चा सुरु भएको छ । चिया पसलदेखि चोक चोकमा आजभोली चुनावकोमात्र चर्चा हुने गरेको छ ।nepali coungress
जिल्लाको पुरानो तथा सदरमुकाम भएकाले पनि नारायण नगरपालिकालाई आफ्नो पक्षमा पार्न काँग्रेस, एमाले , माओवादी केन्द्र र राप्रपा सक्रिय भएका छन् । काँग्रेसले नगरका सबै वडामा पहिलो चरणमा गाउँजागरण अभियान सम्पन्न गरेर दोस्रो चरणको चुनाव केन्द्रित कार्यक्रम सुरु गरेको छ भने एमालेले पनि कार्यकर्ता भेटघाटलाई तिब्रता दिएको छ ।
काँग्रेसले यो हप्ता वडा नम्बर ८ तर्तांग, वडा नम्बर ४ सोत, वडा नम्बर ११ विन्ध्यावासिनी र वडा नम्बर ५ छातिकोटमा चुनावीसभा गरेको छ । ति कार्यक्रमका जिल्लाका सबै शीर्ष नेताहरु पुगेर जिल्लामा पार्टी एकजुट भएको सन्देश दिएका छन् । उनीहरुले पार्टी भित्र कुनै विवाद नरहेको भन्दै चुनावका लागि सक्रिय हुन कार्यकर्तालाई निर्देशन दिएका छन् । पार्टी सभापति कृष्ण कुमार विसी, पार्टी सभापतिका पराजित उम्मेदवार मणिराम रेग्मी पूर्व पार्टी सभापति तथा पूर्व राज्यमन्त्री गणेशबहादुर खड्का, नेताहरु जगतजंग थापा, खेमराज केसीसहितको टोली कार्यक्रमा सँयुक्तरुपमा परिचालन भएको छ । यी नेताहरुले पार्टी भित्र एकता रहेको सन्देश दिँदै आगामी चुनावमा काँग्रेसलाई जिताउन अभियान नै सुरु गरेका छन् । काँग्रेस भित्र एकता देखिएसँगै पार्टी कार्यकर्तामा पनि जोश र उल्लाहस आएको एक कार्यकर्ताले बताए । उनले पार्टी एक ढिक्का भएकाले यो पटकको चुनावमा आफ्नो पार्टीले जित्नेमा काँग्रेस कार्यकर्ता ढुुक्क देखिन्छन् ।
काँग्रेस केन्द्रीय समितिले उम्मेदवारको छनौट क्षेत्रीय समिति तथा जिल्ला समितिबाट गर्ने निर्णय गरेसँगै उम्मेदवार छनौटमा विवाद नहुने काँग्रेस सभापति कृष्णकुमार विसिले बताए । उनले स्थानीय तहबाटै उम्मेदवारलाई टिकट दिने भएकाले कुनै विवाद नहुने दावी गरे ।
नारायण नगरपालिकामा काँग्रेसको अवस्था पहिलाभन्दा सुधारिएकोले पनि आफ्नो पार्टीले चुनाव जित्ने बताउँछन् काँग्रेस नगरसभापति प्रकाश न्यौपाने । उनले पार्टी हाल सबै टोल टोलमा सक्रिय भएको बताए ।
उता एमालेले पनि नारायण नगरपालिका विभिन्न वडामा चुनावी कार्यक्रम गरिरहेको छ । २०५४ को चुनाव जितेको एमालेले यो पटक पनि नतिजा आफ्नो पक्षमा पार्न सक्रियता बढाएको छ ।
पछिल्लो पटक राप्रपाले पनि नारायण नगरपालिकमा संगठन विस्तार गरिरहेको छ । राप्रपाको संगठन विस्तारले काँग्रेस र एमाले दुबैलाई चुनौती थपेको छ । यो नगरपालिकामा काँग्रेस र एमालेबीच प्रतिस्पर्धा हुने आँकलन गरिएको छ भने राप्रपाले प्राप्त गर्ने मतले चुनावी नतिजामा निर्णायक प्रभाव पार्ने आंकलन गरिएको छ ।

प्रतिक्रिया